६ पुष २०८१, शनिवार

यात्रा संस्मरण

सिन्जेमा पोखरीको रोमाञ्चित पदयात्रा

१५ वैशाख २०८१, शनिवार
Image

विगत केही वर्षदेखि हिमाली क्षेत्रको पदयात्रा हाम्रो रुचिको विषय बनेको छ । हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, पर्यावरण, जीवनशैली, संस्कृति र मानिसका जीवन भोगाइ नजिकैबाट अनुभूति गर्न हामी हिमाली क्षेत्रको पदयात्रामा निस्कने गरेका छौँ । हिमाली क्षेत्रको पदयात्रा कठिन हुन्छ तर त्यो कठिनाइभित्रको आनन्द दिव्य हुन्छ । हिमाल सुन्दर हुन्छ । हिमाल हेर्दै हिँड्नुको आनन्द अलौकिक हुन्छ । तर, कठिन उकालो बाटो र अक्सिजनको कमीले गर्दा हिमाल हेर्दाहेर्दै काल जस्तो देखिन्छ । त्यसमाथि पनि मौसम बिग्रियो भने त कहालि लाग्दो नै हुन्छ । प्रत्येक पटक हिमाली क्षेत्रको पदयात्रापछि बाँचेर आएँ जस्तो लाग्छ । तर, फेरि जाऊँ जाऊँ त लागिहाल्छ । साँच्चै हिमालको सुन्दरताले हामीलाई प्रत्येक वर्ष तानिरहन्छ । त्यही आकर्षणले हामी जस्तै कठिनाइ भए पनि पदयात्रामा निस्कने गर्छौँ ।

पोखरी जाने हिउँको उकालो बाटो 

विद्यालय तहको शैक्षिक वर्षको अन्त्य हाम्रा लागि घुम्न उपयुक्त समय हुन्छ । मौसमका दृष्टिले पनि यो समय हिमाली क्षेत्र भ्रमणका लागि अनुकूल हुन्छ । विगतका वर्षहरूमा हामीले गण्डकी प्रदेश र कर्नाली प्रदेशका हिमाली क्षेत्र पदयात्रा गरेका थियौँ । सुदूर पूर्व मेचीनगर नगरपालिकाका स्थायी बासिन्दा हामी कोशी प्रदेशका हिमाली क्षेत्रमा पदयात्रा गरेका थिएनौँ । यसपालि हामीले ताप्लेजुङ जिल्लाको हिमाली क्षेत्र पदयात्रा गर्ने तय गरेका थियौँ । यात्रा गर्ने विषयमा कुरा हुँदा हामीले तिम्बुङ पोखरी जाने तय गरेका थियौँ । सबै कुरा बुझ्ने काम पनि भएको थियो । ताप्लेजुङका राजनीतिकर्मी खेलप्रसाद बुढाथोकी हाम्रा प्रदीप भाइका काका हुनुहुन्छ । उहाँसँग भाइले कुरा गर्दा तिम्बुङ पोखरी साउन भदौतिर उपयुक्त हुन्छ । अहिले त सिन्जेमा पोखरी भ्रमणका लागि राम्रो हुन्छ भन्नुभएछ । रुद्र सरले यसबारेमा बुझ्नु भएछ । पूर्वी ब्लुज युट्युब च्यानलका घुमन्ते भाइ सचिन न्यौपानेले बनाएको सिन्जेमा यात्राको भिडियो मैले हेरेको थिएँ । रुद्र सरले पनि हेर्नु भएछ । त्यसपछि रुद्र सरले सिन्जेमा पोखरी हाम्रो यात्रा हुने सुनाउनु भयो ।

सिन्जेमा पोखरी 

यसपालिको यात्रामा हामीले इलाम, पाँचथर र ताप्लेजुङका प्राविधिक शिक्षालय अवलोकन गर्ने कार्यक्रम पनि राखेका थियौँ ।२०८० चैतको २७ र २८ दुई दिन इलाम, पाँचथर र ताप्लेजुङका प्राविधिक शिक्षालय अवलोकन गरेका थियौँ ।चैत २९ गतेबाट हामीले हिमाली क्षेत्रको पदयात्राका लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका अन्तर्गत पर्ने सिन्जेमा पोखरीको यात्रा सुरु गर्‍यौँ ।ताप्लेजुङबाट ओलाङचुङ गोला हुँदै सिन्जेमा पोखरी पुग्नुपर्थ्यो।

ओलाङचुङ गोला 

ओलाङचुङ गोला अत्यन्तै कठिन र दुर्गम स्थानको रुपमा मैले बाल्यकालदेखि नै बुझेको थिएँ। प्रशासनिक क्षेत्रमा रहेका व्यक्तिहरूलाई सजाय गर्नुपर्‍यो भने ओलाङचुङ गोला सरुवा गर्नुपर्छ भन्ने सानामा सुनेको थिएँ। यस्तो कुरा नेपालको पूर्वी क्षेत्रमा सबैले सुनेकै हुन्छन्। अर्थात् ओलाङचुङ गोला भौगोलिक विकटता र दुर्गमका कारण सजायको पर्याय बनेको थियो२०६८ सालमा हाम्रा केही साथीहरू ओलाङचुङ गोला भ्रमणमा गएका थिए। ताप्लेजुङबाट तीन दिन हिँडेर उनीहरू गोला पुगेका थिए। उनीहरूको गोला यात्रा वर्णन अत्यन्तै साहसिक र कौतुहललाग्दो थियो। बाटो भुलेर ओढारमा बास बसेको उनीहरु सुनाउँथे।त्यो यात्राका एक जना सहभागी धरु सर (धर्मानन्द खनाल) यसपालि हामीसँगै यात्रामा हुनुहुन्थ्यो ।

"हामी अहिले वन्यजीवनलाई जति ध्यान दिनुपर्ने हो त्यति दिन पाउँदैनौंकिनभने हामीले हेर्न चाहेको सबैभन्दा महत्त्वपूर्ण कुरा यो बाहिरी डाँडाभन्दा धेरै पर उभिएको हिमाल हो। उष्णप्रदेशीय जंगल त संसारका अरू धेरै ठाउँमा पनि देख्न पाइहालिन्छ। हिमाललाई यति भव्य रूपमा देख्न पाइने ठाउँ पृथ्वीतलभरिमा यही एउटा मात्र हो। त्यसैले हामी रोकिँदैनौं, डाँडा पार गर्छौँ र मैदानभन्दा टाढा, हिमालयको मुख्य शृंखलाको पाटोको उत्तर फर्किएको भिरालोमा, पर्वतको काँधमा पुग्छौं।" (सर फ्रान्सिस योङहस्बेन्ड, अनु. मोहन मैनाली-हिमाल खबर २०७७ चैत ७)

