२३ भदौ २०८१, आइतवार

झापामा सडक फुड फेस्टिबल हुँदै

१५ फागुन २०८०, मङ्गलवार
Image

झापा, १५ फागुन ः स्थानीय रैथाने तथा लोपहुँदै गएका विभिन्न जातजातिका परिकारहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले होटल व्यवसायी संघ झापाले सडक फुड फेस्टिबलको तयारी गरेको छ । 

संघले आज पत्रकार सम्मेलन गरी विर्तामोड नगरपालिका–३ सैनिक मोडमा यही फागुन १७ गतेदेखि चैत ७ गतेसम्म चल्ने तेस्रो सडक फुड फेस्टिबलको बारेमा जानकारी दिएको थियो 

संघकी अध्यक्ष इन्दिरा श्रेष्ठले कोरोना महामारीपछि होटल व्यवसायहरु धराशायी अवस्थामा पुगेकाले पनि व्यवसायीहरुलाई फेस्टिबलले राहत मिल्ने बताउनुभयो । उहाँले फेस्टिबलमा ३० वटा विभिन्न जातजातिका खानाका परिकारका स्टल रहने पत्रकारहरुलाई जानकारी दिनुभयो ।

“स्थानीय रैथाने खानालाई महत्व दिन्छौं”, उहाँले भन्नुभयो, “यसले लोपन्मूख अवस्थामा पुगिसकेका परिकारको समेत प्रवद्र्धन हुन्छ ।” उहाँले आर्थिक मन्दीले सुस्ताएको व्यापारलाई समेत फेस्टिबलले चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा भएको बताउनुभयो । 

सयपत्री इन्टरटेन्टमेन्टले प्राविधिक सहयोग गर्ने फेस्टिवलमा नेपाल पर्यटन वोर्डको सहकार्य रहने अध्यक्ष श्रेष्ठको भनाई छ ।  दैनिक सांस्कृतिक झाँकीहरु प्रदर्शन हुने कार्यक्रममा स्थानीय जातजातिका खानपान परिकारहरु स्टलमा राखिने छ । रैथाने तथा लोप हुँदै गएका परिकारहरुको प्रचारसँगै संरक्षणका लागि फुड फेस्टिवलले सहयोग पुग्ने विश्वास गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटनको लागि समेत फुड फेस्टिवलले प्रचारप्रसारमा सहयोग गर्ने आयोजनाको भनाई छ । आर्थिक मन्दीले सुस्ताएको व्यापार क्षेत्रलाई चलायमान बनाउन आयोजना गरेको फेस्टिवलमा अर्गानिक कृषि प्रदर्शनहरु रहने छन् ।