१५ वैशाख २०८१, शनिवार

फर्किएन महामारीले खोसेको कैदीबन्दीको रोजगारी

१४ चैत २०८०, बुधवार
Image

झापा, १३ चैत । कोभिड–१९ को महामारीले बन्दाबन्दी निम्त्याउनु अघिसम्म झापा कारागारभित्र शिप भएकाहरु कोही पनि खाली हात बस्दैन थिए । सयौं कैदीबन्दी दिनभर कोही बाँसका भाटा खुर्किन्थे भने कोही मुडा बुन्थे । तानमा कपडा बुनेर उनीहरु ढाकाको टोपी पनि बनाउँथे । कारागारमा बनेका सामान बजारमा हारालुछ बिक्री हुन्थ्यो ।

तर, चार वर्षयता त्यहाँको परिदृश्य फरक छ । साँझ छ बज्नु अगावै झापा कारागारका कैदीबन्दी खाना खाइसकेर हाजिरीका लागि लाइनमा उभिन्छन् । चार दिशाको अग्लो पर्खालभित्र उनीहरु दिनभरि साथीसँग गफिएर समय बिताउन बाध्य छन् । यो क्रम हरेक दिन दोहोरिने गर्छ । 

बितेको चार वर्षमा झापा कारागारमा एउटा पनि तान (कपडा बुन्ने हाते मेसिन) चलेको छैन । एउटा पनि ढाकाको टोपी बुनिएको छैन । कोरोना महामारीपछि ठप्प ढाकाटोपी उद्योग पुनःसञ्चालनको वातावरण बन्न नसकेको कारागारका आन्तरिक प्रशासन प्रमुख मनोज लावती बताउनुहुन्छ ।

“उसबेला कारागारभित्र ढाका बुन्ने घरेलु उद्योग चल्थ्यो, अहिले सबै बन्द छ,” आन्तरिक प्रशासन प्रमुख लावती भन्नुहुन्छ–“कैदीबन्दी साथीहरुसँग भएको शिप खेर गइरहेको छ । उनीहरुको रोजगारी पनि गुम्यो । रोजगारीको अवसर फेरि व्युँताउने वातावरण अझै बन्न सकेन ।”

उहाँले अनेक प्रयास गरेर केही महिना अघिदेखि बाँसका मुडा बनाउने उद्यम भने सुरु गरिएको जनाउँदै बजारबाट माग आएमा ढाकाको टोपी बुन्ने उद्योग पनि सञ्चालन गर्न सकिने बताउनुभयो । 

चार वर्ष अघिसम्म लगभग पाँच सय कैदीबन्दीले मुडा बुन्ने उद्योगमा रोजगारी पाएका थिए । कोरोना महामारीपछि बल्लतल्ल खुलेको उक्त उद्योगमा अहिले डेढ सय जनाले मुडा बनाउने काम पाएका छन् । बजारमा मुडाको बजार सुस्ताएका कारण माग कम आउने गरेको लावती बताउनुहुन्छ । 

कारागारमा निर्मित बाँसका मुडा विर्तामोडका व्यवसायीले प्रति थान न्यूनतम् रु. २४० का दरले किनेर लैजाने गरेका छन् । चार वर्ष अघि यही सामानले रु. ३५० को भाउ पाउने गरेको थियो । मुडा बनाउनका लागि कैदीबन्दीले एक सय थान बाँसको सिन्का खुर्किदा रु. १० पारिश्रमिक पाउने गरेका छन् । साइकलको टायर काट्ने र सिलाउने काममा पनि उनीहरुले मनग्य ज्याला पाउने गर्छन् ।

बाँसका मुडासहितको कलात्मक डाइनिङ टेबुल कैदीबन्दीले निर्माण गर्दै आएका छन् । यसरी बुनिएको एउटा डाइनिङ टेबलसहित मुडा सेट रु. २५ हजारसम्ममा बजारमा बिक्री हुने गरेको छ । “चाहिने कच्चा पदार्थ उपलब्ध गराइएपछि कैदीबन्दीले त्यसबाट मुडा बनाएर पारिश्रमिक लिने गरेका छन्”–लावतीले बताउनुभयो ।

