१८ वैशाख २०८१, मङ्गलवार

पूर्वीनाकामा तस्करीलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

४ वैशाख २०८१, मङ्गलवार
Image

झापा, ४ वैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने तस्करीलाई निरुत्साहित गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । 

मेचीनगर नगरपालिकाद्वारा सीमा सुरक्षालगायत समसामयिक विषयमा आज आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुल्ला सीमानाको फाइदा उठाएर तस्करी नगर्न आग्रह गर्नुभएको हो । उहाँले तस्करीको बढोत्तरीका कारण राज्यले राजस्व गुमाइरहेको विषयमा चिन्ता प्रकट गर्नुभयो ।

उहाँले नेपालमा उत्पादित कृषिजन्य सामग्रीको बजारीकरणको लागि उद्योग बाणिज्य संघ, अन्य संघसंस्था र जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले कोभिड महामारीपछि पूर्वी नाकाबाट ठप्प भएको तेस्रो देशको पर्यटक आवागमन खुलाउन नेपाल सरकार समक्ष अनुरोध गर्ने समेत बताउनुभयो । 

“मन्त्री फेरबदल भइरहे पनि नेपालको तर्फबाट पर्यटन आगमनलाई सहज बनाउन भारत सरकारसँग कुराको उठान भइरहेको छ”, उहाँले भन्नुभयो, “तर भारतीय तर्फबाट सन्तोषजक जवाफ आएको छैन । कुटनीतिक ढंगले समस्या समाधान गर्न नेपाल सरकार लागेको छ ।”

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले पूर्वी नाका काँकरभिट्टा हुने कारोवार, पर्यटकलाई सहज नेपाल प्रवेश गराउन गर्नुपर्ने पहल, भन्सारभित्रै अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय ल्याब, बंगलादेशका पर्यटकलाई काँकरभिट्टाबाट एराइभल भिसाको व्यवस्थालगायतका १५ बुँदे माग राखेर ध्यानाकर्षण पत्र समेत सभामुख घिमिरेलाई बुझाउनु भएको छ । 

कार्यक्रममा मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले आसामबाट पूर्वी नाका भएर आउने कोइला विहार हुँदै अन्य नाकाबाट नेपाल प्रवेश हुँदा यहाँको राजस्व घटेको बताउनुभयो । उहाँले बंगलादेशसँगको व्यापार र पर्यटक आगमन बढाउनका लागि पहल गर्न सभामुख समक्ष आग्रह गर्नुभयो । 

कार्यक्रममा सहकारीकर्मी रामचन्द्र उप्रेती, नगरपालिकाका पूर्व प्रमुख विमल आचार्य, उद्योग बाणिज्य संघका पूर्व केन्द्रीय सदस्य केशव पाण्डे, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, सुपारी व्यवसायी निलकण्ठ तिवारी, मेची उद्योग बाणिज्य संघका महासचिव दिनेश शाक्यलगायतले कोभिडपछि पूर्वीनाकाबाट आउने पर्यटक आगमन रोकिएको, कृषिजन्य वस्तुको निकासीको समस्यालगायतका विषयमा सभामुख घिमिरेको ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा उपप्रमुख मीना उप्रेतीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।