२ कार्तिक २०८१, शुक्रवार

मुख्यमन्त्री कार्कीको हात्तीमैत्री पदयात्रा समापन

१५ फागुन २०८०, मङ्गलवार
Image

 झापा, १५ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा सञ्चालन भएको हात्तीमैत्री पदयात्रा उदयपुरको बेलसोत पुगेर आज सम्पन्न भएको छ ।

झापाको बाहुनडाँगीबाट फागुन ९ गते सुरु भएको पदयात्राको क्रममा मुख्यमन्त्री कार्की र प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीसहितको टोलीले ५ जिल्लामा २४३ किलोमिटर पैदलयात्रा गरेको थियो ।

यसक्रममा ५ जिल्लाका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्रमा टोली पुगेको थियो । दैनिक ४० किलोमिटर हाराहारी पैदलयात्रा गरेको टोलीले हात्तीबाट पीडित र सर्वसाधारणसँग प्रत्यक्ष अन्तरसंवाद गरी समस्याबारे जानकारी लिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यात्राको क्रममा आएको जानकारीका आधारमा हात्ती प्रभावित क्षेत्रको समस्या समाधान गर्न कार्ययोजना तय गरिने पर्यटन वन तथा वातावरण मन्त्रालय कोसी प्रदेशका सचिव विशाल घिमिरेले जानकारी दिनुभयो।‌

जंगली हात्तीको परम्परागत जैविक मार्गमा गरिएको यात्रा मानव र हात्तीबीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।‌ हात्ती मानिसको दुश्मन होइन भन्दै यात्रामा नागरिकलाई सचेत गराएको उहाँले भन्नुभयो। ‘जंगल कसको हो ? हामी स्थानीयबाट समस्या बुझ्ने र समाधानको उपाय लिन पदयात्रामा निस्किएका हौं । हात्तीसँगै बस्नुको विकल्प छैन’ उहाँले यात्रा समापनको क्रममा भन्नुभयो ।

सरकार बोल्नेभन्दा पनि काम गर्ने दिशामा सक्रिय भएको दावी गर्दै मुख्यमन्त्री कार्कीले हात्तीको जैविकमार्गको सड्कुचन र प्राकृतिक बासस्थानको घटेको यात्रमा देखेको उल्लेख गर्नुभयो । यस्ता विषयलाई आगामी बजेटमार्फत सम्बोधन गर्ने उहाँको भनाइ छ ।

कोशी प्रदेशका ५ जिल्लामा हात्तीले घरगोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ । समस्याहरुलाई उजागर गरी आगामी दिनमा मानव–हात्ती सहअस्तित्व निर्माण गरी समग्र विकास प्रकृयामा हात्तीमैत्री वातावण निर्माण गरी उच्चतम लाभ प्राप्ति गर्नेंतर्फ यस पदयात्रा लक्षित रहेको पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतले बताउनुभयो ।

हात्तीविज्ञ अशोक कुमार रामले हात्ती र पर्यावरण संरक्षणको लागि यात्राले सहयोग गर्ने बताउनुभयो । संसारमै पहिलो पटक पर्यावरणमैत्री पदयात्रा भएको उहाँको दावी छ ।

पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव घिमिरेले पदयात्रा समस्या पहिचान र समाधानका उपाय खोज्न फलदायी भएको बताएका छन् । यात्राको समापन कार्यक्रममा हात्ती विज्ञ रमेश थापा, शंकर लुइँटेल, संघीय सरकारका सचिव दिपक खराल र अभियानकर्मी बालकृष्ण कार्कीलाई सम्मान गरिएको थियो ।