२० वैशाख २०८१, बिहिवार

मेचीनगरमा राजमार्गको रुख काटेको ठाउँबाट निस्कियो अजिंगर

३० चैत २०८०, शुक्रवार
Image

मेचीनगर, ३० बैशाख । मेचीनगरमा आज अर्को अजिंगर भेटिएको छ । 

चरा तथा बन्यजन्तु खोजकर्ता देबेन्द्र खरेलका अनुसार मेचीनगर–७ को जोरसिमल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग नजिकै ७ फिट ९ इञ्च लामो र ६ किलो ६०० ग्राम तौलको अजिंगर भेटिएको हो ।

एसियाली राजमार्ग निर्माणका लागि सडक छेउका रुख काटेर ग्राउन्ड क्लियरिङ गर्ने क्रममा विहान ८ बजेतिर उक्त अजिंगर देखिए पछि उद्धारकर्ता खरेल लगायतको टोलीलाई बोलाइएको थियो ।

अजिंगरलाई त्यहाँबाट उद्धार गरेर खरेल नेतृत्वको टोलीले बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक बनमा सकुशल छाडिदिएको छ ।

केही दिन अघि मेचीनगर–७ कै सतिघट्टा क्षेत्रमा यस्तै अजिंगर फेला परेको थियो । त्यसलाई पनि खरेलकै टोलीले उद्धार गरेर पाँचपोखरी लगेर छाडिदिएको थियो ।

उद्धार टोलीमा सर्प उद्धारकर्मी मुन्ना कार्कीको उल्लेख्य भूमिका रहेको खरेलले बताउनुभयो ।