१८ वैशाख २०८१, मङ्गलवार

शिक्षासेवी पुहाँतु चौधरीको शालिक अनावरण

२ वैशाख २०८१, आइतवार
Image

झापा, २ बैशाख । पञ्चायतकालका चर्चित जनप्रतिनिधि पुहाँतु चौधरीका बारेमा समाजमा अनेक किस्सा बनेका छन् । भुइँमान्छेका समस्या निर्धक्क मुखरित गर्ने सोझोपन र सरल जीवन जिउने शैलीका कारण राजनीतिक वृत्तमा अहिले पनि उहाँको नाम सहानुभूतियुक्त दृष्टान्तको रुपमा लिइने गरिन्छ ।

पञ्चायती शासन व्यवस्थामा तत्कालीन चन्द्रगढी गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै जनताको मन र मत दुबै जितेर तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य (विधायक) निर्वाचित चौधरीको अर्धकदको शालिक हालै भद्रपुर नगरपालिका वडा नं. ९ मा स्थापना गरिएको छ । 

शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएवापत उहाँको शालिक स्थानीय पुहाँतु जनज्योति माध्यमिक विद्यालयको परिसरमा स्थापना गरिएको हो । वि.सं. २००८ सालमा पठनपाठन सुरु भएको उक्त विद्यालय स्थापना गर्न चौधरीले आफ्नो भोगचलनमा रहेको १५ बिगाहा जग्गा प्रदान गर्नु भएको उहाँका जेठो छोरा दुर्गा चौधरीले बताउनुभयो । 

जग्गादाता चौधरीले चन्द्रगढीको पूर्वोत्तर ग्रामीण क्षेत्रका बालबालिकाले आफ्नै ठाउँमा शिक्षा लिन पाउन् भन्ने मनसायले विद्यालयलाई जग्गादान गरेपछि उहाँकै नाममा विद्यालयको नामाकरण भएको थियो । त्यही विद्यालय हाल पुहाँतु जनज्योति माध्यमिक विद्यालयको रुपमा प्रसिद्ध छ ।

वि.सं. १९७४ चैत २९ गते चन्द्रगढीमा जन्मनु भएको उहाँको २०५२ पुस १७ गते ७८ वर्षको उमेरमा निधन भएको थियो । यही २०८० चैत २९ गते नेपाली कांग्रेसका महामन्त्री तथा झापा–१ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले चौधरीको शालिकको अनावरण गर्नुभयो ।

उहाँ २०१८ देखि २०३७ सम्म २० वर्ष (चार कार्यकाल) चन्द्रगढी गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभयो । २०३८ देखि २०४३ सम्म एक कार्यकाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनुभयो । झापा जस्तो शिक्षित र राजनीतिक आन्दोलनको केन्द्रको रुपमा परिचित जिल्लामा अन्य उम्मेद्वारहरुलाई चुनावी मैदानमा पराजित गरेपछि निरक्षर चौधरीको राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा चुलिएको थियो ।

राजनीतिमा कसैको प्रलोभनमा नफँस्ने इमानदार नेता र असल शिक्षासेवीको रुपमा चौधरीलाई भावी पुस्ताले सम्झिरहने पुहाँतु जनज्योति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक प्रेमप्रसाद भट्टराई बताउनुहुन्छ । २०३८ सालको रापंस चुनावमा झापाबाट ३४ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका भए तापनि उहाँ २० हजार ६०१ मत प्राप्त गरी गोपालचन्द्र सिंह राजबंशीसगै बिजयी हुुनु भएको थियो । उहाँको चुनाव चिह्न हाँस थियो ।

“निष्कलंक र बेइमान नगर्ने नेताको रुपमा उहाँ परिचित हुनुहुन्थ्यो,” पूर्वप्रअ भट्टराई भन्नुहुन्छ–“गाउँ पञ्चायतमा त उहाँ उठेपछि कहिल्यै हार्नु भएन । उहाँले स्कुलमा जग्गादान मात्र गर्नु भएन, स्कुल सञ्चालनका लागि जिन्सी चन्दा उठाउन बोरा र झोला बोकेर गाउँ गाउँ हिँड्नुभयो ।”

मुरै बाँड्दै गोरु गाडा चढेर झापा जिल्लाभर मत मागेको आफ्नै आँखाले देखेको चर्चा गर्दै पूर्वप्रअ भट्टराईले उहाँ जस्तो सादा जीवन र इमानी व्यवहार गर्ने नेताको आज पनि खाँचो रहेको बताउनुभयो ।   

नेपाल सरकारका उपसचिव सागर मिश्रले पुहाँतु चौधरीले स्थापना गरेका विद्यालयबाट एसएलसी तहको अध्ययन पूरा गरेको बताउँदै शालिक निर्माणले उहाँको योगदानको कदर भएको धारणा व्यक्त गर्नुभयो । स्व. चौधरीको स्मरण गर्दै मिश्र भन्नुहुन्छ–“मलाई अहिले पनि राम्ररी याद छ । उहाँलाई लेख्न र पढ्न आउँदैनथ्यो । उहाँ निरक्षर हुनुहुन्थ्यो । तर उहाँले कागजातहरुमा दस्तखत गर्दा पु र चौ गरी दुईवटा अक्षर चाहिँ लेख्नुहुन्थ्यो ।”

शिक्षासेवी चौधरीको शालिक उहाँका छोराहरुको निजी लगानीमा बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले बताउनुभयो । उहाँका दुई छोराहरु दुर्गा र पदम चौधरीमध्ये पदमको केही वर्ष अघि मृत्यु भयो । जेठा छोरा दुर्गा चौधरीले नै आफ्ना वुवाले जग्गादान दिएको विद्यालयमा आफ्नै लगानीमा शालिक राख्ने प्रस्ताव विद्यालयमा ल्याउनु भएको विद्यालयले जनाएको छ । शालिक निर्माणमा रु. नौ लाख खर्च भएको छ ।