१८ वैशाख २०८१, मङ्गलवार

इलाममा क कसले गरे उम्मेद्वारी दर्ता ?

२४ चैत २०८०, शनिवार
Image

इलाम, २४ चैत । यही वैशाख १५ गते हुने इलाम क्षेत्र नं. २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि विभिन्न पार्टी र स्वतन्त्र रुपमा दर्जन उम्मेद्वारले आज मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेका तर्फबाट स्वर्गीय संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका छन् ।

सुहाङको उम्मेद्वारी दर्ता गराउन एमालेले उपनिर्वाचनका लागि चुनावी कमान्डर बनाएकी पूर्वउपसभामुख शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेत लगायतको उपस्थिति थियो ।


यसैगरी, नेपाली कांग्रेसका तर्फबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । उनले एमालेका उम्मेद्वार सुहाङ नेम्वाङका बुवा सुवासचन्द्र नेम्वाङसँग यस अघिको आम निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए ।

खड्काको उम्मेद्वारी दर्ता गराउन केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्व सभापति हिमालय कर्माचार्यलगायतको उपस्थिति थियो ।


राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् ।

उनको उम्मेद्वारी दर्ता गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोली उपस्थित रहेको थियो । 

पहिचान पक्षधरका नामबाट डकेन्द्रसिं लिम्बु थेगिमले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट लक्ष्मी गुरुङले मनोनयन पत्र दर्ता गराएका छन् । उनको मनोनयन दर्ता गराउन जाने टोलीमा संघीय सांसद विना लामा पनि सहभागी थिइन् ।

स्वतन्त्र उम्मेदवार मनोज निरौला, नेपाल रिपब्लिक नेशनल पार्टीका उम्मेदवार धनराज राना मगर लगायतको मनोनयन पनि दर्ता भएको छ ।