९ मंसिर २०८१, आइतवार

मेचीनगरका ३३ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने

१५ फागुन २०८०, मङ्गलवार
Image

धुलाबारी, १४ फागुन ः मेचीनगर नगरपालिका क्षेत्रका ३३ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । 

नगरको स्वास्थ्य शाखाले आज पत्रकारहरुसँग गरेको छलफल कार्यक्रममा नौ महिनादेखि १५ बर्षमुनिका ३३ हजार बालबालिकालाई खोप लगाइने जानकारी दिइएको हो । 

शाखा प्रमुख सविता सापकोटाले खोप अभियानलाई सफल पार्नका लागि नागरिक समाज, शिक्षक, राजनीतिक दल, संघसंस्था र सञ्चारकर्मीहरुलाई समेत आग्रह गर्नुभएको छ । 

उहाँले १०६ वटा विद्यालय, स्वास्थ्य शाखालगायतका खोप केन्द्रमार्फत अभियान यही फागुन २० गतेदेखि २९ गतेसम्म नगरमा सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा खोप अभियानलाई प्रभावकारी बनाउनका लागि पालिका क्षेत्रका विद्यालयहरुका विद्यार्थीलाई जानकारी गराउने, उनीहरुमार्फत अभिभावकहरुलाई बालबच्चालाई खोपमा सरिक गराउन निमन्त्रणा पत्र पठाउने, विद्यालयका शिक्षक, टोल समितिका अध्यक्षहरुसँग छलफल गर्ने लगायतका कामहरु तीब्र रुपमा गरिरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख होमनाथ भण्डारीले यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको बताउनुभयो । उहाँले सरकारको सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको छ । कोशी प्रदेशमा खोप अभियान १३ गतेबाट सुरु भएको छ ।