१२ जेठ २०८१, शनिवार

नातिपुस्ता जत्तिकै सक्रिय असी बर्षे पत्रकार क्षेत्री

२८ चैत २०८०, बुधवार
Image

झापा, २८ चैत । भद्रपुर नगरपालिका–६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उमेर बाधक भएको छैन । काठमाडौबाट प्रकाशित ‘द हिमालयन टाइम्स’ अंग्रेजी दैनिक र झापाबाट प्रकाशित ‘नयाँ सन्दर्भ साप्ताहिक’ पत्रिकामा उहाँ नियमित समाचार लेखन र सम्पादन गरिरहनु भएको छ । 

“बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,” मोटरसाइकल हाँकेर झापाको उत्तरी भेग बाहुनडाँगीदेखि दक्षिणको गौरीगञ्जसम्म कलम, कापी र मोबाइल बोकेर फिल्ड रिपोर्टिङमा हिँड्नुहुने छेत्री भन्नुहुन्छ–“एक दिन फिल्ड नगई घरमा बस्नु पर्यो भने दिक्क लाग्छ । स्थलगत रिपोर्टिङमा गएपछि नयाँ समाचार भेटिन्छ । नयाँ मानिस र परिवेशसँग घुलमिल भइन्छ । त्यसमै आनन्द लाग्छ ।”

असी वर्षे पाको उमेरमा यसरी मोटरसाइकल हाँकेर गाउँ गाउँ पुग्ने झापाका अग्रज पत्रकार छेत्रीको जोश, जाँगर र पत्रकारिताप्रतिको लगाव उहाँको नाति पुस्ताका पत्रकारहरुका लागि प्रेरणादायी बनेको छ । कुनै ठूलो घटना भयो या कुनै सभाको आयोजना भएको थाहा पाउने बित्तिकै उहाँ समाचारका लागि घटनास्थलमै पुग्न रुचाउनुहुन्छ । 

नयाँ पुस्ताका पत्रकारहरु फिल्डमा जाँदा छेत्रीलाई पछ्याउन रुचाउँछन् । सक्रिय पत्रकारिता जीवनको ५५ वर्षे अनुभवहरु सुन्न र जान्न समेत नयाँ पुस्ताका पत्रकारहरु उहाँसँगै रिपोर्टिङमा जाने गर्छन् । 

पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभव

वि.सं. २००१ जेठ २ गते धनकुटामा जन्मनु भएको छेत्री वुवा टेकबहादुर थापा र आमा कृष्णमाया थापासँगै १८ वर्षको किशोर उमेरमै भद्रपुर बसाई आउनु भएको थियो । भद्रपुरको तत्कालीन मेची इन्टरकलेज (हाल मेची बहुमुखी क्याम्पस)मा स्नातक तहसम्म अध्ययन गर्नु भएको उहाँले वि.सं. २०२५ सालमा भद्रपुरबाट प्रकाशित ‘युवक साप्ताहिक’बाट पत्रकारिता प्रारम्भ गर्नु भएको थियो । 

उहाँले पञ्चायती व्यवस्थाको निरंकुश शासनकालदेखि प्रजातन्त्र र गणतन्त्रकालीन शासन व्यवस्थाको पत्रकारिताको अनुभव हासिल गर्नुभयो । “निर्दलीय पञ्चायती व्यवस्थामा राज्य नियन्त्रित पत्रकारिता थियो,” उहाँले उसबेलाको पत्रकारिता अनुभव सुनाउँदै भन्नुभयो–“राजपरिवार र सत्ताधारी पञ्चहरुको बारेमा नकारात्मक समाचार लेख्यो भने सिधै मुद्धा लगाएर जेलमा कोचिदिन्थे । तैपनि कतिपय पत्रकारहरुले निडर भएर सत्ताको विरोध र प्रतिबन्धित राजनीतिक दलहरुको समर्थनमा समाचार र विचार सम्प्रेषण गर्दथे ।”

अहिले प्रविधिमा आएको क्रान्तिले पत्रकारिता गर्नका लागि सहज माध्यम र उपकरणहरु उपलब्ध भएको उहाँको बुझाई छ । अहिलेजस्तो हात हातमा मोवाइल, कम्प्युटर र इन्टरनेट नभएको जमानामा हातैले लेखेका समाचारलाई चिठीमा हालेर हुलाकबाट काठमाडौंमा रहेको पत्रिकाको कार्यालयमा पठाउने गरेको उहाँको कतिपय अनुभूति सुन्दा दन्त्यकथा जस्तो लाग्छ ।

“समाचार लेखेर हुलाकबाट पत्रिकाको कार्यालयमा पठाउनु पथ्र्यो,” उहाँले सुनाउनुभयो–“हप्तामा एउटा बार पत्रिका प्रकाशित हुन्थ्यो । हुलाकबाट पठाउँदा ढिलो हुन्छ भन्ने लाग्यो भने चन्द्रगढीमा आकाशवाणी (आवा) को अफिस थियो । त्यहाँ गएर छोटो सांकेतिक खबर पत्रिकाका सम्पादकलाई पठाउँथ्यौं ।”

