प्रिय जेन–जी पुस्ताको आदरणीय अभिभावकजन,
खाउँखाउँ र लाउँलाउँ रहरले गगन चुम्न लालायित दर्जनौँ बालमनहरू पवित्र उद्देश्यका साथ सडकमा उभिँदा अश्रुग्यासबाट निसासिँदै र गोलीबाट रापिला छर्राबाट छटपटिँदै ढलेका छन् । पितृश्रद्धास्वरुप आयोजन भइरहेका श्राद्धकर्मको मुखमा आफ्नै लालाबालाको अन्त्येष्ठि गर्नुपरेका कारण समाज रोएको छ, समग्र देश रोएको छ र हामी देशबासीको मन रोएको छ । उजाडिएको भारी मन लिएर के दशैँ, के तिहार, के छठ यसवर्ष यसैउसै बित्ने भएको छ ।
वस्तुतः व्याप्त भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको प्रवर्धन उद्घोषसहित जेन–जी उमेर समूहको ब्यानरमुनि संगठित र सञ्चालित गतिविधिका कारण राज्य पक्ष गम्भीर र संवेदनशील नबन्दा यसबीचमा कहिल्यै पूर्ति हुन नसक्ने अपूरणीय मानवीय क्षति भएको छ । समयक्रममा क्षतिको उचित पूर्ति होला तथापि ठूलो पैमानामा भौतिक संरचना खरानी भएको छ । जताततै यसका आला घाउखत देखिएका छन्, सग्ला छिटाबाछिटाहरू पोखिएका छन् । यसलाई ध्यानमा राख्दै यो पत्र लेखिरहेको छु ।
माक्र्सवादले भन्छ– कुनै वस्तुको उत्थान, विकास र पतनको विषय उसको गुण र दोषमा अन्तरनिहीत हुन्छ, बाह्य पक्ष त केवल सहयोगी मात्र हुन्छ । यसको अर्थ– कुनै पनि घटना परिघटनाका सन्दर्भमा कारण कारकत्व स्वयंमा अन्तरनिहीतत हुन्छ, स्वयंमा दोष र खोट खोज्नुपर्छ ।
परिस्थिति बिग्रिएपछि आफू पन्छिने उपाय खोज्ने, कसैलाई दोष दिने र अरुमाथि दोष थोपर्नेजस्ता कर्म गर्नु आमरूपमा हामी दक्षिण एशियाली बहुसंख्यक नागरिकको आदत हो । यो सर्वथा त्याज्य छ । संगठित वा असंगठित जसकसैले पनि घटनाका सन्दर्भमा गम्भीर आत्मआलोचना, गहिरो आत्मसमीक्षा र यसबाट निस्किएको निष्कर्षका साथ अघि बढ्न दृढ आत्मसंकल्प गर्नुपर्छ ।
जेन–जी उमेर समूहका प्रिय भाइबहिनीहरू हाम्रा सन्तान हुन् । सन्तान हुनुको अर्थ आशा र भरोसा हुन् । शारीरिक विकास संरचनाका बंश र अंश हुन् । समाज विकासको आड र आधारस्रोत हुन् । तिनका वस्तुगत अपेक्षालाई गम्भीरतापूर्वक सुनौँ र तिनले प्राप्त गरेको योग्यतालाई समाज निर्माणमा प्रयोग गरौँ !
स्वाभाविक छ– जेन–जी उमेर समूहका भाइबहिनीहरू हामीजत्तिकै परिपक्व नहुन सक्छन् । गलत मनसाय राख्नेले यसको भरपूर फाइदा उठाउँदै यो उमेर समूहमा बिचलन पैदा गर्न सक्छन् । कतिपयले अनावश्यक लोभ, मोह, प्रलोभनमा आदिमा पार्न सक्छन् । निश्चित उद्देश्य लिएर अघि बढेको उमेर समूहबाहिर घुषपैठ हुन सक्छ र भड्कावपूर्ण स्थिति निर्देशित गतिविधिमा सामेल गराइन सक्छन् । आफ्ना उत्तराधिकारीसँगको बाक्लो उठबसमा प्रशिक्षण गर्न र प्रशिक्षित रहन हामी अभिभावक स्वयं पनि यसबाट एकदमै सचेत बनौँ !
