१८ वैशाख २०८१, मङ्गलवार

एनएमसी सहकारी

चार वर्षमा प्रगति दोब्बर बनाउने एनएमसीको योजना सार्जजनिक

२६ चैत २०८०, सोमवार
Image

झापा, २६ चैत । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले वि.सं. २०८४ असारसम्ममा संस्थाको प्रगति लगभग दोब्बर बनाउने चार वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ ।

आज विर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त योजना सार्जजनिक गरिएको हो । संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले आगामी चार वर्षमा सदस्यको संख्या दुई लाख ३३ हजार ९२१, चुक्ता शेयर पूँजी दुई अर्ब २५ करोड ३० लाख रुपैयाँ र साधारण जगेडा कोष एक अर्ब १५ करोड ७० लाख रुपैयाँ पुर्याउने लक्ष्य प्रक्षेपण गरिएको बताउनुभयो ।

वि.सं. २०८० को माघसम्ममा सदस्य संख्या एक लाख ६२ हजार ३६७, चुक्ता शेयर पूँजी एक अर्ब ४१ करोड ६३ लाख ५६ हजार ४०० रुपैयाँ र साधारण जगेडा कोष ७९ करोड ८३ लाख तीन हजार ९०२ रुपैयाँ रहेको छ ।

यसैगरी, चार वर्षे योजनामा संस्थाले सञ्चालन मुनाफा अहिलेको चार करोड ३८ लाख ३६ हजार ३०७ रुपैयाँबाट बढाएर ७७ करोड ४१ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ भने संस्थाको कूल सम्पत्ति (बासलात) १३ अर्ब ६९ करोड ३२ लाख ८५ हजार ३७२ रुपैयाँबाट बढाएर २२ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको अध्यक्ष शिवाकोटीले जानकारी दिनुभयो ।

बासलातका आधारमा एनएमसी हाल मुलुककै दोस्रो ठूलो सहकारी संस्थाको रुपमा चिनिएको छ । हाल संस्थामा सदस्यहरुको बचत नौ अर्ब ९८ करोड ४६ लाख २५ हजार ९८० रुपैयाँ रहेको छ । आगामी चार वर्षमा त्यसलाई बढाएर १६ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ पुर्याउने संस्थाको लक्ष्य छ ।

हालको कर्जा लगानी १० अर्ब ६२ करोड ५४ लाख ९० हजार ७३ रुपैयाँलाई चार वर्षमा बढाएर १७ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ पुर्याउने रणनीतिक योजनामा उल्लेख छ । बाह्य कर्जा हाल चार करोड ३८ लाख ३६ हजार ३०७ रुपैयाँलाई चार वर्षभित्र शून्यमा झार्ने संस्थाको उद्देश्य छ ।

संस्थाले हाल बैकिङ, डेरी, एग्रो, सहकारी पसल र चिया उद्योग सञ्चालन गर्दै आएको छ । रणनीतिक योजना अन्तर्गत आगामी चार वर्षमा संस्थाले डेरी उद्योगमा लगानी हालको १२ करोड रुपैयाँबाट बढाएर २१ करोड रुपैयाँ, एग्रो फार्ममा २३ करोड रुपैयाँबाट बढाएर ४५ करोड रुपैयाँ, सहकारी पसलमा २० करोड रुपैयाँबाट बढाएर २७ करोड रुपैयाँ र चिया उद्योगमा १३ करोड रुपैयाँबाट बढाएर १४ करोड रुपैयाँ पुर्याउने लक्ष्य सार्वजनिक गरेको छ ।

संस्थाबाट सञ्चालित व्यवसायहरुमा चार वर्षपछि बचत तथा ऋणमा सबैभन्दा बढी ७१ करोड ५९ लाख रुपैयाँ र एग्रो फार्ममा सबैभन्दा कम एक लाख रुपैयाँ मात्र सञ्चालन मुनाफा हुने लक्ष्य प्रक्षेपण गरेको छ ।

किसानबाट संकलन हुने र आफ्नै गोठबाट उत्पादन हुने दुध, किसानको चियाको हरियो पत्ति र तयारी चियाको उत्पादन समेत चार वर्षमा दोब्बभन्दा ज्यादा बनाउने लक्ष्य रहेको संस्थाका निवत्र्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो ।

हाल एनएमसी एग्रो फार्मको आफ्नै गोठबाट वार्षिक दुई लाख लिटर दुध उत्पादन हुँदै आएकोमा चार वर्षपछि यसलाई बढाएर छ लाख लिटर पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । हाल संस्थाले वार्षिक ८८ हजार केजी तयारी चिया उत्पादन गरेर बजारमा विक्री गर्दै आएकोमा विं.सं. २०८० असार मसान्तसम्ममा उत्पादन बढाएर दुई लाख ३५ हजार केजी पुर्याउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

संस्थाको आफ्नै ब्रान्डबाट तोरीको तेल उत्पादन गरी विक्री वितरण गर्ने, एग्रो फार्मलाई उच्च नश्लमा आधारित बाछी उत्पादन केन्द्रको रुपमा विकास गर्ने र डिजिटल बैंकिङ सेवा अन्तर्गत मोबाइल बैंकिङ, एटीएम र क्यूआर प्रयोगकर्ता सदस्यको संख्या उल्लेख्य मात्रामा वृद्धि गर्ने लक्ष्य लिइएको चार वर्षे रणनीतिक योजनामा उल्लेख छ ।