१५ वैशाख २०८१, शनिवार

सिलिगुडीमा रेल चढ्दा चिप्लिएर भद्रपुरका विष्णु शर्माको मृत्यु

२ चैत २०८०, शुक्रवार
Image

झापा, २ चैत । भारत पश्चिम बंगालको सिलिगुडी रेल्वे स्टेसनमा दुर्घटनामा परी भद्रपुर–५ का ५० वर्षीय विष्णु शर्माको मृत्यु भएको छ ।

दुई दिन अघि सिलिगुडीबाट गलगलिया जाने क्रममा ‘कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेस’ रेल चढ्दा चिप्लिएर घाइते हुनुभएको शर्माको आज विहान उपचारकै क्रममा निधन भएको हो ।

भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालाका अनुसार बुधवार अपराह्न २ बजेतिर सिलिगुढीबाट रेल चढेर भद्रपुरको सीमावर्ती बजार गलगलिया फर्कने क्रममा उहाँ दुर्घटनामा पर्नु भएको थियो ।  

“गलगलिया आउने क्रममा रेल चढ्दा उहाँ चिप्लिनु भयो,” संघका अध्यक्ष साहेवालाले भन्नुभयो–“गुड्न सुरु गरेको रेलले एउटा हात काटिएपछि रेलका सुरक्षाकर्मीले तत्कालै उपचारका लागि नर्थ बंगाल हस्पिटल पुर्याए । उपचारकै क्रममा उहाँको निधन भएको खबर आयो ।”

मृतक शर्माका चार जना छोरा र पत्नी भद्रपुरमा रहेका छन् । उहाँ भद्रपुर–५ स्थित लक्ष्मी नारायण मन्दिरमा पुजारी हुनुहुन्थ्यो । उहाँ व्यक्तिगत कामले सिलिगुढी जानु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको शबलाई भारतमै पोस्टमार्टम जाँच र कानूनी प्रक्रिया पूरा गरेर आजै नेपाल ल्याउने तयारी छ । भारतीय सीमावर्ती बजार पानीटंकी, गलगलिया र सिलिगुढीमा वर्षेनी रेलको ठक्करले नेपाली नागरिकले ज्यान गुमाउने गरेका छन् ।