हुन त जेन–जी समूहको आन्दोलनलाई प्रारम्भमा सरकार पक्षले कमजोर अथवा बालमनोविज्ञानका साथ बुझ्यो भने प्रतिपक्ष राजनीतिक दलहरूले सत्ता ढाल्ने दह्रिलो अस्त्रका रूपमा लिए । स्वयं जिन–जी समूहले हामीले चाहेको यस्तो होइन, शान्तिपूर्ण प्रदर्शन हो, व्यापक जनदवाव हो र आन्दोलन पनि हो भन्दै गर्दा यो समूहबाहिरका मानिसको बग्रेल्ती घुषपैठ, अनियन्त्रित गतिविधि र उत्ताउलो अभिव्यक्तिलाई पनि सहजै लिए । कुचोले बढार्नुपर्ने हावाले उडाए झन् जाति भन्ने अर्थमा लिए । भाइबहिनीले उचालेको ब्यानरमुनि उभिएर केही अवाञ्छित तत्वले ढुंगामुढा, तोडफोड, आगजनी आदि हुँदा पनि यसबारे आपत्ति, विरोध, निन्दा, भत्र्सना आदि केही गरेनन् बरु नैतिक समर्थन जनाए र ऐक्यबद्धता जाहेर गरे । जब परिस्थिति काबुबाहिर गयो र आफूअनुकूल भएन, दाउपेचका बीच राजनीतिक स्वार्थको रोटी सेक्न सकिने अवस्था भएन तब नानाथरिका तर्कहरू एकाएक बाहिरिन थाले । शान्त तलावमा छालउछाल ल्याउन खोजिए झैँ भयो । प्रकारान्तरमा आएर समग्र वस्तुस्थिति र राजनीतिक परिस्थिति अत्यन्तै असहज, जटिल र असाधारण बन्यो ।
यससम्बन्धी गम्भीर आत्मालोचना र गहिरो आत्मसमीक्षाको विषयका रूपमा अध्ययन गर्न सकिन्छ– राजनीतिक परिवर्तन र लोकतान्त्रिक व्यवस्थाको व्यवस्थापननमा अहोरात्र लडाइँ लडेका हामी र हाम्रा उत्तराधिकारीहरू किन जेन–जी उमेर समूहको ब्यानरमुनि आबद्ध र एकाएक गोलबन्द हुने पुगे ? यहाँनेर प्रश्न उठ्छ– यो उमेर समूहका भाइबहिनीले उठाएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको प्रवर्धन विषयक अभियान, प्रदर्शन र आन्दोलनलाई हामीले किन एउटा सरकार ढाल्न र फेरि अर्को सरकार बनाउनसम्मको अस्त्रका रूपमा बुझ्यौँ ?
१. शासकीय दृष्टिकोणले आधारभूत रूपमा संघीयता कार्यान्वयनको दशक बितिसक्दा पनि आज सडकमा उठेका जनगुनासा र असन्तुष्टिलाई सम्बोधन र व्यवस्थापन गर्न किन सकिएन ? वा सकिएको छैन ? यसबापत मूलधारका राजनीतिक अपजसको अनिवार्य भागीदार दलहरू हुनुपर्छ । उम्कन मिल्दैन । आफूबाट भएको कमीकमजोरीको महशुस हो भने सार्वजनिक महत्त्वका साथ नेपाली काँग्रेस, एमालेलगायतका राजनीतिक दलले यसको चित्तबुझ्दो जवाफ दिनुपर्छ ।
२. यो समूहको उद्घोष र अभियान एउटा भीडमात्र थिएन, उलामाला मात्र थिएन । एउटा निश्चित उद्देश्यमा आधारित भएर उनीहरू परस्पर तुनिएका थिए र भावनात्मक हिसावले उनिएका थिए । यसलाई कसैले भीड भन्छ भने त्यो भीडका अघिपछि हाम्रा बालबालिकाहरू किन झुमिन पुगे ? आँधीहुरीसरह उलामाला मात्र थियो भन्ने हो भने यस्तो उलामालाका अघिपछि हाम्रा भाइबहिनीहरू किन उभिन पुगे ? होइन एउटा निश्चित र पवित्र उद्देश्य थियो भन्ने हो भने यो उद्देश्यको निर्धारण र निरुपण कसरी हुन पुग्यो ? जेन–जी उमेर समूह अर्थात् १३ देखि २८ वर्ष उमेर समूहका हामी अभिभावकले सोचौँ र स्वयंमा उत्तर खोजौँ !
