१५ वैशाख २०८१, शनिवार

कार्गिल योद्धा सुरेशलाई सम्झियो बाहुनडाँगीले

५ चैत २०८०, सोमवार
Image

झापा, ५ चैत । भारत र पाकिस्तानबीच २५ वर्ष अघि कार्गिलमा भएको सीमायुद्धमा मृत्यु भएका मेचीनगर–४ बाहुनडाँगीका सिपाही सुरेश थापा क्षेत्रीको स्मृतिमा बाहुनडाँगी जेसीजले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल र भारतका आठ वटा क्लवले प्रतिष्पर्धा गर्ने ‘कार्गिल सहिद सुरेश क्षेत्री स्मृति दोस्रो जेसिज नकआउट फुटबल प्रतियोगिता’ यही चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले बताउनुभयो । प्रतियोगितामा भारतको किरालाम जोत एकलब्य क्लवले समेत सहभागिता जनाउँदैछ ।


सुरेशको विवाह सन् १९९६ मा मञ्जु थापासँग भएको थियो ।

भारतको जम्मु कश्मिर सीमा क्षेत्रमा युद्धको क्रममा सन् १९९९ जुलाई ७ तारिखमा ज्यान गुमाउँदा भारतीय सेनाको नागाल्यान्ड रेजिमेन्टमा कार्यरत सुरेश क्षेत्री २६ वर्षका मात्र थिए । मेचीनगर–४ बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्कीले सुरेश आफ्नो बाल्यकालको साथी भएको बताउनुभयो । 

“हामी सँगै स्कुल जान्थ्यौं, सँगै फुटबल पनि खेल्थ्यौं,” वडाध्यक्ष कार्कीले क्षेत्रीसँग बाल्यकालमा बिताएका क्षणहरु सम्झँदै भन्नुभयो–“पछि ऊ भारतीय सेनामा भर्ती भयो । कार्गिल युद्धमा जीवन गुमायो । अहिले जेसिजले स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्दा पुराना दिनहरु ताजा भएका छन् ।”

सन् १९९३ मा भारतीय सेनामा भर्ती भएका सुरेशको विवाह सन् १९९६ मा मञ्जु थापासँग भएको थियो । कार्गिलमा मृत्यु भएको चार महिनापछि उनीहरुको एक छोरा सुमन सुरेश कार्गिल क्षेत्रीको जन्म भएको थियो । सुरेशकी पत्नी मञ्जु र छोरा सुमन हाल सीमावर्ती दार्जीलिङको नक्सलबारीमा बसोबास गर्दै आएका छन् ।

फुटबल प्रतियोगिता सञ्चालनका लागि कार्गिल योद्धा सुरेशका दाजु रामु थापा क्षेत्रीले बाहुनडाँगी जेसिजलाई रु. तीन लाख १० हजार आर्थिक सहयोग दिनु भएको अध्यक्ष बानियाँले जानकारी दिनुभयो । प्रतियोगिताका बिजेता टिमलाई रु. एक लाख एक हजार र उपबिजेता टिमलाई रु. ५१ हजार नगद पुरस्कार दिइने भएको उहाँले बताउनुभयो ।

“मूलतः खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” प्रतियोगिाताको आयोजक जेसिजका अध्यक्ष बानियाँले भन्नुभयो–“बाहुनडाँगी फुटबल खेलका लागि उर्वर भूमि हो । नयाँ खेलाडी उत्पादन गरेर फुबटल खेलको माध्यमबाट यस ठाउँको चिनारी गराउन लागिरहेका छौं ।”

हात्ती प्रभावित क्षेत्रको रुपमा वर्षौदेखि चिनिएको बाहुनडाँगीमा फुटबलका राम्रा खेलाडी रहेका छन् । बाहनुडाँगीका आदित्य कार्की हाल मालद्विपको राष्ट्रिय ए डिभिजन टिमको कोच रहेका छन् भने सेवन्त थापा मगर यु–१९ को अन्तर्राष्ट्रिय खेलाडी र विशाल राई झापा फुटबल क्लवका उत्कृष्ट खेलाडी हुन् ।