१८ वैशाख २०८१, मङ्गलवार

मन्दिर बनाउन अमेरिकामा महापुराण, उर्लियो भक्तजनको सागर

२८ चैत २०८०, बुधवार
Image

टेक्सास (अमेरिका), २८ चैत । नेपालीहरूको अत्यधिक बसोवास रहेको अमेरिकाको टेक्सास राज्यको डालस फोर्टवर्थ क्षेत्रमा श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ शुरु भएको छ । 

अप्रिल ९ तारिखमा सुरु भई १७ अप्रिलमा सम्पन्न हुने महायज्ञमा कम्तीमा ५० हजार भक्तजन सहभागी हुने आयोजक नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी) टेक्सासले अपेक्षा गरेको छ । 

टेक्सासको युलेसमा पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माण सहयोगार्थ आयोजित महायज्ञबाट करिब ५० लाख अमेरिकी डलर सहयोग संकलन हुने आयोजक पक्षले अपेक्षा गरेको छ । 

आयोजकका अनुसार उक्त परियोजना पूरा हुन एक करोड अमेरिकी डलर खर्च लाग्ने छ । आयोजक केन्द्रले अप्रिल ७, २०२४ आइतबार गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यसमिति अध्यक्ष सीता बस्नेत सापकोटाले महायज्ञमा करिब दुई लाख डलर खर्च हुने पनि जानकारी दिइन् । 

उनले भनिन्, ‘यो सँगै टेक्सासको डालासमा हिन्दु र बौद्ध समुदायको एउटा महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदा निर्माण हुनेछ ।’

अमेरिकाको टेक्सास राज्यमा मात्र करिब १ लाख २५ हजार नेपालीको बसोबास रहेको अनुमान छ । महायज्ञमा व्रतबन्ध गर्न इच्छुकहरूको व्रतबन्धको पनि व्यवस्था गरिएको छ । 

महायज्ञ स्थल आसपासमा महायज्ञ अवधिरका लागि कम्तीमा ११ सय सवारीसाधन पार्किङको व्यवस्था मिलाउनुका साथै पार्किङस्थलबाट महायज्ञस्थलसम्म आवतजावतका लागि निःशुल्क ‘सटल’को व्यवस्था मिलाइएको सो कार्यक्रममार्फत जानकारी दिइयो । 

महायज्ञमा आउने भक्तजनहरूका टेक्सास नेप्लिज मेडिकल एसोसिएसनद्वारा सञ्चालित हिमालय हेल्थ क्लिनिकको तर्फबाट निःशुल्क स्वास्थ्य सेवाका उपलब्ध गराउने सो पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । यसैगरी, सो महायज्ञमा सहभागी हुनका लागि अनलाइनमार्फत आफ्नो उपस्थिति दर्ता गर्न सकिने जानकारी दिइएको थियो ।  

महायज्ञमा वाचक पण्डित दीनबनन्धु पोखरेल रहनेछन् । महायज्ञको पहिलो दिन ९ अप्रिलमा १ हजार ८ कलश सहितको कलशयात्रा गरिएको छ ।


लेखकको बारेमा
Image
गोपाल गड्तौला

हाल अमेरिकाको टेक्सासमा बसोबास गरिरहनु भएको गोपाल गड्तौला हिमाल खबर म्यागेजिनमा लामो समयदेखि कार्यरत एवम् खोजमूलक पत्रकारितामा रुचि राख्ने झापाका स्थापित पत्रकार हुनुहुन्छ ।