१८ वैशाख २०८१, मङ्गलवार

शुद्धिकरणका विषयमा नारी सञ्चार गृहले गरायो ध्यानाकर्षण

३ वैशाख २०८१, सोमवार
Image

बिर्तामोड, ३ बैशाख । झापाका पत्रकार महिलाहरुले सदस्यता शुद्धिकरण गर्दा शुद्धिकरणको मर्म र महिलाको प्राकृतिक जिम्मेवारीका विषयमा ध्यान दिन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको ध्यानाकर्षण गराएका छन् । 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको सम्मानमा नारी सञ्चार गृह झापाले आज आयोजना गरेको कार्यक्रममा उक्त ध्यानाकर्षण गरिएको हो ।

नारी सञ्चार गृह झापाका पत्रकार महिलाहरुको साझा संस्था हो । 

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष पोखरेलको आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पोखरेलले महिलाले पत्रकारितामा टिकिरहनका लागि प्रविधि पत्रकारिता थप प्रभावकारी हुने बताए । 

प्रविधिका कारण पनि महिलाहरुका लागि पत्रकारितामा चुनौति बढ्दै गएको बताउँदै अध्यक्ष पोखरेलले भने–‘किचनमा खाना बनाउँदा बनाउँदै मोवायलबाटै प्रकाशन ÷प्रशारण गर्न सक्ने क्षमताको विकास गर्न आवश्यक भइसकेको छ ।’ कोभिडपछि पत्रकारितामा महिलाहरुको उपस्थिति कमजोर देखिएको उनको भनाई थियो ।

सरकारले ल्याउन लागेको मिडिया विधेयकमा महासंघ समावेशीतालाई प्राथमिकतामा राखेर महिला पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव पेश गरेको जानकारी दिंदै अधिकारको विषयमा अरुले कुरा उठाउँदा भन्दा आफ्नो अधिकारका लागि आफैं आवाज उठाउँदा दर्बिलो हुने सुझाव दिंदै सोही अनुसार अघि बढ्न पोखरेलले सुझाव दिए ।

महासंघको सदस्यता शुद्धिकरणको सन्दर्भमा भनाई, लेखाई र कार्यान्वयनमा जाँदा शुिद्धकरणको मर्म अनुसार हुन नसकेको हो कि भन्ने देखिएको बताउँदै अझै पनि सच्याउने ठाउँ रहेको बताए ।

सो अवसरमा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले संस्था स्थापनाको पृष्ठभूमिबारे जानकारी गराएकी थिइन् भने निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले नेपाली पत्रकारको अवस्था, नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषको उद्देश्य, औचित्य, अवस्था  बारे जानकारी दिंदै पत्रकार शुद्धिकरणका नाममा भएका छिद्रहरुबारे गम्भिर ढंगले सोचेर मात्र अन्तिम निष्कर्षमा पुग्नुपर्नेमा जोड दिइन् ।

नारी सञ्चार गृहकी अध्यक्ष गौतमले महिला पत्रकारको क्षमता अभिबृद्धिका लागि महासंघले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिंदै बैबाहिक जीवनपछि महिलाले पूरा गर्नुपर्ने प्राकृतिक जिम्मेवारीका क्रममा ३ वर्षसम्म पूर्ण निस्क्रिय नभएका महिला पत्रकारलाई शुद्धिकरणको कसीमा नलैजान ध्यानाकर्षण गराइन् ।

नारी सञ्चार गृह झापाकी सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत दीपा पोखरेलले गरेकी थिइन् ।