सन् १९२१ मा प्रकाशित फ्रान्सिस योङहस्बेन्डको 'द हार्ट अफ नेचरअर द क्वेस्ट फर नेचरल ब्युटी' नामक पुस्तकको च्याप्टर ६ मा कञ्चनजङ्घा शीर्षकमा उपर्युक्त गद्यांशले कञ्चनजङ्घा क्षेत्रको प्राकृतिक सुन्दरता वर्णन गरेको छ । निबन्धमा वर्णन भएको त्यही कठिन ओलाङचुङ गोला हुँदै ४७०० मिटर उचाइमा रहेको सिन्जेमा पोखरी पदयात्रा गर्ने हामीले तय गरेका थियौं हाम्रो समूहमा धरु सर (६५) पुष्पराज पौडेल (५६) रुद्र मैनाली (४३) प्रदीप बुढाथोकी (२८) र म (४३) थियौँ । हामीलाई ताप्लेजुङसम्म लैजाने सारथि बासु पाण्डे थिए।ताप्लेजुङबाट सिन्जेमासम्मको यात्राका लागि प्रदीपका काकाखेलप्रसाद बुढाथोकी परागले सहजीकरण गरिदिनुभएको थियो। बासु भाइ र गाडीलाई ताप्लेजुङमा छोडेर हामी अर्को गाडीमा लाग्नुपर्ने थियो।

यात्राका बारेमा तयारी गरिरहँदा हामीले गोला गाडी नपुग्ने सूचना पाएका थियौँ । गाडी छोडेर करिब ३ घण्टा जति हिँड्नु पर्ने बुझेका थियौँ । संयोग नै मान्नु पर्छ चैत २७ गते गोला गाडी पुगेको र चालकलाई गोलावासीले स्वागत गरेको खबर हामीले फिदिममा पाएका थियौँ ।ताप्लेजुङबाट ओलाङचुङ गोला गाडीमा जाने प्रथम यात्री हामी नै थियौँ। यो कुरा हामीलाई चालक रबिन गुरुङले बताए ।पाथिभरा दर्शन, चाइना बोर्डर लेखेको महेन्द्रा गाडीबाट हाम्रो यात्रा प्रारम्भ भयो हामीसँगै यात्रा गर्ने ताप्लेजुङका एकजना भाइ र दुईजना बहिनी पनि थिएताप्लेजुङ सदरमुकाम फुङलिङबाट हामी उत्तरतर्फ हाङ्देवातिर लाग्यौँ। कच्ची बाटो भएपनि अनुभवी चालक रविनले बडो आत्मविश्वासका साथ हामीलाई यात्रा गराए । धरु सरले पैदल यात्रा गरेका कुराहरु हामीलाई सुनाउँदै हुनुहुन्थ्यो। निरन्तर ओरालो यात्रा गर्दै हामी तमोर नदी किनार पुग्यौँ। बिहानको खाना हामीले सिँवा बजारमा खायौं। बाटाबाट मास्तिर दुई जना पुरुष र महिला बारी सफा गर्दै थिए । उनीहरुले हामीलाई कहाँ जाने भनेर सोधे । हामीले बतायौं । पुरुषले आज केपी ओली पनि गोला आउँदैछन् भने । अघिल्लो दिन साँझ बोक्न बिर्सेका केही सामान किन्न फुङलिङ बजार डुल्दा एक ठाउँ केपी ओलीबाट पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रमको ब्यानर देखेका थियौँ ।

सिँवा बजारबाट इखाबु हुँदै टापेथोक पुग्यौँ । टापेथोक फक्ताङलुङ गाउँपालिकाको कार्यालय भएको स्थान रहेछ । तमोर नदीमाथि पुल रहेछ, त्यस ठाउँलाई रानीपुल भन्दारहेछन् । पुल तरेर हामी लेलेप, इलाडाँडा हुँदै सुकेपानी पुग्यौँ । सुकेपानीमा तमोर तर्नुपर्थ्यो तर त्यहाँ पुल थिएन । गडगडाएर आएको तमोर नदीमा ठुल्ठुला ढुङ्गा थिए । त्यहीँबाट गाडी तर्छ भन्ने कुरा पारिपट्टिको बाटो हेरेर ठम्याउन सकिन्थ्यो । रविन भाइले ओरालोबाट बिस्तारै गाडी तमोरको भेलमा हाले । रोक्दै, अगाडि बढाउँदै, उचाल्दै, थेचार्दै गरेको याद छ । बाँयाबाट भेल उर्लेको छ । दायाँतिर खोला नै पहराबाट खसेको जस्तो लाग्छ । अगाडि नदी कटिसके पनि बाटामा सानो तर बेतोड भँगालो बगिरहेको छ । रुद्र सर मोबायलबाट भिडियो खिचिरहनु भएको छ । पुष्प सर हनुमान चालिसा वाचन गरिरहनु भएको छ । उहाँ मलाई भन्नुहुन्छ, "भाइ नडरा ।"हामीतमोरलाई कहिले दाहिनेपट्टि पार्दै र कहिले देब्रेपट्टि पार्दै यात्रा गरिरह्यौं। यस्तै बेलामा हेलिकप्टरको आवाज आयो । अनि पो हामीलाई सिँवामा ती पुरुषले ओली गोला आउँदैछन् भन्ने कुरा पत्यार भयो ।

राति पानी परेको हुनाले बाटोमा धुलो त थिएन तर कच्ची बाटो भएको हुनाले कतैकतै गिलो माटो देखिन्थ्यो। अगाडि बढ्दै जाँदा त्यही गिलो माटो हाम्रा लागि समस्या हुने पक्का थियो। नभन्दै तमोर किनारमा भर्खरै खनेको बाटोमा पानीले भिजाएर गिलो भएको माटोमा हाम्रो गाडी अगाडि बढ्न सकेन त्यो ठाउँ उकालो पनि थियो हामी गाडीबाट ओर्लियौँ । चालकले गाडीलाई अगाडि बढाउन कोसिस गरे तर चक्का झन् झन् भासिन थाल्यो। त्यसपछि हामीले गाडीलाई ठेलेर निकाल्ने प्रयत्न गर्‍यौँ। चक्काले खाल्डो बनाएको ठाउँमा गाडी पछाडि पो सर्न थाल्यो निकै बेरको प्रयत्नपछि हामीले गाडीलाई ठेलेरै अगाडि बढाउन सफल भयौं। त्यो ठाउँबाट करिब ३०० मिटर अगाडि हाम्रो गाडी फेरि फस्यो पहिला जस्तै निकै प्रयत्न गरेपछि गाडी बल्ल तल्ल अगाडि बढ्न सफल भयो । अब गाडीले तमोर नदी पार गर्नुपर्ने थियो। सडक बन्नुभन्दा अगाडि पैदल यात्रीहरूका लागि त्यहाँ झोलुङ्गे पुल बनाएको रहेछ। हामी पुलबाटै पारि तर्‍यौँ। चालकले गाडीलाई खोलाबाट नै पारि लगे। त्यसपछि हामी गाडीमा चढेर यात्रा गर्न थाल्यौँ ।

