१८ वैशाख २०८१, मङ्गलवार

ताइवानमा शक्तिशाली भूकम्प, बहुतले घरहरु ढले

२१ चैत २०८०, बुधवार
Image

झापा, २१ चैत । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने ५० हजार जना घाइते भएका छन् ।

सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् ।

बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७।४ म्याग्निच्युडको भूकम्पपछि ६।५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।

स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।

सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो ।

ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

फिलिपिन्सको भूकम्प मापन निकायले पनि सूनामीको चेतावी जारी गरेको छ ।

बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो । यसअघि सन् १९९९ मा ७।६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।