भद्रपुर–८ मा रहेको पचास वर्ष पुरानो झापा कारागारमा क्षमताभन्दा लगभग तेब्बर कैदीबन्दी रहँदै आएका छन् । कलबलगुढीको फराकिलो स्थानमा स्थानान्तरण गर्ने विषयमा चर्चा हुने गरे तापनि हालको कारागार क्षेत्र ज्यादै साँघुरो छ । पछिल्लो समय कारागारभित्र नयाँ भवनहरु बनेका कारण उनीहरुको बसाईलाई सहज बनाउने प्रयास गरिएको छ ।

झापा कारागारमा हाल एक हजार ५३१ पुरुष, ९४ महिला र दुई बालिबालिका गरी एक हजार ६२७ जना कैदीबन्दी रहेका छन् । महिला र पुरुषलाई राखिने आवासगृह अलग भवनमा छ । महिला बन्दी गृहभित्र मुडा बुन्ने लगायतका कुनै पनि रोजगारमूलक उद्यमको अवसर छैन । मुडा बनाउने उद्यम पुरुष बन्दीका लागि मात्र उपलब्ध हुने गरेको छ ।

राज्यले हरेक कैदीबन्दीलाई सिदावापत दैनिक रु. ८० र ७०० ग्राम चामल उपलब्ध गराउँदै आएको कारागारका प्रमुख रेवन्त भट्टराईले बताउनुभयो । उनीहरुको नियमित स्वास्थ्य परीक्षणका लागि एक जना अहेब तहका सरकारी स्वास्थ्यकर्मी र स्वास्थ्य नेपाल नामक गैरसरकारी संस्थाका अर्का एक जना स्वास्थ्यकर्मी कारागारमा रहने भट्टराईले जानकारी दिनुभयो ।

“खानाका लागि राज्यले सिदावापत नगद र चामल पन्ध्र पन्ध्र दिनमा एकमुष्ठ उपलब्ध गराउँदै आएको छ,” कारागारका प्रमुख भट्टराईले भन्नुभयो–“त्यसबाहेक कारागारभित्रै सञ्चालन हुने उद्यममा शिप र श्रमको उपयोग गरेर उहाँहरुले अतिरिक्त आम्दानी गर्न सक्नुहुन्छ ।” 

कारागारभित्र चार वर्ष अघि ५० वटा नियमित रुपमा तान चल्दा ढाकाटोपीको व्यापार फस्टाउने गरेको थियो । त्यहाँ बुनिएको ढाकाको आकर्षक टोपी दमक, काठमाडौं र यूरोपसम्म पुग्ने गरेको कारागारका आन्तरिक प्रशासन प्रमुख लावतीले जानकारी दिनुभयो । ढाकाटोपीको व्यापार फेरि चलाउन बाहिरबाट माग आउनु पर्ने हुँदा हाल त्यसको खोजी भइरहेको उहाँले बताउनुभयो ।

कारागारभित्रका मेस (सामूहिक भान्सा)मा पनि ४० जना कैदीबन्दीले रोजगारी पाइरहेका छन् । कारागारभित्र सामूहिक भान्साको प्रचलन छ । त्यहाँ खाना पकाउने र भाडावर्तन पखाल्ने कार्य गर्नेहरुले मासिक रुपमा न्यूनतम् रु. तीन हजार कमाउने गरेका छन् ।

परिवार पाल्नु पर्ने दायित्व भएका आर्थिक रुपमा विपन्न कैदीबन्दीलाई उनीहरुको माग अनुसार सामूहिक भान्सामा रोजगारी दिइने गरेको आन्तरिक प्रशासन प्रमुख लावतीले बताउनुभयो । कैयन कैदीबन्दीले यसरी नै श्रम र शिप उपयोग गरेर आर्जन गरेको रकम परिवारको भरणपोषण र शिक्षामा लगाउने गरेका छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।