अगाडि बढ्दै जाँदा हल्का बलौटे बाटो भेटियो देउरालीको उकालोमा पुग्ने बेलामा हाम्रो गाडी फस्यो चालकले गाडीलाई अगाडि बढाउन कोसिस गरे तर गाडी अगाडि बढ्न सकेन त्यसपछि हामी गाडीलाई त्यहीँ छोडेर एक चरण उकालो चढ्यौँ । माथि देउरालीमा बाटो बनाउने गाडी रहेछ । त्यहाँ हामीले लगेजस्तै अरू गाडी पनि थिए। नेकपा एमालेका अध्यक्ष केपी ओली ओलाङचुङ गोलाउने कार्यक्रम रहेछ। त्यही कार्यक्रममा सहभागी हुन फक्ताङलुङ गाउँपालिका पार्टी कमिटीका मानिसहरू गएका रहेछन्। हाम्रो गाडी फसेको देखेर उनीहरू देउरालीमै बसेका रहेछन् हामी देउराली पुगेपछि बाटो बनाउने गाडी तल झर्‍यो । हाम्रो गाडी फसेको ठाउँको माटो मिलाउने र सम्याउने काम गर्‍यो ।ताप्लेजुङबाट हिँड्दा हामीले पातला लुगा लगाएका थियौँ । देउराली तिन हजार मिटरभन्दा माथि थियो । चिसो हावा चलेकाले निकै जाडो भयो । कार्यक्रमबाट फर्केका मानिसहरुसँग हामीले परिचय गर्‍यौँ । निवर्तमान गाउँपालिका अध्यक्ष पनि रहेछन् । हामी झापाबाट सिन्जेमा पोखरी हिँडेको बताउँदा छक्क पनि परे । उनीहरुले सायद हामी मैदानी भागबाट आएको र हिँड्नै बानी नभएको ठानेर होला सिन्जेमा पोखरी पुग्न नसक्ने कुरा गरे । धेरै हिउँ परेको कारण हामी हिँड्न नसक्ने उनीहरुको ठहर थियो । हामी यस विषयमा खासै बोलेनौँ । कुरा गर्दै जाँदा रुद्र सरका बुवा श्री मैनालीलाई उनीहरु चिन्दा रहेछन् । उनीहरुले ओलाङचुङ गोला गाडीमा आउने पहिलो यात्रुका रूपमा हामी बधाई पनि दिए ।

हाम्रो गाडी केही बेरमा उक्लियो । तमोर नदीको काखमा पूर्वपट्टि केही घरहरु देखिए । त्यही नै ओलाङचुङ गोला थियो । नदी किनारबाट केही उकालो चढ्ने बेलामा गाडी फेरि फस्यो । केही मानिसहरु गाडी आएको हेरिरहेका थिए । गाडी फसेपछि उनीहरु ठेल्न आए । गाडी उक्लिने छाँट देखिएन । हल्का पानी पनि परिरहेको थियो । हामी बस्ने घरका व्यक्ति गिरिजा पनि त्यहीँ आएका थिए । उनले सरहरु जाँदै गर्नु भनेपछि हामी गाडीबाट ओर्लेर उकालो लाग्यौँ । हामीलाई गाडी उक्लिनुभन्दा पनि आफू गोला पुग्न हतार थियो ।
गोला प्रवेश गर्न गेट बनाइएको रहेछ । दुईपट्टि घरहरु थिए । बिचमा बाटो ढलान गरिएको थियो । हामीलाई मान्छेहरु हेरिरहेका थिए । नमस्ते भन्दै स्वागत गरे । हामी हिँड्दै गर्दा एक जना महिलाले दुई तले घरको बरन्डाबाट हामीलाई बोलाइन् । हामीले गिरिजाको घर सोध्यौँ । उनले त्यही भएको बताइन् । उनी गिरिजाकी श्रीमती छिरिङ डोल्मा रहिछिन् । छिरिङले हामीलाई स्वागत गरिन् । हामी कोठामा वरिपरि बस्यौँ । उनले ओढ्ने लुगा दिइन् । तातो पानी दिइन् । ब्ल्याक कफी पनि दिइन् । जिउ तताउँदै हामी यात्राबारे कुराकानी गर्न थाल्यौँ । निकैबेरपछि मात्रै गिरिजा हाम्रा ब्याग लिएर आइपुगे । पानी सिमसिम परिरहेको थियो । चिसो झन् झन् बढिरहेको थियो ।भोलिको यात्रा गोलाबाट छेरको चौँरीगोठसम्म पैदल थियो । हामीले करिब ७ घण्टा हिँड्नु पर्ने अनुमान थियो । हिउँ पर्ने त पक्कै थियो । झरी धेरै पर्‍यो भने हाम्रो यात्रा प्रभावित हुनसक्थ्यो । झरी नपरोस्, बिहान सूर्योदयसँग वरिपरि हिउँ हेर्दै हिड्न पाइयोस् भन्ने कामना गर्दै साँझको खाना खाएर हामी सुत्यौँ ।

बिहान करिब ५ बजे धरुसरको बोली सुनेर हामी उठ्यौँ । उहाँले भन्नुभयो, "साथीहरु ! बाहिर हिउँ परेको छ । डाँडा सबै सेताम्मे छन् । सुन्दर दृश्य हेर्न उठ है ।"साँच्चै वरिपरि पहाडका रुखहरु त सेतो सिरक ओढे जस्ता पो देखिए । मौसम अघिल्लो दिन हामीले कामना गरे जस्तै भयो । एकछिनमा घाम लाग्यो । हिउँ टल्किन थाल्यो । खाना खाएर मात्रै हामी हिड्नु पर्ने थियो । किनकि गोलाबाट छेर पुगेपछि मात्रै खाना खान पाइन्थ्यो । करिब ८ बजे बिहानको खाना खाएर हामी छेरतर्फ लाग्यौँ । अबको हाम्रो यात्रा गिरिजाजीको निर्देशनमा हुने थियो । उनले भने, "तपाईँहरु हिँड्नुहोस् । म एकछिनपछि तपाईँहरुका सामान बोकेर आउँछु । तमोरलाई देब्रे पारेर हिँड्नुहोस् ।" हामी उनकै निर्देशनअनुसार हिँड्न थाल्यौँ । गोलाबाट मास्तिर तमोरलाई देब्रे पारेर सेताम्मे डाँडा हेर्दै हिँड्न थाल्यौँ ।

