१८ वैशाख २०८१, मङ्गलवार

महिलालाई निर्णायक तहमा पुर्याउन माग गर्दै देशब्यापी बसयात्रा

६ चैत २०८०, मङ्गलवार
Image

झापा, ६ चैत । अन्तर–पुस्ता महिला मञ्च (आइजीएफएफ)ले महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्याउनु पर्ने उद्घोषका साथ आज पूर्वीनाका काँकरभिट्टाबाट ‘देशब्यापी महिलाबादी बसयात्रा’ सुरु गरेको छ ।

आज काँकरभिट्टा र सोमवार कञ्चनपुरबाट सुरु भएको बसयात्रा चैत ९ गते मध्यविन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ । महिलालाई राज्यको निर्णायक तहमा पुर्याउन देशब्यापी जागरण ल्याउनु बसयात्रा अभियानको उद्देश्य रहेको मञ्चको केन्द्रीय सञ्चालक समितिकी संयोजक डा. सुशान्त रिसालले बताउनु भयो ।

उहाँले परमुखी विकासको कुलो फर्काउनु पर्ने र महिलालाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिदै त्यसका लागि लैंगिक विभेदका विरुद्ध सबै मोर्चामा संघर्ष गर्नु पर्ने बताउनुभयो । 


बसयात्रा उद्घाटन अवसरमा महिला टोलीले नै नौमति बाजा बजाएर नाचगानसहित अभियानका सहभागीलाई स्वागत गरेको थियो । उक्त अवसरमा बोल्दै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले पितृसत्तात्मक विभेद र थिचोमिचोविरुद्ध महिलाहरुले साझा दृष्टिकोण बनाएर लड्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले महिलालाई उपप्रमुख, उपाध्यक्ष, उपसभामुख र उपप्रधानमन्त्री र उपराष्ट्रपति जस्ता दोस्रो तहको नेतृत्वमा सीमित गराइएको भन्दै पार्टी र राज्यको पहिलो नेतृत्व तहमै पुग्न सबैले जोडबल गर्नुपर्ने बताउनुभयो ।

बसयात्रा उद्घाटन कार्यक्रमको संयोजन गरिरहेको महिला जनचेतना केन्द्र झापाकी अध्यक्ष सीता गुरुङका अनुसार महिलाबादी अभियन्ताहरुले बसयात्रा क्रममा मुलुकका विभिन्न स्थानमा स्थानीय समुदायसँग अन्तरक्रिया गर्नेछन् । अभियन्ताहरु चढेको बस झापा, मोरङ, सुनसरी र सप्तरी छिचोलेर आजै साँझ सिराहाको लहान पुगेर बास बस्ने उहाँले जानकारी दिनुभयो ।

अन्तर–पुस्ता महिलावादी मञ्च महिला आन्दोलनका लागि पाँच वर्ष अघि गठन भएको साझा सञ्जाल हो । जहाँ देशभरका महिला अधिकारकमीहरु जोडिएका छन् । यसले महिलावादी एजेन्डा उठाउँदै देशब्यापी रुपमा महिला आन्दोलनलाई समावेशी दृष्टिकोणका साथ एकताबद्ध गरिरहेको मञ्चको केन्द्रीय सञ्चालक समितिकी सदस्य राधा प्रधानले बताउनुभयो ।

चैत ६ गते काँकरभिट्टाबाट सुरु भएको बसयात्रा अभियान अन्तर्गत चैत ७ गते लहान र ८ गते चन्द्रनिगाहपुरमा पुगेर विशेष कार्यक्रमको आयोजना हुने बताइएको छ । पश्चिमको कञ्चनपुरबाट चैत ५ गते सुरु भएको अभियानले आज कैलालीको गुलरियामा, चैत ७ गते दाङ र ८ गते भैरहवामा अन्तरक्रिया कार्यक्रम गर्ने अभियानकी सदस्य चिङलामु शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा महिला अधिकारकर्मी मीरा काफ्लेले जागरण गीत गाउनु भएको थियो ।