१६ वैशाख २०८१, आइतवार

दुई दिनपछि निभाइयो आगो, पन्ध्र करोड क्षति

३० फागुन २०८०, बुधवार
Image

झापा, ३० फागुन  मेचीनगर–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्रा.लि. (प्लाईउड उद्योग)मा सोमवार विहान सुरु भएको आगलागी दुई दिनपछि आज पूर्ण नियन्त्रण भएको छ ।

सोमवार विहान ५ बजेतिर उद्योगको काठको गोलिया भण्डारण गरिदै आएको मुख्य ब्लकमा अचानक आगलागी सुरु भएको थियो । आज साँझ ५ बजेतिर मात्र उक्त आगो निभेको थियो । काठको विशाल घाटगद्दी भएको कारण आगो निभाउन ६० घण्टा लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले बताउनुभयो ।

आगलागीबाट रु. १५ करोडको भौतिक सम्पत्ति डढेर क्षति भएको सञ्चालक आचार्यले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ ।

नेपालकै ठूलो मानिएको उक्त प्लाईउड उद्योगमा दैनिक बाह्र सय मजदूर कार्यरत छन् । त्यहाँ उत्पादित सामान विदेशमा निर्यात हुने गरेको छ ।

आगलागी भएको खबर पाएलगत्तै सोमवारदेखि १२ वटा दमकलले आगो निभाउने निरन्तर प्रयास गरिरहेका थिए । काठको गोलियामा दन्किएको आगो नियन्त्रणमा लिन दमकललाई निकै कठिन भएको थियो । आगलागी नियन्त्रणमा सघाउन भारतबाट समेत दमकल मगाइएको थियो ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक मिलन केसीले आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।