चिसो चौरी गोठमा तातो चिया पिउँदै ।

हामी एक घण्टा जति हिँडेपछि गिरिजासहित अरु ३ जना मानिसले हामीलाई भेटे । गिरिजा र एक जना भाइ हाम्रा गाइड थिए भने अरु दुई जना चाहिँ टिपताला भन्ज्याङ हिँडेका रहेछन् । तमोर वारिपारि दुबैतिर गुराँसका बोट थिए । गुराँसका फेद हिउँले ढाकेको थियो । सल्लाका रुखका हाँगामा हिउँ थुप्रिएको थियो । घामको ताप बढ्दै गएकाले हिउँ पग्लिँदै थियो । हामी प्रकृतिको सौन्दर्यपान गर्दै अगाडि बढिरह्यौँ । पुष्प सर बिस्तारै हिँड्नु हुन्छ तर निरन्तर एकनासले हिँड्नु हुन्छ । म उहाँसँगै हिँड्न थालेँ । साथीहरु निकै अगाडि पुगे । बाटो सेताम्मे देखियो । करिब ६ इन्च जति हिउँले ढाकेको रहेछ । अगाडि जाने साथीहरुले टेकेका ठाउँमा टेक्दै अगाडि बढ्यौँ । हिउँको यस्तो यात्रा हाम्रो पहिलो थियो । रमाइलो पनि मानिरहेका थियौँ तर तमोरको किनारमा यसरी हिँड्दा डराएका पनि थियौँ । 

दिउँसोको करिब १२ बजे हामीले हिउँको बाटो पार गर्‍यौँ । त्यो ठाउँ ग्रेट हिमालयन ट्रेल पर्दथ्यो । त्यसपछि तमोर किनारमा हामीले आफूले बोकेका चिया बिस्कुट खायौँ । बाटो तेर्सो थियो । ठाउँ ठाउँमा पहिरो गएकाले निकै अप्ठ्यारो पनि थियो । तमोरको किनारमा टार देखियो । त्यसलाई देउमा टार भन्दारहेछन् । त्यहाँ चौँरीगोठ थिए । देउमा टारबाट हामी तमोरलाई छोडेर पूर्वतर्फ लाग्नुपर्ने थियो । हामीसँग आइरहेका २ जना स्थानीय टिपतालातिर लागे । उनीहरुले त्यहाँबाट टिपताला पुग्न करिब ५ घण्टामा लाग्ने तर आज बाटैमा गोठमा बस्ने भन्दै हामीसँग छुट्टिए ।

अब हामीले ठाडो उकाले चढेर तेर्सो हिँड्नु पर्ने थियो । उकाले देख्नेबित्तिकै सास बढेर आउँछ हामी तराईमा बस्नेहरुको । उकालो चढ्दै जाँदा त फोक्सो नै बाहिर निस्केला जस्तो हुन्छ । पुष्प सर र रुद्र सरको त झन् हालत हुन्छ । धरु सर, प्रदीप र म चाहिँ बिस्तारै हिँडे पनि उहाँहरु भन्दा धेरै अघि पुगिसक्दा रहेछौँ । फोक्सुन्डो यात्रामा पनि उहाँहरुको गुनासो यही हुन्थ्यो कि हामीले छड्यौँ भन्ने । यसपालि पनि त्यस्तै भयो । उकालो चढेर तेस्रो लाग्दा सिन्जेमा खोला दाहिने हुन्थ्यो । हामी डर लाग्दो भिरमा पाइला मात्रै अडिने गोरेटोमा तेर्सो लाग्यौँ । चिप्लिए त करिब ५ सय मिटर तल खोलामा पुगिन्थ्यो । पूर्व, पश्चिम, दक्षिण हिउँले भरिएको थियो । हिँड्दै जाँदा हिउँ सुन्दर देखिए पनि मनको डरले त्यसलाई कालको रुपमा स्थापित गर्थ्यो । केही पर खर्कमा चौँरी चर्दै गरेका देखिए । आजको हाम्रो गन्तव्य चौँरीगोठ रहेको छेर थियो । त्यसैले चौँरी देख्दा हामीलाई पुग्न लागेको आभास भयो । नभन्दै २ वटा गोठ देखिए । एउटा गोठ मानिस बस्ने र आर्को चाहिँ घाँस राख्ने गोठ रहेछ । हामी ३:२५ मा छेर पुग्यौँ । पुष्प सर र रुद्र सर हामीभन्दा आधा घण्टापछि मात्रै आइपुग्नु भयो ।

बिचमा अगेनो, दुबैपट्टि लुगा ओछ्याएर सुत्ने ठाउँ जस्तो बनाइएको थियो । हावा नछिर्ने गरी बनाइएको गोठमा सोलारबाट चल्ने चिम जडान गरिएको थियो । गोठ नियाल्दा त्यहाँ खाना पकाउने र सुत्ने गरेको बुझ्यौँ हामीले । गोठमा तेम्बा र पाटेन बस्दा रहेछन् । उनीहरुका २ छोरा पनि थिए । ठुलो छोरा चाहिँ ताप्लेजुङ भानु माविमा पढ्दा रहेछन् । वार्षिक परीक्षापछिको बिदामा गोठ आएका रहेछन् । पाटेन तिब्बती रहिछिन् । नेपाली भाषा बुझ्ने तर बोल्न नसक्ने । भोटे चिया (सुचिया) हामीलाई दिइन् । मैले चाहिँ खाइनँ । गोलामा छिरिङले त्यही चियाले स्वागत गरेकी थिइन् तर मैले घाँटी कटाउन सकिनँ । एकछिनपछि गिरिजाले हामीलाई अर्को गोठमा आगो बालेको छ, पानि पनि तताएको छ उतै जानु, यहाँ खाना बनाउन साँघुरो हुन्छ भने । हामी अर्को गोठतर्फ लाग्यौँ । घाँस राखिएको थियो गोठमा । हावा पनि छिर्ने निकै चिसो थियो । भुइँमा प्लास्टिक ओछ्याएको देखेर लख काटियो, आज हामीले यही चिसो भुइँमा रात काट्न पर्ने हो ।

रुद्र सर खाना पकाउँदै गरेको गोठ जानु भयो । हाम्रा लागि त्यहीँ सुत्ने प्रबन्ध गर्नु भएछ । अगेना वरिपरि बसेर खाना खाइयो । मुस्किलले एक जना सुत्ने ठाउँमा २ जना सुत्नु पर्ने भयो । त्यसमा पनि देब्रेपट्टि २ वटा ओछ्यान लगाउनु पर्ने भयो । सिराने जोडेर एकापट्टि रुद्र सर र प्रदीप अर्कातिर धरु सर र म खुट्टा खुम्च्याएर सुत्नुपर्ने भयो । तापक्रम माइनसभन्दा तल झरेको थियो । बाक्ला ट्राउजर र ज्याकेट लगाएर अस्पट मान्दै रात काट्नु थियो । अगेनाको आगो निभेपछि त झन् चिसो भयो । निदाउन कम जागा बढी भएर रात काटियो । बिहान करिब ५ बजे पाटेनले अगेनामा धूप बालेर आगो जोरेपछि उठियो । मौसम सफा थियो । वरिपरि डाँडा सेताम्मे थिए । मौसमले हामीलाई साथ दिएकोमा पुष्प सरले सूर्यदेवलाई प्रणाम गर्नु भो । हामीले पनि गर्‍यौँ । वि सं २०८१ को वैशाख १ गते नववर्षको शुभ कामना बाँड्यौँ ।
पाटेनले हामीले बोकेका चाउचाउ उमाल्दिइन् । एक एक बटुका रस पिएर हामी करिब ७:३० बजे सिन्जेमा पोखरीतर्फ लाग्यौँ । बाटो तेर्सै तेर्सो थियो । सिन्जेमा खोला किनार भएर हिँड्नु पर्ने । अलिक रफ्तार बढाउन सके आजै साँझ गोला पुग्न सकिन्थ्यो । एक बजेसम्म पोखरीबाट छेर आइपुगेर गोला पुग्ने हाम्रो योजना थियो । किनकि गोठमा अब रात बस्न नसकिने निचोडमा हामी थियौँ ।तर, त्यसका लागि छिटो हिँड्न सक्नुपर्थ्यो जुन कुरा पुष्प सर र रुद्र सरबाट सम्भव लागिरहेको थिएन ।

क्षमा पुजा गर्दै हामी ।

सिन्जेमा खोला छोडेर हामी उकालो चढ्नु पर्ने थियो पोखरी पुग्न । गोलामै गिरिजाकी श्रीमती छिरिङले क्षमा पूजा गरेर मात्रै जानु भनेकी थिइन् । त्यसका लागि गिरिजाले तयारी पनि गरेका थिए । पूजा गर्ने स्थल हामीले उचाइ परीक्षण गर्दा ४२०० मिटर देखियो । हामीले लुङ्दर बोकेका थियौँ । आदिवासीहरुले प्रकृतिलाई भगवानको रूपमा पूजा गर्छन् । हिमाली क्षेत्रका मानिसहरु हिमाललाई भगवानको रुपमा पूजा गर्छन् ।आफूले भगवान मानेर पूजा गरेको हिमालमा आरोहण गर्नुअघि उनीहरु क्षमा पूजा गर्छन् । गिरिजाले धूप बाले । हामीले लुङ्दर बाँध्यौँ । खदा चढायौँ ।

त्यहाँबाट हामी दाहिनेतिरको सेतो हिमाल चढ्नु पर्ने थियो । हिमालको शिरमा पुगेपछि पोखरी देखिने गिरिजाले बताएका थिए । हामीले ५०० मिटर हिउँले ढाकेको ठाडो उकालो चढ्नु पर्ने थियो । हामी खोला तर्‍यौँ । खोला किनार पनि सेताम्मे थियो । अब उकालो चढ्नु पर्ने थियो । सबैभन्दा अघि हाम्रा सहयोगी छिरिङ दोर्जे भाइ थिए । उनले टेकेका ठाउँमा टेक्दै हामीले हिँड्नु पर्ने थियो । उनीपछि धरु सर अनि म । हिमाल चढेको पहिलो अनुभव र त्यसको हर्ष थियो भने त्यहाँबाट चिप्लिए के होला भन्ने कल्पनै गर्न सकेको थिइनँ । करिब २५ मिटर हामी उक्लिएपछि मात्रै रुद्र सर र पुष्प सर उक्लिन सुरु गर्नु भयो । प्रदीप भाइ विना लौरो म पछि पछि आइरहेका थिए । एक चरण चढिसकेपछि दोस्रो चरण चढ्ने बेलामा हल्का सम्म ठाउँ थियो । छिरिङ दोर्जे भाइ गुटुङटुङ उक्लिन थाले । बाटो भन्ने कुनै चिनो छैन । टेलिभिजनमा हिम मानव दौडिए जस्तो उनी दौडिए । धरु सर ती भाइ दौडिएको ठाउँबाट जान नसकेर केही पूर्वतिर बढ्नु भयो । केही बुट्यान देखिन्छन् नत्र सबै सेताम्मे छ । म असामञ्जस्यमा परेँ ।

पोखरीलाई  फन्को मार्दै ।

उकालो हेर्छु चिप्लेरै खस्छु जस्तो लाग्छ । प्रदीप भाइ आइपुगे । मलाई लाग्यो यो उकालो लौराको भरमा उक्लिन सक्दिनँ । मैले प्रदीपलाई भनेँ, "भाइ ! यो हिउँको उकालो डोरी नटाँगी त सकिँदैन चढ्न ।" प्रदीपले भने, "दाजु ! म त कम्मरसम्म हिउँ भास्सिए पनि पोखरी नपुगी फर्किन्नँ ।" उनी धरु सर भएतिर लागे । म विचरा न अगाडिका साथीलाई भेट्न सक्छु न पछिका साथीलाई पर्खिरहन सक्छु । बिस्तारै उकालो चढ्ने भएँ ।

ठाडो उकालो त्यसमाथि हिउँ । जुत्ता खासै गाडिँदैन । लौरो गाड्दै त्यसकै भरमा उक्लिने प्रयास गरेँ । अगाडि जाने गएका गएकै छन् । पछाडिका साथीहरु पाइला गन्दै छन् । धरु सर र प्रदीप भाइ हिमालकै टुप्पामा मात्र होइन आकाशै छुन लागे जस्तो देख्छु । त्यतिमाथि पुग्दा पनि उनीहरु नचिप्लेको देख्दा आशावादी पनि हुन्छु । यसो सम्झिन्छु, म हिँड्दै होइन आकाशमा उड्दै छु । केहीबेर एक्लै उक्लिएँ । प्रदीप फोटो भिडियो गर्न थालेछन् । उनलाई मैले भेटेँ । भाइ कति होला अब ? उ त्यही पर त हो । तेर्सो बाटो देखाए । आफ्नो सास जाला जस्तो छ । उनलाई भनेँ, "भाइ ! बिस्तारै सँगै जाऔँ ल ।" सायद उनले म आत्तिएको बुझे । उनी बिस्तारै हिँड्न थाले । म उनकै पछि लागेँ ।

