१८ वैशाख २०८१, मङ्गलवार

राप्रपाले आज राजधानीमा गणतन्त्रविरुद्ध शक्ति प्रदर्शन गर्दै

२७ चैत २०८०, मङ्गलवार
Image

झापा, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधाज्ञा तोड्ने गरी काठमाडौंमा गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । 

प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी भएको जनाइएको छ ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने जनाएको छ ।

सो प्रदर्शनलाई लक्षित गरी सोमबार काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो । सो बैठकले विशेष सुरक्षा रणनीति बनाएको र सोही रणनीति अनुसार सुरक्षाकर्मी परिचालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

राप्रपाको प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौं गएका छन् । राप्रपाले एक लाख मानिस प्रदर्शनमा उतार्ने दावी गरेको छ । 

राप्रपाका नेताहरुले शान्तिपूर्ण तरिकाले निषेधाज्ञा तोड्ने भने पनि निषेधाज्ञा तोड्दा प्रदर्शन शान्तिपूर्ण नहुने भएकाले प्रहरीले प्रदर्शनको रुट तय गरिदिने प्रयास गर्दै आएको छ । त्यसका लागि केही प्रहरी अधिकृतहरुले राप्रपाका नेताहरुसँग समन्वयको प्रयास गरिरहेका छन् ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो ।