२१ वैशाख २०८१, शुक्रवार

पूर्वीनाकाबाटै भ्रमणमा आए बंगलादेशका पारवहन मन्त्री

१० चैत २०८०, शनिवार
Image

झापा, १० चैत । बंगलादेशका पारवहन मन्त्री खालिद महम्मद चौधरी आज पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल भ्रमणमा आउनु भएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौंमा आजदेखि आयोजना हुने नेपाल र बंगलादेशबीच मन्त्रीस्तरीय वार्तामा सहभागी हुन बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहन मन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आउनु भएको हो ।

मन्त्री चौधरीले मेची भन्सार कार्यालयको सुख्खा बन्दरगाहको अवलोकन गर्नुभयो । उहाँलाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र काँकडभिट्टा सुख्खा बन्दरगाहकी प्रमुख सुबेदीले नेपाल र बंगलादेशबीचको पारवहन मार्गको सञ्चालन अवस्था र द्विदेशीय व्यापारका बारेका जानकारी गराउनु भएको थियो ।

उहाँ नेपाल–बंगलादेशबीचको स्थल पारवहन मार्गको बंगलादेशी नाका बंगलाबन्ध हुँदै भारत आउनु भएको थियो । नेपाल आउनु अघि उहाँले भूटानको फुन्चोलिङस्थित नवनिर्मित सुख्खा बन्दरगाहको पनि अवलोकन गर्नु भएको थियो । 

कोभिड–१९ को महामारीका कारण भएको बन्दाबन्दीपश्चात पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न चाहने भूटानी नागरिक बाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले प्रवेशाज्ञा अनुमति दिएको थिएन । चार वर्षयता पूर्वी नाका भएर नेपाल आउनु हुने उहाँ पहिलो बंगलादेशी उच्चस्तरीय पाहुना हुनुहुन्छ ।

आज विहान नौ सदस्यीय प्रतिनिधिमण्डलसहित काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नु भएको मन्त्री चौधरीलाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहकी प्रमुख अम्बिका सुबेदी, काठमाडौंस्थित बंगलादेशी दूताबासकी उपप्रमुख इसरात जहान लगायतले स्वागत गर्नु भयो ।

नेपाल भ्रमणमा आएको बंगलादेशी प्रतिनिधिमण्डलमा बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका अध्यक्ष महम्मद जिलुर रहमान चौधरी, बंगलादेश पारवहन मन्त्रालयका संयुक्त सचिव मुन्सी महम्मद मोनिरुज्मान, बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका सञ्चालक समितिका सदस्य जियाउद्दिन अहमद भुइयान, बंगलादेश पारवहन मन्त्रालयका वरिष्ठ सूचना तथा जनसम्पर्क अधिकृत महम्मद जाहगिर आलम खान, बंगलादेश विदेश मन्त्रालयका सहसचिव महम्मद माहादे आलम बिन्टु, बंगलादेश स्थल बन्दरगाह प्राधिकरणका सुपरिवेक्षक महम्मद हसन, आइमा इन्टरनेसनल बीडी लिमिटेडका अध्यक्ष खालिलुर रहमान र बंगलादेश पारवहन मन्त्रीका निजी सचिव महम्मद मुक्तादिर हुसेन हुनुहुन्छ ।

भारतीय प्रवेशाज्ञा नपाएका कारण बंगलादेशका पर्यटक काँकडभिट्टा नाका भएर नेपाल आउन नपाएको चार वर्ष बितिसकेको छ । भारत सरकारले २०७६ चैत ११ गतेदेखि भारतको पश्चिम बंगाल राज्यको अध्यागमन जाँचचौकी रानीगन्जले भूटानी, बंगलादेश पढ्न जाने नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका विदेशी पर्यटकलाई मात्र नेपाल जाने अनुमति दिने गरेको छ ।

बिगतमा बंगलादेशबाट नेपाल भित्रिने पर्यटकको संख्या उल्लेख्य रहने गरेको थियो । बंगलादेशी मन्त्री चौधरीलाई यस विषयमा समेत जानकारी गराइएको छ । बंगलादेशी प्रतिनिधिमण्डल चन्द्रगढी विमानस्थल हुँदै आजै काठमाडौं जाने कार्यक्रम रहेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।