६ जेठ २०८१, आइतवार

बगरखेतमा फलेको खरबुजाले लाखौं अम्दानी

२४ वैशाख २०८१, सोमवार
Image

झापा, २३ बैशाख । यसवर्ष झापामा उल्लेख्य मात्रामा खरबुजा खेती भएको छ । गर्मीमा शितल र स्वाद दुबै दिने लोकप्रिय फलको रुपमा चिनिएको खरबुजामा नेपाली उत्पादनले बजारको माग धान्ने अवस्था रहेको कृषकहरु बताउँछन् । 

झापाका अधिकांश नदीको बगरमा अहिले खरबुजा फलाउन थालिएको छ । मेची, निन्दा, बिरिङ, रतुवा र मावा खोलाको बगरखेतमा किसानहरुले खरबुजा फलाएर मनग्य आम्दानी गरेका छन् ।

मेचीनगर–१५ स्थित मेची नदीको बगरमा लीला खनाल र हरि नेपालले १३ बिगाहा क्षेत्रफलमा खरबुजा फलाउनु भएको छ । “धमाधम बजारमा पुर्याइरहेका छौं,” व्यावसायिक कृषक खनाल भन्नुहुन्छ–“पहिलोपल्ट खेती गरेका हौं, राम्रो उत्पादन भयो ।”

स्वदेशमै केही गर्ने हुटहुटी जागेको बताउनुहुने खनालले कृषिमा भविष्य राम्रो हुन्छ भन्ने सोचेर पहिलोपल्ट लगानी गरेको बताउनुभयो । पहिल्यैदेखि कृषिमा लागिरहनु भएको हरि नेपाल र खनाल मिलेर मेचीको बगरमा खरबुजा खेती गर्नुभएको हो ।

नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता गरेर उहाँहरुले सुरु गरेको बगर खेतीमा ३५० मेट्रिक टनभन्दा बढी खरबुजा फलेको खनालले जानकारी दिनुभयो । चैतको अन्तिम सातादेखि पाक्न थालेका खरबुजा बैशाख र जेठभरिमा विक्री भइसक्छन् ।

व्यापारीहरुले फार्ममै आएर खरबुजा किनेर लैजाने गरेका छन् भने निजी बाहन लिएर किन्न आउने ग्राहकको बगरमा भीड लाग्ने गरेको छ । यहाँबाट सस्तोमा किनेर लैजाने व्यापारीले बजारमा मूल्य बढाएर बेच्ने गर्छन् । खरबुजा बेचेर रु. ८० लाखसम्म आम्दानी गर्ने फार्मको लक्ष्य रहेको फार्मका सञ्चालक खनालले बताउनुभयो ।

दैनिक चारदेखि आठ टनसम्म खरबुजा विक्री भइरहेको जानकारी दिदै उहाँले भारतबाट सस्तो र कमसल खरबुजा भित्रिएका कारण बजारमा चुनौति थपिएको बताउनुभयो । खरबुजामा नेपाल आत्मनिर्भर भएको दावी गर्दै उहाँले भारतबाट गुणस्तर नजाँची भित्रिने खरबुजालाई भन्सार र क्वारेन्टाइन कार्यालयले कडाइका साथ रोक्नु पर्ने माग गर्नुभयो ।

कनकाई–५ का फुलु मण्डलले कनकाई नदीको बगरमा तीन बिगाहा जग्गा भाडामा लिएर खरबुजा खेती गर्नु भएको छ । उहाँले यसरी खरबुजाको बगरखेती गरेको १५ वर्ष भइसकेको छ ।

“गाडीलाई गाउँ गाउँमा डुलाएर बेच्ने व्यापारीले खरबुजा लैजाने गरेका छन्,” मण्डलले यसपाली बजारमा प्रतिष्पर्धा बढेको बताउँदै भन्नुभयो–“तीन बिगाहामा खरबुजा लगाउन १२ लाख रुपैयाँ लगानी गरेको छु ।” खरबुजा बेच्न आफैले पनि उर्लाबारीसम्म गाडी पठाउने गरेको उहाँले बताउनुभयो ।

फुलुले खरबुजा लगाएर मनग्य आम्दानी गरेको देखेर धिरेन मण्डल, दशरथ मण्डल, पाण्डव मण्डल र जनार्दन मण्डलले समेत कनकाईमा खरबुजाको बगरखेती लगाउनु भएको छ । बलौटे माटोमा राम्रो फल्ने भएकाले बगरखेती खरबुजाका लागि निकै उपयोगी देखिएको छ ।

मेचीनगर–९ का डिल्ली उप्रेतीले एक दशकअघि झापामा व्यावसायिक खरबुजा खेतीको प्रवर्धन गर्नु भएको थियो । विर्तामोडको बुट्टाबारीमा उहाँको खरबुजा खेती छ । उहाँले जुनसुकै पाखा खेतमा खरबुजा फलाउन सकिन्छ भनेर प्रमाणित गरेपछि धेरैले खरबुजा खेतीमा लगानी बढाए । त्यस अघि भद्रपुरको मेची बगरमा नेपाली र भारतीय कृषकहरुले यसको खेती गर्थे । नेपाली बजारमा भारतबाटै आएको खरबुजाको दबदबा हुन्थ्यो ।

तर, अहिले भारतबाट आयात नगरे पनि स्थानीय खरबुजाले बजारको माग धान्नसक्ने अवस्था भइसकेको व्यावसायिक कृषक हरि नेपाल बताउनुहुन्छ । “स्वाद र गुणस्तरका हिसाबले हेर्ने हो भने नेपाली उत्पादन अर्गानिक हुन्छ,” उहाँ भन्नुहुन्छ–“भारतबाट आउने खरबुजा सस्तो र कमसल हुन्छ ।”

भारतमा सरकारले कृषिका लागि बीऊ, मल र सिञ्चाईमा प्रशस्त अनुदान दिने भएकाले लागत कम परेका कारण सस्तो भएको हो । खुला सीमाका कारण गुणस्तरहीन बस्तु समेत नेपाल भित्रिरहेको हुँदा भन्सार, क्वारेन्टाइन र सीमा सुरक्षा निकायको ध्यान जानुपर्ने उहाँको धारणा छ ।

बजारमा खरबुजाको प्रति केजी मूल्य रु. ४५ देखि ६० सम्म रहेको छ । भाटभटेनी र सुपर मार्केटहरुको विक्री स्टलमा पनि स्थानीय खरबुजा पाइन थालेको छ । मेचीनगर–१५ को मेची बगरमा फलेको खरबुजा काठमाडौंका सुपरमार्केट र पाँचतारे होटलहरुमा पुग्ने गरेको नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक खनाल बताउनुहुन्छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।