१८ वैशाख २०८१, मङ्गलवार

सुन तस्करी काण्ड : महरा र सीआइबी प्रमुखलाई कार्वाही सिफारिस

२ चैत २०८०, शुक्रवार
Image

झापा, २ चैत । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको समेत बताएका छन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ ।

मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो ।

योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ ।

उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएर समेत छाडेको उनीहरुको माथि आरोप छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत ब्रिफिङ गरेका छन् ।