ठाडो उकालो सकिएछ । हिउँले ढाकेको तेर्सो बाटो आएछ । हिउँ कति बाक्लो थियो अन्दाज गरिएन । हामी हिँडेका ठाउँका ढुङ्गा हिउँले पुरिएका थिए । केही पर सेतो बर्को ओढे झैँ लाग्ने तपस्वी जस्तो आकृति देखियो । त्यसकै फेदीमा सेतो तन्ना ओछ्याएको जस्तो देखियो ।त्यो सेतो तन्ना जस्तो आकृति हाम्रो गन्तव्य सिन्जेमा पोखरी थियो । हिमाली भेगको यात्रा कठिन हुन्छ तर गन्तव्यमा पुगेपछिको आनन्द शब्दमा व्यक्त गर्न सकिँदैन । यस्तो लाग्छ भाषाले हाम्रा सबै विचार व्यक्त गर्न नसक्दो रहेछ । प्राकृतिक सुन्दरताको यस्तो मनमोहक ठाउँमा आइपुग्दा म सधैँ भन्ने गर्छु "प्रकृतिलाई मानिसले सिँगार्नु पर्दैन, केवल नबिगारिदिए पुग्छ ।"

हिमाच्छादित पोखरीको किनारमा धरु सर त ध्यानमग्न देखिनु भयो । मैले सुटुक्कै उहाँको फोटो खिचेँ । प्रदीप भाइले भने दाजु पुसअप हान्नु पर्छ है । मलाई भाइको कुरो गजब लाग्यो । यतिको उचाइमा आइपुगेपछि स्मरणीय केही त गरौँ भन्ने लाग्यो । गन्तव्यमा आइपुगेपछि त लेक लाग्छ भन्ने कुरा पनि थाहा हुँदैन । हामीसँगै आएका ताप्लेजुङका भाइ बहिनी त टिकटक बनाउन भन्दै नाच्न लागे । त्यति बेला चाहिँ मैले पुष्प सर र रुद्र सर पो उकालो चढ्न नसकी फर्किने हुन् कि भन्ने लाग्यो । यदि फर्किए भने त हामी मात्रै पुगेको के अर्थ भो र ? तर, मेरो अनुमान सत्य भइदिएन । यो राम्रो भयो । उहाँहरु करिब २५ मिनेटपछि आइपुग्नु भयो । पोखरी सिसा झैँ जमेको थियो । किनारमा कतै कतै मात्र पानी उघाउन सकिन्थ्यो । त्यही पानीले आचमन गर्दै प्रकृतिलाई पूजा गर्‍यौँ ।

पोखरीलाई एक फन्को लगाउन एक घण्टा लाग्ने गिरिजाले बताए । हामीले फन्को लगाएनौँ । हामीलाई जतिसक्दो चाँडो पोखरी अवलोकन गरेर तल झर्नु थियो । पोखरीको सबै क्षेत्र देखिने भ्यु प्वाइन्टमा गएर फोटो खिच्यौँ । त्यसपछि प्रदीप र मैले एक्ला एक्लै पुस अप गर्‍यौँ । त्यसपछि संयुक्तरुपमा पुस अप गर्‍यौँ । धरु सरले पनि प्रयास गर्नुभयो । तर, पुष्प सर र रुद्र सरले चाहिँ यो कुरा थाहा नै पाउनु भएन । चार हजार सात सय मिटर उचाइमा हिउँमाथि पुस अप गर्नुको रोमाञ्चकता अद्भूत थियो ।

करिब एक घण्टा हामी पोखरी किनारमा रमायौँ । गिरिजाले पोखरीमा पूजा गर्ने तयारी गरे । हामीले लुङ्दर बाध्यौँ । खदा चढायौँ । सिन्जेमा पोखरी पुग्न सफल भएकोमा हर्षविभोर थियौँ । जीवनमा पहिलो पटक हिमाल चढेको अनुभव गर्न पाएकामा गौरवान्वित थियौँ । अब त निरन्तर फर्कनु थियो । तल खोलासम्म पाँचसय मिटर हिउँमा ओरालो झर्नु थियो । उकालो चढ्नुभन्दा जटिल थियो ओरालो झर्न । किनभने हिउँमा चिप्लेर दुर्घटना हुनसक्थ्यो । एक त ओरालोमा जिउ थाम्न मुस्किल अर्को जुत्ता नगाडिए चिप्लिने डर । डराउँदै डराउँदै झर्दै गर्दा गिरिजाले भने, "सरहरु ! स्किङ खेल्नु पर्छ ।" हामीले पत्याएका थिएनौँ । उनी धेरै हिउँ भएतिर तेर्सिए । हामीलाई बोलाए । पुष्प सर हिँड्नु भन्दा त चिप्लिन नै सजिलो भन्दै उतै लाग्नु भयो । हामी हेर्न थाल्यौँ । गिरजाले पुष्प सरको हात समाएर भिडियो गरिदिनु भने । रुद्र सर भिडियो गर्न लाग्नु भयो । हेर्दाहेर्दै गिरजा र पुष्प सर चिप्लेर केही तर पुगे ।

गिरजा त्यहाँबाट उठेर अझै बढी हिउँ भएकोतिर लागे र हामीलाई बोलाए । अब भने यो अनुभव नलिँदा त हामी छुट्ने भयौँ भन्ने लाग्यो । हामी तिन जना पनि उतै गयौँ । गिरिजाको निर्देशनमा उनीसहित हामी चार जनाले स्किङ गर्‍यौँ । यसको अनुभव दुर्लभ रह्यो । धन्य गिरिजा ! हामीले हिमाली क्षेत्रको अर्को अनुभव लिन पायौँ । गिरिजाले फेरि स्किङ गर्न अनुरोध गरे । हामी आधा बाटो त झरिसकेका थियौँ । अर्का गाइड छिरिङ दोर्जेलाई क्यामेरा दिएर हामी तयार भयौँ । प्रदीप हामीभन्दा धेरै पछि थिए । उनी पनि चिप्लेरै हामी नजिक आइपुगे । त्यसपछि गिरिजासहित हामी पाँच जना लहरै चिप्लिन तयार भयौँ । गिरिजा, धरु सर, रुद्र सर, प्रदीप भाइ, म र पुष्प सर लहरै एक अर्काको हात समाएर चिप्लिन थाल्यौँ । दुई खुट्टा अगाडि फारेर चिप्लिदै गर्दा पुष्प सर मबाट फुत्किएर उछिट्टिनु भयो । हेर्दा हेर्दै उहाँ त तिन बल्ड्याङ खानु भयो । हामी चिप्लिँदै छौँ, उहाँ चाहिँ हामीभन्दा अघि बल्ड्याङ खेलिरहनु भएको छ । के होला भन्ने डर पनि भयो । त्यो अवस्था आफैँ नियन्त्रण हुन नसक्ने अवस्था थियो । धन्न पुष्प सर केही पर अडिनु भयो । अडिनु त भयो तर हामी बेतोडसँग चिप्लिरहेका थियौँ । मलाई लाग्यो पुष्प सरमाथि मै थुप्रिने भएँ । अब दुबै जना घाइते हुने भयौँ । रमाइलो, हाँसो अनि त्रासका साथ स्किङ गर्‍यौँ । यो एउटा पृथक् अनुभव थियो । उकालो चढ्दा दुई घण्टा लागेको बाटो निमेषभरको चिप्लेटी खेलेर झर्न सकेकोमा औधी खुसी थियौँ हामी ।

