२० वैशाख २०८१, बिहिवार

झापाको किच्चकबध स्थल ‘२२ सय वर्ष पुरानो’ प्रमाणित

११ चैत २०८०, आइतवार
Image

झापा, ११ चैत  भद्रपुर नगरपालिका वडा नं. ३ पृथ्वीनगरस्थित ‘किच्चकबध स्थल’मा उत्खननमा फेला परेका सामग्री दुई हजार २०० वर्ष पुरानो भएको पुरातत्व विभागको खोजबाट पत्ता लागेको छ ।

महाभारतकालीन किंबदन्ती अनुसार पाँच पाण्डवमध्येका भीमसेनले किच्चकको बध गरेको स्थानको रुपमा यो स्थान चर्चित छ । पुरातत्व विभागले यहाँ वि.सं. २०५८ सालदेखि हालसम्ममा सातौं पटक यहाँ उत्खनन गर्दा विभिन्न सामग्री भेटिएका थिए । 

उत्खननको क्रममा भेटिएका प्राचीन सुराही लगायतका माटो र धातुका भाडावर्तन, गहना र इँटा संकलन गरेर कार्बन परीक्षण गर्दा किच्चकबध स्थल ईशापूर्व १२० देखि २०० वर्ष पुरानो प्रमाणित भएको प्रसिद्ध पुरातत्वविद् उद्धव आचार्यले बताउनु भएको छ ।

वि.सं. २०५८ देखि किच्चकबध स्थलमा पुरातत्वविद् आचार्यकै नेतृत्वमा सातौं चरणको उत्खनन कार्य हाल जारी रहेको छ । “यसअघि छ चरणसम्म उत्खनन गर्दा भेटिएका प्राचीन बस्तुको कार्बन टेस्ट गराइसकेका छौं,” आचार्यले भन्नुभयो–“ त्यसबाट भेटिएका सामग्री २२ सय वर्ष पुरानो भएको पुष्टि भइसक्यो । यसपालीको सातौं चरणको सामग्रीको टेस्ट भएपछि अझ नयाँ तथ्यहरु खुल्दै जाने अपेक्षा गरेका छौं ।” 

यसपाली चैत २ देखि सुरु भएको उत्खनन चैत १८ गतेसम्म जारी रहने उहाँले जानकारी दिनुभयो । उत्खननका लागि आचार्यको नेतत्वमा पाँच जनाको टोली सक्रिय छ । टोलीले दिनभर उत्खनन गरेर किच्चकबध स्थलमै रात बास बस्ने गरेको छ ।

किच्चकबध स्थललाई धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा प्रचार गरिदै आए पनि पुरातत्व विभागले त्यसको आधिकारिक समय गणना भर्खरै सम्पन्न गरेको इतिहासकार एवम् मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख चिन्तामणि दाहालले बताउनुयो ।

“यो स्थल २२ सय वर्ष पुरानो हो भनेर प्रमाणित हुनु ज्यादै खुशीको कुरा हो,” सातौँ चरणको उत्खननका लागि आएको पुरातत्व विभागको टोलीसँगको भेटपछि दाहालले भन्नुभयो–“थाइल्यान्ड, भारत लगायतका मुलुकमा गरिएको वैज्ञानिक परीक्षणले अब किच्चकबध स्थलको महत्त्व बढेको छ । यो स्थल धेरै पुरानो हो भन्नेमा अब अन्योल रहेन ।”

पुरातत्वविद् उद्धव आचार्यले नै सुर्खेतको ऐतिहासिक काक्रेविहार स्थलको ऐतिहासिकताको प्रमाणिक खोज गर्नु भएको थियो । किच्चकबध स्थलमा सुरुदेखि नै आचार्यले उत्खननको नेतृत्व गर्नु भएको हुँदा यसको अन्तिमसम्म उहाँले नै उत्खनन गर्नुहुने दाहालले बताउनुभयो ।

किच्चकबध स्थल १० बिगाहा क्षेत्रफलमा फैलिएको छ । जहाँ पुरानो र नयाँ गरी दुईवटा किच्चकबधको मूर्ति छन् भने मानव निर्मित मन्दिर, पोखरी र सभाहल छन् । उत्खनन भइरहेको सीमाभित्र मानव निर्मित सभाहल र मूर्ति रहेकाले त्यसलाई अन्यत्र सारिदिन उत्खनन टोलीले आग्रह गरेको दाहालले बताउनुभयो ।

सरकारले उत्खननलाई निरन्तरता दिइरहे तापनि एकैपटकमा पर्याप्त बजेट नपठाउँदा क्रमागत रुपमा उत्खनन गर्नु परिरहेको दाहालले गुनासो गर्नुभयो । जमिनको पहिलो तहको उत्खननबाट फेला परेका बस्तुको कार्बन परीक्षणबाट यस स्थलको २२ सय वर्ष पुरानो समय गणना भएको जनाउँदै उहाँले अझ एक तहमुनि पनि प्राचीन बस्तु भेटिन थालेको हुँदा सरकारले उत्खननका लागि पर्याप्त बजेट उपलब्ध गराउनु पर्ने खाँचो देखिएको बताउनुभयो । 

गौतमबुद्धको जन्मस्थल लुम्बिनी २५ सय वर्ष पुरानो भएजस्तै किच्चकबध स्थल २२ सय वर्ष पुरानो पुष्टि भएकाले यसलाई पर्यटकीय दृष्टिले मुलुककै आकर्षक गन्तब्यस्थलको रुपमा चिनाउन सकिने उहाँको धारणा छ ।

किच्चकबध स्थलको रेखदेख स्थानीय संरक्षण समितिले गर्दै आएको छ । समितिले नै विभिन्न स्रोत जुटाएर घेराबेरा लगायतका संरचना निर्माण गरेको छ । सो स्थानमा फेला परेको प्राचीन पर्खाल, इँटा लगायत उत्खननस्थलको उचित ढंगले संरक्षण हुन सकेको छैन । आन्तरिक पर्यटकले जथाभावी कुल्चिने र स्थानीय समितिले गुरुयोजना बिना भौतिक संरचना निर्माण गरिदिदा पुरातात्विक सामान नष्ट हुने जोखिम बढेको छ । स्थानीय पालिका र प्रदेश सरकारले समेत उक्त ऐतिहासिक स्थानको संरक्षण र उत्खननमा ध्यान दिन आवश्यक भइसकेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।