१८ वैशाख २०८१, मङ्गलवार

काँकरभिट्टाका संस्थापक बुद्धिनाथ पौडेलको निधन

२८ चैत २०८०, बुधवार
Image

मेचीनगर, २८ चैत । काँकरभिट्टामा शिक्षा, स्वास्थ्य, यातायात, वाणिज्य लगायतका विभिन्न विकास निर्माणको अगुवा समाजसेवी बुद्धिनाथ पौडेलको आज ७६ वर्षको उमेरमा निधन भएको छ ।

वि.सं. २००४ साउन २८ गते जन्मनु भएको उहाँ मेचीनगर–६ काँकरभिट्टा निवासी हुनुहुन्थ्यो । गए राति २ बजे अचानक उहाँ अस्वस्थ हुनुभएको थियो । 

काँकरभिट्टाका संस्थापकको रुपमा सम्मानित उहाँले काँकरभिट्टा मावि, काँकरभिट्टा क्याम्पस, मेची बस व्यवसायी संघ, काँकरभिट्टा वाणिज्य संघ, काँकरभिट्टा खानेपानी उपभोक्ता समिति, मेची सामुदायिक सेवा केन्द्र लगायतका दर्जनौं संस्था स्थापना गर्दै त्यसको लामो समय कुशलतापूर्वक नेतृत्व समेत गर्नु भएको थियो ।

अहिले निजी निवासमै उहाँको पार्थिव शरीर राखिएको छ । उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने राजनीतिक दलका नेता, जनप्रतिनिधि, सामाजिक अगुवा लगायत आउने क्रम जारी रहेको उहाँको छिमेकी समेत रहनु भएको पत्रकार सन्तोष आचार्यले जानकारी दिनुभयो । 

नेकपा एमालेका पुराना नेता पौडेलले काँकरभिट्टामा एमालेको संगठन विस्तारमा ठूलो योगदान पुर्याउनु भएको र एमालेको काँकरभिटस्थित क्षेत्रीय पार्टी कार्यालयको उहाँ जग्गादाता रहेको आचार्यले जानकारी दिनुभयो । 

उहाँको पत्नी शोभाकुमारी पौडेल, छोरा ३ जना कृष्ण, कमल र मनोज पौडेल छन् भने छोरीहरु २ जना विष्णु र रञ्जना हुनुहुन्छ ।

आजै दिउँसो २ बजे मेची घाटमा उहाँको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।