३. जेन–जी उमेर समूहका भाइबहिनीले भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको प्रवर्धन किन भन्न पुगे ? भ्रष्टाचारको बिजारोपण गर्ने गराउने र सुशासन प्रत्याभूतिको बाधक तत्वलाई समाज टिकाउन बसाउने हाम्रो राजनीतिक मत कति प्रतिशत दोषी छ ? खोजबिन गरौँ ! होइन भने विद्यमान संघीय गणतन्त्रात्मक राजनीतिक व्यवस्थाभित्र यस वस्तुको प्रत्याभूति गर्न गराउन हामीले किन सकेनौँ ? किन कहाँ चुक्यौँ ? आत्मसमीक्षा गरौँ !
४ं राजनीतिक लडाइँ र लडाइपछि प्राप्त विद्यमान राजनीतिक र राजकीयसत्ताको बागडोर हामीले सम्हालिरहँदा हाम्रा तमाम भाइबहिनी, छोराछोरी र नातिनातिनाहरू हाम्रो बुझाइबाट किन विकास हुन सकेनन् ? हाम्रा अभिव्यक्तिबाट किन निर्देशित हुन सकेनन् ? अर्को अर्थमा हामीलाई नै किन पत्याएनन् ? जेन–जी उमेर समूह हाम्रालागि असल उत्तराधिकारी बन्न किन सकेनन् ? समाजले रोजेको र खोजेको जनशक्तिको रूपमा पूर्णतः सफल हुन किन सकेनन् ?
५. भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्धन आजको मुख्य विषय थियो, साझा विषय थियो । यसकारण यो उमेर समूहबाहिरका मानिसको पनि यस मुद्दामाथि ध्यान खिँचियो, नैतिक समर्थन प्राप्त भयो र भीड बढ्यो भन्ने यथार्थलाई हेक्का राखौँ र सुशासनको प्रत्याभूतिअभावको राज्य व्यवस्थाको चित्र र चरित्र निर्माणको प्रश्नमा सचेत रहन अबदेखि हामी प्रत्येक मतदाताले थप जिम्मेवारीबोध गरौँ !
६. राजनीतिक आस्था र आस्थाको अभिमतका ठाउँबाट हामी जति सैद्धान्तिक, बैचारिक र राजनीतिक हिसावले प्रस्ट छौँ र सुदृढ मत राखेका छौँ, त्यति नै व्यवहारिक रूपमा आकर्षित बन्न सकेका छैनौँ । हाम्रो दिनचर्या र यसभित्र पाइनुपर्ने स्वच्छताको अभाव छ । नैतिकवान, चरित्रवान, आचरणयुक्त, अनुशासित र सरल जनशैलीको खडेरी छ । खडेरी उछिनिएको पर्यायपात्रका रूपमा सवल, सफल र असल नागरिक बनौँ !
यो पत्रलाई बिट मार्दै गर्दा अन्त्यमा के चाहिँ हो भने यो पुस्ताले आफूले खर्चिएको समय, अर्जिएको प्रविधिमैत्री ज्ञान र प्राप्त व्यवस्थाअन्तर्गत स्वदेशमै आफ्नो भविष्य नियाल्न चाहेको छ । यो शक्तिमा मनग्यै देशभक्ति छ र राष्ट्रभक्ति पनि छ । कुनै आग्रह, पूर्वाग्रह र दूराग्रह बिना नै हामी जिम्मेवार सबैले यसलाई निशर्त मनन गर्न जरुरी छ । यसकारण म त भन्छु– भ्रष्टाचारको अन्त्य र सुशासनको प्रवर्धन उद्घोषसहित समाजको ठूलो हिस्सा ओगटेको यो पुस्ताको वस्तुगत अपेक्षालाई गम्भीरतापूर्वक सुन्नुपर्छ र तिनले प्राप्त गरेको योग्यतालाई समाज निर्माणमा प्रयोग गर्नुपर्छ । आशातीत यस्ता अप्रिय घटना श्रृंखलाहरू कहिल्यै नघटुन् भन्ने शर्तपूर्ण अर्थमा हामीले हृदयांगम गर्नुपर्छ । समाज विकासको क्रमबाट कसैले कसैलाई पनि डिरेल हुन दिनुहुँदैन । यसैमा हाम्रो पनि आश, अपेक्षा र सफलता अन्तरनिहीत छ ।
धन्यवाद !