छेत्रीले पत्रकारिता गरेको सुरुका दुई दशकसम्म आम नेपालीमा रेडियो र टिभीको पहुँच न्यून थियो । सडकहरु बनेका थिएनन् । बनेका सडकमा पनि पुल थिएनन् । यातायातका साधन नहुँदा दिनभरि हिँडेर फिल्ड रिपोर्टिङ गर्नु परेको उहाँले बताउनुभयो । स्थानीय पत्रपत्रिका र पत्रकारहरुको संख्या पनि थोरै थियो । 

झापामा पत्रकारिताको पहिलो अभ्यास गर्ने ऐतिहासिक व्यक्ति स्व. श्यामकृष्ण उपाध्याय हुनुहुन्थ्यो । उहाँले वि.सं. २०१० मा पहिलो साप्ताहिक पत्रिका ‘केटो’ र २०२१ सालमा दोस्रो पत्रिका ‘युवक’ प्रकाशित गर्नु भएको थियो । पत्रकार छेत्रीले स्व. श्यामकृष्ण उपाध्यायलाई गुरु मानेर ‘युवक’बाट पत्रकारिता थालनी गर्नुभयो । उपाध्यायले वि.सं. २०२७ बाट ‘आलोक’ नामक अर्को साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गर्नुभयो । ‘आलोक’मा छेत्री लामो समय कार्यरत हुनुभयो । 

पञ्चायतकालमा भद्रपुर झापाको प्रशासनिक र राजनीतिक सदरमुकाम मात्र नभएर पत्रकारिता र साहित्यको समेत केन्द्रविन्दु थियो । अधिकांश पत्रपत्रिका भद्रपुरबाटै प्रकाशित हुन्थे । 

वि.सं. २०३० मा भद्रपुरबाट चुडामणि रेग्मीले ‘युगज्ञान’ नामक साप्ताहिक पत्रिका सुरु गर्नुभयो । तर, रेग्मी मेची क्याम्पसको प्राध्यापक समेत रहनु भएको हुँदा प्रशासनले उहाँलाई पत्रिकाको सम्पादक बन्न विभिन्न बाधा व्यवधान खडा गर्यो । त्यहीबेला छेत्रीले ‘युगज्ञान’को सम्पादक बनेर पत्रकारितालाई अघि बढाउनुभयो । 

उहाँले पञ्चायतकालीन काठमाडौंको ‘नयाँ सन्देश’, ‘जनमञ्च’, ‘विमर्श’ लगायतका लोकप्रिय र प्रजातान्त्रिक धारका पत्रपत्रिकामा समाचारदाता बनेर काम गर्नुभयो । निर्दलीय कालका नरोकिएको उहाँको पत्रकारिता यात्रा २०४६ सालमा प्रजातन्त्र बहालीपछि झन् उर्वर बनेर अघि बढ्यो ।

वि.सं. २०४९ देखि २०५२ सम्म गोरखापत्र दैनिकमा झापा समाचारदाता बन्नु भएको उहाँले त्यसपछि गृहजिल्लामै नयाँ पत्रपत्रिका स्थापना गरेर नेतृत्व गर्नुभयो । वि.सं. २०५२ सालमा उहाँकै सम्पादकत्वमा ‘पूर्वाञ्चल दैनिक’को प्रकाशन आरम्भ भयो । विर्तामोडबाट प्रकाशित ‘अर्जुनधारा दैनिक’को उहाँ संस्थापक प्रधान सम्पादक हुनुहुन्थ्यो । भद्रपुरको पहिलो रेडियो ‘नागरिक एफएम’को उहाँ संस्थापक प्रबन्ध सम्पादक हुनुहुन्थ्यो । उहाँले राजधानीबाट प्रकाशित ‘अन्नपूर्ण पोस्ट’को समेत झापा समाचारदाता भएर कार्य गर्नुभयो ।

हाल भद्रपुरबाट उहाँकै प्रधान सम्पादकत्वमा ‘नयाँ सन्दर्भ साप्ताहिक’को नियमित प्रकाशन भइरहेको छ । स्थानीय पत्रिकासँगै उहाँ हाल काठमाडौंको अंग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’मा कार्यरत हुनुहुन्छ ।


पत्रकारिताका अथक योद्धा

समाजको ऐना मात्र नभएर पत्रकारिताले समाज रुपान्तरणको माध्यमको रुपमा पहिचान बनाएको छ । पत्रकारिता लोकतन्त्रको मानक भए तापनि विभेद्कारी बन्न नहुने उहाँको दृढ धारणा छ । पञ्चायतकालमा सत्ता पक्षधरताले प्राथमिकता पाए जस्तै अहिले राजनीतिक दलहरुको पक्षधरताले गर्दा पत्रकारिता जनमुखी बन्न नसकिरहेको उहाँको भनाई छ ।