केही तेर्सो हिँडेर हामी निकै वर खोलामा झर्‍यौँ । गिरिजा झनै खुसी भएछन् हामी चिप्ली खेलेको देखेर । ढुङ्गामा टेक्दै हामी खोला पार गर्दै थियौँ । पुष्प सर पानीमा लौरोले केही तान्दै हुनुहुँदो रहेछ । उहाँको क्याप खोलामा झरेछ । हेर्दा हेर्दै तुफानी वेग भएको हिमनदीले उहाँको क्याप साथमै लिएर गयो । गिरिजाले यात्रामा टोपी बिर्सिनु राम्रो मानिन्छ भन्दा पुष्प सर गदगद हुनुभयो ।

गिरजा, छिरिङ दोर्जे, ताप्लेजुङका भाइ बहिनी, प्रदिप गुटुटुङ ओरालो झरेर तेर्सिए । हामी चार जना चाहिँ बिस्तारै आयौँ । यात्रा सफल भएकोमा हामी ज्यादै खुसी थियौँ । अब अरु कुराको हतारो पनि थिएन । बिस्तारै गोठ पुग्नु थियो । तर, पुष्प सर र रुद्र सरबाहेक हामीलाई आजै गोला पुग्न पाए आनन्दले सुत्न पाइन्थ्यो भन्ने लागेको थियो । बाटामा मैले रुद्र सरलाई गोला आजै झर्ने होइन भनेको उहाँले आज त कुरै नगर्नु, सकिँदैन भन्नुभयो । त्यसपछि म बोलिनँ । 

गोठ आइपुग्न लाग्दा परैबाट गोठ अगाडि ढुङ्गामा प्रदीप टुक्रुक्क बसेको देखेँ । हामी पुग्दा पनि बोलेनन् । सबैले खाना खाइसकेका रहेछन् । समय दिउँसोको २:३० भएको थियो । ताप्लेजुङका भाइ बहिनी आजै गोला पुग्ने भन्दै ब्याग बोकेर हामीसँग बिदा भए । मलाई त बस्नै मन थिएन । प्रदीप भाइ पनि आजै गोला झर्न पाए हुन्थ्यो भन्नेमा रहेछन् । रुद्र सरलाई भन्दा सम्भावना छैन भनेपछि खिन्न भएर बसेका रहेछन् । धरु सर पनि जान नै उपयुक्त भन्नेमा हुनुहुँदो रहेछ । मैले जसोतसो जाऔँ भनेको पुष्प सरले तिमीहरु गुटुटु हिँड्छौ । मलाई छोडिहाल्छौ । फोक्सुन्डोबाट फर्किँदा पनि त्यसै गरेका थियौ । म सक्दिनँ भन्नुभयो । रुद्र सर पनि नजाने भन्ने । पुष्प सरलाई तपाईँलाई अगाडि लगाएर मात्रै हामी हिँड्छौँ । जति ढिलो भए पनि होओस् । सँगै गोला पुग्ने भनेको पत्याउनु भएन । खाना खाँदै गर्दा गिरिजा आए । उनले पनि जाऔँ ७ बजेसम्म पुगिन्छ भने । तर पुष्प सर र रुद्र सर मान्नु भएन । मैले अलिक रिसाएको भावमा भनेँ, "तिमीहरु जाँदैनौ भने धरु सर, प्रदीप र म जान्छौँ । तिमीहरु भोलि आओ।" त्यसपछि उहाँहरु अलिक हच्किए जस्तो लाग्यो । गिरिजाले जाऔँ भन्दा पुष्प सरले बोकेर लाने भए मात्रै सक्छु भन्नुभयो । गिरिजाले भारी जस्तो बनाएर बोकेर भए पनि लान्छु भनेपछि तयार हुनुभयो । दिउँसोको ३:०५ मा हामी छेरबाट गोला झर्न थाल्यौँ । अघिल्लो दिन करिब ७ घण्टा लागेको बाटो ओरालो झर्नु थियो । हतार नगरी पुष्प सरलाई अगाडि लगाएर पाइला गन्न थाल्यौँ ।

करिब एक घण्टामा हामी तमोर किनार देउमाटार आइपुग्यौँ । बाटो तेर्सो र ओरालो भए पनि ठाउँ ठाउँमा पहिरो गएको थियो । अघिल्लो दिन बाटामा जमेको हिउँ पग्लिसकेको रहेछ । ढुङ्गामा बसेरसाथमै बोकेको चिया, मकै, बिस्कुट खायौँ । तमोरको किनार ठाउँ ठाउँ पहिरो गएको रहेछ । मास्तिर हेर्दा भर्खरै ढुङ्गा खसे जस्तो देखिन्थ्यो । बाटो आधाभन्दा बढी खोलामा खसेको थियो । मास्तिर हेर्दै पहिरोमा दौडियौँ । दौडिँदा यस्तो लाग्थ्यो ढुङ्गो मैमाथि खस्दै छ, खुट्टा चिप्लियो भने तमोरमा मिसिन्छु । गोला पुग्न करिब डेढ घण्टा जति लाग्ने बाटो हुँदा झमक्कै साँझ पर्‍यो । हामी कसैले लाइट र कसैले मोबायलको बत्ती बालेर हिँड्यौँ ।आठ बजे हामी गोला गिरिजाको घरमा आइपुग्यौँ । सिन्जेमा पोखरीबाट गोला आइपुग्दा त हामीलाई गोला त न्यानो पो लाग्यो । जाडै नभएको जस्तो भयो ।छिरिङ डोल्माले खाना बनाइसकेकी रहिछिन् । तातो खाना खाएर हामी सुत्यौँ ।

अघिल्लो रात गोठको कठिन बसाइ अनि दिनभरको थकाइले मस्त निदाइएछ । बिहान करिब पाँच बजे उठ्यौँ । साथीहरुले सुचिया खाए । मैले चाहिँ रातो चिया खाएँ । आज हामी साँझसम्म फुङलिङ पुग्ने थियौँ । बिहान गोलामा रहेको गुम्बा दर्शन गर्ने कार्यक्रम थियो । गिरिजाले गुम्बाका गुरुसँग हामी आउन लागेको जानकारी गराए । हामी ७:३० तिर ङाग्युर दिकी छ्योलिङ गुम्बा दर्शनका लागि गयौँ । गाउँबाट माथि डाँडामा रहेको थियो गुम्बा । पक्की सिँढी बनाइएको थियो । हामी सिँढी उक्लिँदै गयौँ । गुम्बासँगै महेन्द्र आधारभूत विद्यालय थियो । वि सं २००८ मा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै न्यून रहेछ । गोलाका धेरै विद्यार्थी फुङलिङमा बसेर पढ्दा रहेछन् । केही विद्यार्थी काठमाडौँ र भारततिर पनि जाँदा रहेछन् ।

