७ जेठ २०८१, सोमवार

पुस्तक परिचर्चासहित अग्रज सर्जक रेग्मी सम्मानित

२७ वैशाख २०८१, बिहिवार
Image

बिर्तामोड, २७ वैशाख । नेपाल पत्रकार महासंघ झापाले प्रकाशित गरेको ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ नामक पुस्तकको परिचर्चा कार्यक्रम भएको छ ।

महासंघको शाखा कार्यालयमा आज भएको परिचर्चा कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेत हुनुहुन्थ्यो ।

कार्यक्रममा भाषाविद् तथा अग्रज पत्रकार चुणामणि रेग्मीलाई सम्मान गरिएको थियो भने पत्रकार कृष्ण दाहाल र लेखनाथ भट्टराईलाई दीर्घ सम्मान प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहाल, अग्रज पत्रकार तथा साहित्यकार चुणामणि रेग्मी, झापा शाखाका पूर्व सचिव सन्तोष आचार्य लगायतले पुस्तकको चर्चा गर्नु भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा हालै काठमाडौंमा लोकार्पण गरिएको उक्त पुस्तकमा २६ जना पत्रकारको अन्तरवोध खण्ड, १३ जना पत्रकारको संस्मरण आलेख र आठ वटा अभिलेख खण्ड समेटिएको छ ।

पुस्तकको सम्पादन अग्रज पत्रकार गोपाल गिरी र राजवावु शंकरले गर्नु भएको हो । कार्यक्रमको अध्यक्षता महासंघका शाखा अध्यक्ष एकराज गिरीले गर्नु भएको थियो ।