नेपालका पुराना पत्रकारहरु हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, शिवबहादुर कार्की, रमेशनाथ पाण्डे लगायतको समकक्षी पत्रकार गोविन्दचन्द छेत्रीले वि.सं. २०३१ मा मेची अञ्चल पत्रकार संघको पहिलो सभापति बनेर पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।

उहाँ वि.सं. २०४९ मा नेपाल पत्रकार महासंघ झापाको एक कार्यकाल अध्यक्ष, २०६१ देखि ०६७ सम्म नेपाल प्रेस युनियन झापाको दुई कार्यकाल सभापति, २०६५ देखि ०६७ सम्म नेपाल पत्रकार महासंघको केन्द्रीय सल्लाहकार र २०७३ सालमा प्रेस क्लव भद्रपुरको अध्यक्ष हुनुभयो ।

पञ्चायतकालमा समेत प्रजातन्त्र वहालीका लागि पत्रकारिताको माध्यमबाट भूमिका निर्वाह गर्नु भएको छेत्रीले जनप्रतिनिधि र शिक्षकको रुपमा पनि सेवा गर्नुभयो । वि.सं. २०३८ मा भएको नगर निर्वाचनमा उहाँ प्रजातन्त्र पक्षीय उम्मेद्वार बनेर भद्रपुर नगरपञ्चायतको उपप्रधानपञ्च निर्वाचित हुनुभयो । 

“जनप्रतिनिधि र शिक्षक भएर काम गर्दा पनि मैले पत्रकारिता पेशालाई भने अक्षुण्ण राखेँ,” उहाँले भन्नुभयो–“२०३९ सालमा म कार्यवाहक प्रधानपञ्च बनेको थिएँ । त्यहीबेला वीपी कोइरालाको निधनको खबर आयो । नगर पञ्चायतमा केही सदस्यको विमति हुँदाहुँदै मैले वीपीको निधनमा शोक व्यक्त गर्न एक दिन नगरपालिका विदा गर्ने घोषणा गरेँ । धेरैले मेरो यो निर्णयलाई अविस्मरणीय मानेका छन् ।”

पत्रकारिताले परिवारको गर्जो टार्दैन भन्ने बुझ्दा बुझ्दै पनि उहाँले पेशाबाट कहिल्यै पलायन हुने सोच्नु भएन । बरु अरु पेशा समेत गरेर पत्रकारितालाई धानिरहनु भयो । वि.सं. २०२१ देखि ०२८ सम्म उहाँ भद्रपुरको शारदा माध्यमिक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । राजनीति र शिक्षण पेशामा प्रशस्त अवसर हुँदाहुँदै पनि उहाँले पत्रकारितालाई नै आजीवन पेशा बनाइरहनु भएको छ ।

पत्रकारितामा पुर्याएको योगदानको कदर स्वरुप संघ संस्थाहरुबाट उहाँलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ । त्यसो त पत्रकारिताकै कारण सत्ताधारीहरुले उहाँलाई हिरासतमा राखेका छन् भने मुद्धा लगाएका छन् ।

“२०२५ सालतिर झापामा एसपी शैलेन्द्र काण्ड मच्चियो । भद्रपुरमा सरकारविरोधी जनप्रर्शन चर्कियो,” उहाँले पुरानो घटना सम्झिदै भन्नुभयो–“अञ्चलाधीश मनमोहन मिश्रको आदेशले मलाई पक्राउ गरियो । अञ्चलाधीश र जिल्ला प्रहरी कार्यालयमा वयान दिनु पर्यो । त्यसबेला पञ्चायतको विरोध गरेको आरोपमा सिधै जेल पठाउने चलन थियो ।”

युगज्ञान साप्ताहिकको सम्पादक रहेको बेला ‘जिल्ला पञ्चायत सदस्य मोहनलाल अग्रवाल फरार’ भएको भन्ने समाचार प्रशासनले झुठो जानकारी दिएर प्रकाशित गर्न लगाएको थियो । त्यसको खण्डन छाप्दा अञ्चलाधीशले झुठो मुद्धा लगाएर उहाँलाई एक महिनासम्म तारिख धाउन बाध्य बनाए । 

२०६२/०६३ को दोस्रो जनान्दोलनका बेला सत्ता हत्याउने माघ–१९ को शाही कदमको विरोधमा नेपाल पत्रकार महासंघ झापाको आयोजनामा चन्द्रगढीमा प्रदर्शन गर्दा उहाँसमेत दर्जनौं पत्रकारलाई तत्कालीन शाही सरकारले पक्राउ परेर एक दिन हिरासतमा राखेको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले बताउनुभयो ।

छेत्रीले कोशी प्रदेश पत्रकारिता पुरस्कार, श्यामकृष्ण स्मृति पत्रकारिता पुरस्कार, एसएल शर्मा स्मृति पत्रकारिता पुरस्कार, ओमसाई पाथिभरा स्वास्थ्य पत्रकारिता पुरस्कार, आर्थिक पत्रकारिता पुरस्कार, भद्रपुर नगर पत्रकारिता पुरस्कार, मोतीराम पत्रकारिता पुरस्कार लगायतका दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसक्नु भएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।