दिकी छ्योलिङ गुम्बा 

दिकी छ्योलिङ गुम्बा नेपालको पुरानो गुम्बा हो तर कति पुरानो हो भन्ने कुनै प्रमाण पाइँदैन । साढे चारसय वर्षअघि भुटानबाट आएका भिक्षु ह्योसा दोर्जे लामाले गुम्बा स्थापना गरेको किंवदन्ती रहेछ । हामीले गुम्बामा दीप प्रज्ज्वलन गर्‍यौँ । यहाँ बुद्धका मूर्ति, गुम्बा निर्माताको मूर्ति, धर्मचक्र, वाद्यवादन तथा बौद्ध धर्मका करिब पाँच हजार ग्रन्थ रहेका छन् । स्वर्ण अक्षरले लेखिएका ग्रन्थ पनि रहेको गिरिजाले बताए ।

च्याउमा लेखिएको मन्त्र ।

गुम्बामा दीप प्रज्ज्वलन गर्ने ठाउँको सिरानमा सजाएर राखिएको सेतो च्याउ छ । यहाँका बासिन्दा त्यसलाई चेरेसी भन्दा रहेछन् । सेतो च्याउमा प्राकृतिक रूपमै ऊँ मणि पद्मे हूँ लेखिएको भनिन्छ । गुम्बाका शिष्यहरुले जङ्गलमा फेला पारेको यो च्याउ ल्याएर गुरुलाई दिएको र गुम्बामा राखेको किंवदन्ती रहेछ । हामीले गुम्बामा स्वर्णदीप रहेको सुनेका थियौँ । गिरिजाले स्वर्णदीप रहेको तर अवलोकन गर्न निषेध भएको बताए । सुरक्षाका कारणले स्वर्णदीप प्रदर्शनमा राखिएको रहेनछ । उक्त दीप गुम्बा निर्माताले नै बालेको र आजसम्म पनि निरन्तर प्रज्ज्वलित रहेको बताए ।
हामी गुम्बा क्षेत्र अवलोकन गरी करिब दश बजे फर्कियौँ । हामीले चर्चित आँखा रोग विशेषज्ञ सन्दुक रुइतको घर अवलोकन गर्‍यौँ । छिरिङले खाना बनाइसकेकी थिइन् । खाना खाएर हामी गिरिजा र छिरिङसँग बिदा हुँदै गर्दा वडा नम्बर सातका वडाध्यक्ष छेतेन लामा आइपुगे । उनले हामीलाई खादा ओढाएर गोला भ्रमण गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गरे । यस ठाउँको बारेमा अरुलाई पनि बताइदिन अनुरोध गरे । सामूहिक फोटो खिचेर हामी बाटो लाग्यौँ । हामीलाई लैजाने गाडी जोङ्गिम झोलुङ्गे पुल पारि नै रहेछ । गोला आउन नसकेर त्यहीँ रोकिएको चालक रविनले बताए । उनी हामीसँगै गोलाबाट आए । हामीले करिब दुई घण्टा हिँड्नु पर्ने थियो गाडी भेट्न । गिरिजाले त्यहाँसम्म हाम्रा ब्याग बोकिदिने भए । हामी लौरे टेक्दै ओरालो झर्‍यौँ । ऐतिहासिक मानववस्ती ओलाङचुङगोला ओझेल पर्दै गयो । तमोरको सुसेलीमा भाका हाल्दै हामी आयौँ ।
करिब २ घण्टा जति झरेपछि गिरिजा हाम्रा ब्यागसहित ट्रयाक्टरमा आउँदै रहेछन् । उनले हामीलाई पनि चढ्न अनुरोध गरे । हिँडाइको थकानले गर्दा ट्रयाक्टरको डालामा चढ्न पाउँदा पनि आनन्द लाग्यो । हिँड्नु नपरे पनि तमोरको किनारमा हिलो बाटोमा ट्रयाक्टर बेला बेला खोलातिरै खसे जस्तो लाग्थ्यो । ट्रयाक्टर चढेको भन्दा पनि बाँच्नु यत्ति नै रहेछ भन्ने त्रासमा कति खेर ओर्लन पाइन्छ भन्ने मात्र थियो । तमोरपारि हामीलाई लैजाने गाडी देखियो । खुसी लाग्यो । त्यसपछि महिन्द्रा गाडी चढेर फुङलिङतर्फको यात्रामा लागियो । गाडी त चढियो तर निकै अप्ठ्यारो ठाउँबाट तमोर तर्नै बाँकी थियो । उक्त ठाउँ पार गर्न सके फुङलिङ पक्कै पुगिने थियो । सुकेपानी आइपुगियो । तमोर त धमिलोसँग गडगडाएको देखिन्छ । ठुल्ठुला ढुङ्गाले बाटो छेकोको देखिन्छ । चालक रविनले हुटमा बसेकाहरुलाई ढुङ्गा हटाउन लगाए । त्यो चिसोपानीमा पसेर उनीहरुले ढुङ्गा पन्छाए । हामी गाडीभित्र डराएर बसेका थियौँ । कसो कसो गर्दै रविनेले गाडी पारि पुर्‍याए । हामी खुसीले फुरुङ्ग भयौँ । झमक्क साँझ पर्दा हामी फुङलिङ आइपुग्यौँ । चालक रविनलाई यात्रा गराएकोमा खदा ओढाएर सम्मान गर्‍यौँ । पुरस्कार पनि दियौँ । उनी छक्क परे ।
होटलमा पसेर केही बेर यात्राका बारेमा कुरा भयो । धेरै चाहिँ हिउँमा स्किङ खेलेकै चर्चा भयो । पुष्प सर बल्ड्याङ खेलेकै बढी चर्चा भयो । खाना खाएर पनि निकै बेर यात्राका बारेमा कुरा गर्‍यौँ । रुद्र सर, धरु सर र म एउटा कोठामा थियौँ । रुद्र सर आफ्नै मोबायलमा चिप्लेटी खेलेको भिडियो हेर्दै हाँस्दै गरिरहनु भएको थियो । करिब बाह्र बज्न लाग्दा पनि उहाँ हाँस्दै आँसु पुछ्दै मोबायलमा भिडियो हेरिरहनु भएको थियो । धरु सर र मेरो एउटै ओछ्यान थियो । म सुत्न लाग्दा धरु सरले खुसुक्क भन्नुभयो, "यो यात्रामा सबैभन्दा बढी खुसी रुद्र भयो । मलाई साह्रै आनन्द लागिरहेछ ।"

लेखकको बारेमा
Image
दामोदर ढुंगेल