१२ साउन २०८१, शनिवार

हाम्रा सबै उम्मेद्वार बिजयी हुनेमा ढुक्क छौं : श्रीप्रसाद मैनाली

१८ जेठ २०८१, शुक्रवार
Image

काँकरभिट्टा, १८ जेठ । उम्मेद्वारहरुको घरदैलोले काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चुनावी रौनक बढेको छ ।

आफ्ना बाचा र भावी कार्यक्रम सुनाउँदै घरदैलोमा व्यस्त प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु निकै उत्साहित देखिएका छन् ।

‘जनताको चाहना र धारणा सुन्दै हामी घरदैलोमा पुगिरहेका छौं,’ प्रगतिशील समाजबादी प्यानलको अध्यक्षका उम्मेद्वार सन्तोष आचार्य भन्नुहुन्छ–‘हामीले खानेपानीका समस्या र तिनको समाधानका उपायलाई मिहीन ढंगले बुझेका छौं भन्ने कुरामा मतदाता कन्भिन्स भइरहेको पाएका छौं ।’

प्यानलको चुनावी कमान्ड सम्हाल्नु भएका नेकपा एमालेका नेता श्रीप्रसाद मैनालीले चुनावमा प्यानलका सबै उम्मेद्वार बिजयी हुने कुरामा आफूहरु ढुक्क रहेको बताउनुभयो ।

उहाँले आफ्नो प्यानलमा मतदाताले आशा गरेका दक्ष र सक्षम उम्मेद्वारहरु रहेको बताउनुभयो ।

काँकरभिट्टा खानेपानीको चुनाव यही जेठ २६ गते हुँदैछ । 

प्रगतिशील समाजवादी संयुक्त प्यानलबाट अध्यक्ष पदमा सन्तोष आचार्य, उपाध्यक्ष गोविन्द गिरी, सचिव दिलीपजंग सुब्बा, कोषाध्यक्ष बिमला तामाङ, सदस्यहरु मीरा कार्की, इन्दिरा बुढाथोकी अधिकारी, तिर्थ नेपाल, पर्शुराम निरौला, डिल्लीकुमार काफ्ले, लेखा समितिका संयोजक सोमराज ढकाल, सदस्यमा जस्ना राजबंशी र बालकुमार भुजेल उम्मेदवार हुनुहुन्छ ।

अध्यक्षका पदका उम्मेदवार आचार्य पत्रकारिता पृष्ठभूमिका सामाजिक कार्यकर्ता हुनुहुन्छ । उहाँसँग नेपाल पत्रकार महासंघ झापाको सचिव, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य, नाइट चेस क्लबको महासचिव, प्रेस क्लब मेचीनगरको संस्थापक अध्यक्ष लगायत सामाजिक संस्थाहरुको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको अनुभव छ ।

उहाँले काँकरभिट्टा खानेपानीको कर्मचारी भएर लामो समयसम्म काम गरेको अनुभव रहेको छ ।