१८ वैशाख २०८१, मङ्गलवार

चार महिना अघि रुसी सेनामा भर्ती भएका थिए गंगाराम

२ चैत २०८०, शुक्रवार
Image

मेचीनगर, २ चैत । युक्रेन युद्धमा मृत्यु भएका हल्दिबारी–१ का ३३ वर्षीय गंगाराम अधिकारी चार महिना अघि मात्र रुसी सेनामा भर्ती भएका थिए ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत उहाँको मृत्यु भएको विज्ञप्ति जारी गरेपछि मात्र उहाँको मृत्युको खबर गाउँसम्म आइपुगेको हो । 

मृतकका परिवारले गंगाराम पाँच वर्ष अघि कतार र त्यसपछि संयुक्त अरब इमिरेट्सको दुबईमा वैदेशिक रोजगारीका लागि गएको जानकारी दिएका छन् ।

दुबईबाट उहाँ रुस पुगेर सेनामा भर्ती हुनुभएको थियो । सेनामा भर्ती भए लगत्तै रुसले उहाँलाई युक्रेन युद्धमा धकेलेको थियो ।

युद्धमा खटिएका गंगाराम एक महिनाअघि घाइते भएको बताइएको छ । एक्लो छोरा गंगारामको मृत्युले परिवारसँगै सिंगो हल्दिबारी शोकमा डुबेको छ । 

उहाँको घरमा पत्नी अनुराधा अधिकारी र १५ र पाँच वर्षका दुई छोरा छन् ।