फागुनकाे पहिलो मुना टिप्दा
कस बसेर चरचरी फुटेका औंला समाएर
आठ मार्चकाे शुभकामना दिन
मैले सकिन साइँली !
मकै छर्न भारीका भारी मल ओसारेकी तिमीलाई
सभामा देखिन मैले,
ठेलामा मकै बेँच्दै सन्तेलाई पढाउने सहासलाई भेटिन,
प्लाईका चिसा फलेक ओसार्दा
पसिनाले निथ्रुक्क भिजेका बिणालाई देखिन,
खाजाघरकाे भित्री काेप्चाेमा थाकका थाक भाँडा माझिरहने
कुन्तेका चिसा हात छाेईन मैले,
र छाेईन भतेर पकाएर पस्केका हातलाई,
आठ मार्चमा !
गरुँगो तगारीले नेच्चिएकाे शिर देखिन,
पाएनन् कुचाे बाट्ने हातले अभिनन्दन साइँली !
अलकत्राकाे कठाेर ताप सहने आँटसँग
सकिन शुभेच्छा साट्न कालिउँ !
चैते धानको ब्याडबाट हाँस खेद्दा गाेडा चिप्लिएका
हिलाम्मे गाला देखिएनन् मञ्चकाे कुनै छेउमा ।
मञ्चमा उभिएर एउटीले
पारपाचुकेकाे केसमा पाएको उल्झन पाेखिन्
र अंश हिस्साकाे हिसाब सुनाइन् साइँली !
अर्कीले उनको दलमा
पुरुष अगुवाले टिकटमा बाधा गरेको सुनाइन्,
अनि अर्कीले वडाध्यक्षकाे चुनावमा आईमाईले असहयोग गरेको सुनाइन्,
फलाके तिनले पितृसत्ताकाे निन्दा र निकाले निचोड
"महिलाकाे सत्रु महिला नै भएको ।"
आहत बाेल्याे कान्छी !
सय वर्ष पहिले
गाँस शान्ति र विकासका लागि छेडिएकाे
हाम्रो क्रान्ति र त्यसको उपलब्धि कतै आएन
नारीदिवसले तिम्रा आँखामा सपना दिएन
त्यो उत्सवले श्रमजीवीलाई खुशी दिएन
धेरै खाेजे फेसबुकका कथाहरुमा
साँच्चै चिया टिप्ने अनुहार देखिन
श्रमजीवी मुहार भेटिन कान्छी !
सभा मेलै कतै तिमीलाई देखिन
र सुनिन तिम्रा-हाम्रा कथा ।
(लेखक नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य हुन् ।)