१६ वैशाख २०८१, आइतवार

नगरसभा

मेचीनगरमा दुई करोड बजेट घटाउने प्रस्ताव

३० फागुन २०८०, बुधवार
Image

इटाभट्टा, ३० फागुन । मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्षको बजेट संशोधन गरेर रु. दुई करोड पाँच लाख ६९ हजार घटाउने प्रस्ताव गरेको छ ।

आज नगरसभाको चौथो अधिवेशनमा उपप्रमुख मीना उप्रेतीले बजेटमा उक्त संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको हो ।

आव २०८०÷०८१ का लागि तेस्रो अधिवेशनमा एक अर्ब ३५ करोड ६० लाख ५५५ रुपैयाँको बजेट स्वीकृत गरिएको थियो । अब उक्त बजेटलाई संशोधन गरेर एक अर्ब ३३ करोड ८३ लाख ९१ हजार ५५५ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । संशोधन प्रस्तावमा दुई करोड पाँच लाख ६९ हजार रुपैयाँ बजेट घटाइएको छ ।

आज सुरु भएको नगरसभाको चौथो अधिवेशनमा बजेटमाथिको संशोधन प्रस्तावमाथि चैत ७ गते मात्र छलफल हुनेछ ।

आठ महिनामा ३४ प्रतिशत मात्र खर्च

मेचीनगरको चालू आवको बजेट खर्चको अवस्था कमजोर देखिएको छ । आठ महिना बितिसकेको हुँदा अबको चार महिनामा सबै बजेट खर्च नभई फ्रिज हुने हो कि भन्ने सम्भावना बढेको छ । 

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको बारम्बार हेराफेरी र आन्तरिक किचलोका कारण बजेट खर्चको अवस्था नाजुक भएको हो ।

उपप्रमुख उप्रेतीले आज नगरसभामा दिएको जानकारी अनुसार आठ महिनामा वित्तीय प्रगति ३३ दशमलब ९२ प्रतिशत मात्र रहेको छ । 

स्वीकृत बजेटमा ५१ करोड ७६ लाख ९६ हजार ५०२ रुपैयाँ पूँजीगत बजेटमध्ये बितेको आठ महिनाको अवधिमा १० करोड २४ लाख ७८ हजार ९११ रुपैयाँ मात्र खर्च भएको छ । 

विकास योजनाहरुमा धमाधम काम गरेर बजेट निकासा गर्ने वातावरण बनाउन जनप्रतिनिधि र कर्मचारीबीच राम्रो तालमेलको खाँचो हुन्छ । 

राजस्व संकलन भने सकारात्मक

मेचीनगरमा आन्तरिक राजस्वको संकलन सकारात्मक नै छ । वर्षभरिमा १२ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने नगरपालिकाको लक्ष्य रहेको छ । बितेको आठ महिनामा ६५ प्रतिशत अर्थात आठ करोड ३५ लाख ७२ हजार ३९४ रुपैयाँ राजस्व संकलन भइसकेको उपप्रमुख उप्रेतीले बताउनु भएको छ ।

लामो गज्याङगुजुङपछि मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको अग्नि अधिकारीले नगरसभालाई कानूनमा उल्लेख भएको व्यवस्था बमोजिम मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गरिएको दावी गर्नु भएको छ ।

उहाँले कर्मचारीको सेवाबाट नगरबासी सन्तुष्ट नरहेको स्वीकार गर्दै जनप्रतिनिििध र कर्मचारीबीच उचित तालमेल मिलाउँदै नगरपालिकाको सेवा र विकास निर्माणलाई लयमा ल्याउन आफ्नो प्राथमिकता रहने बताउनुभयो ।

कार्यक्रस्थलमा नगरप्रमुखको आगमन हुनासाथ नगरसभाको अधिवेशनमा राष्ट्रगान गुञ्जिएको थियो भने मञ्चमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बाहेक अरु कोही पनि आसिन हुनुभएन ।


वडा अध्यक्षले उठाए प्रश्नैप्रश्न

वडा नं. ७ का अध्यक्ष प्रह्लादमणि ओली एकजनाले मात्र समय मागेर हलका तर्फबाट मन्तब्य ब्यक्त गर्नु भएको थियो । उहाँले नगरपालिकाले राम्रो परिणाम निकाल्न नसकेको भन्दै प्रश्नैप्रश्न उठाउनुभयो ।

उहाँले बजेट कुन कुन शीर्षकमा खर्च भएका छन्, जनप्रतिनिधिलाई सबै थाहा दिइनुपर्ने र वास्तविकतामा बजेट बनाउनुपर्ने बताउनुभयो । बिगतमा कार्यपालिकाको निर्णय कार्यान्वयन नभएको गुनासो गर्दै उहाँले निर्णय लागू हुँदैन भने नगरसभा गर्नुको कुनै औचित्य नहुने टिप्पणी गर्नुभयो ।

कार्यक्रमस्थलमा वडाध्यक्ष, कार्यपालिका सदस्य र नगर सदस्यहरुलाई क्रमानुसार आसनको व्यवस्था मिलाइएको थियो भने कर्मचारी र पत्रकारहरुलाई सबैभन्दा पछाडि पर्यवेक्षकको रुपमा बस्ने व्यवस्था मिलाइएको थियो । पत्रकारहरुले बस्ने स्थान सबैभन्दा पछाडि राखिएकाले तस्वीर लिन असुविधा भएको गुनासो गरेका थिए ।