२३ वैशाख २०८१, आइतवार

कीर्तिपुर बर्न अस्पताललाई एक करोड सहयोग

१४ वैशाख २०८१, शुक्रवार
Image

झापा, १४ बैशाख । कीर्तिपुर स्थित नेपाल क्लिफ एण्ड वर्न सेन्टरलाई अमेरिका नेपाल मेडिकल फाउण्डेसनले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ ।

देशकै जलनको एकमात्र अस्पतालको सघन उपचार कक्षमा आवश्यक उपकरण खरिदको लागि उक्त सहयोग गरिएको फाउण्डेसनका पुर्व अध्यक्ष सन्तोष सापकोटाले बताए ।

उनले नेपाल सरकारको समाज कल्याण परिषदले गत साता यो परियोजना स्वीकृत गरेपछि अमेरिकाबाट उक्त सहयोग पठाइएको जानकारी दिए । उक्त रकम एकवर्ष अघि फाउण्डेसनको वार्षिक साधारण सभामा सहयोग स्वरुप संकलन गरेको थियो । 

नेपालमा जलनबाट निम्न र मध्यम आय भएका परिवारहरु बढि पिडित भएको यसको उपचारमा संलग्नहरुको भनाइ रहेको छ । त्यस्ता परिवारका सदस्यहरु प्राय एकै ठाँउमा भेला भएर रहने, नानीहरु आगोको पहुँचमा पुग्ने, बिभिन्न बहानामा महिलालाई जलाइने, बनमा लाग्ने डढेलो आदि जलन समस्याका मुख्य कारण मानिन्छन् ।  

एक तथ्यांक अनुसार नेपालमा वार्षिक करिव ६० हजार मानिसहरु जलनबाट घाइते हुने गरेका छन्, जसमध्ये दुईहजार सम्मको ज्यान जाने गरेको छ । जलनको प्रतिशत ४० भन्दा धेरै हुनु, ढिलो अस्पताल पुर्याउनु, अस्पतालमा उपकरण र दक्ष चिकित्सक नहुनु यसको मृत्युका कारण रहेको चिकित्सकहरु बताँउछन् । 

विश्वमा हरेक वर्ष सरदर एककरोड १० लाख मानिस जनलबाट पिडित हुनेगरेको र ति मध्ये करिव ३ लाखको ज्यान जाने गरेको अमेरिकाको न्यासनल लाइब्रेरी अफ मेडिसिनले जनाएको छ ।

लेखकको बारेमा
Image
गोपाल गड्तौला

हाल अमेरिकाको टेक्सासमा बसोबास गरिरहनु भएको गोपाल गड्तौला हिमाल खबर म्यागेजिनमा लामो समयदेखि कार्यरत एवम् खोजमूलक पत्रकारितामा रुचि राख्ने झापाका स्थापित पत्रकार हुनुहुन्छ ।