१२ साउन २०८१, शनिवार

स्वास्थ्य

बीएन्डसीले सुरु गर्यो मिर्गौलाको निःशुल्क डाइलासिस सेवा

२१ जेठ २०८१, सोमवार
Image

झापा, २१ जेठ । झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आइतवारदेखि विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ । 

नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आएको छ । झापामा यो सेवा दिने अस्पतालहरुमा बीएन्डसी टिचिङ हस्पिटल, ओमसाई पाथिभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्प्ताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी हस्पिटल रहेका छन् ।

बीएन्डसी टिचिङ हस्पिटलले आजदेखि पाँच वटा मेसिनमार्फत हेमोडाइलासिस सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।

उहाँका अनुसार हस्पिटलमा पेइङ डाइलासिस सेवा पहिल्यैदेखि सञ्चालनमा थियो । आगामी एक महिनाभित्र २० वटा मेसिन थपेर सेवा विस्तार गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

“झापामा मिर्गौलाका रोगीले डाइलासिस सेवा पाउन पालो कुर्नुपर्ने अवस्था नआवोस् भनेर बीएन्डसी हस्पिटलले यो सेवा सुरु गरेको हो,” उहाँले भन्नुभयो–“यो सेवा पाउनका लागि पालिकाबाट सिफारिस पत्र ल्याउनु पर्छ । अरु केही झञ्झट बेहोर्नु पर्दैन । बिरामीले आजीवन वा मिर्गौला प्रत्यारोपण नगरेसम्म यो निःशुल्क सेवा लिन पाउने व्यवस्था छ ।”

बीएन्डसी टिचिङ हस्प्टिलमा कार्यरत फिजिसियन डा। गोपाल मिश्रले नेपालमा वर्षेनी मिर्गौलाका तीन हजारभन्दा बढी बिरामी थपिइरहेको बताउनुभयो । दुखाई कम गर्न प्रयोग हुने औषधिको अत्याधिक सेवन लगायतका कारणले पनि मिर्गौलामा समस्या बढिरहेको उहाँले बताउनुभयो । 

सर्जन डा. मुक्ति देवकोटाले बीएन्डसी हस्पिटलमा डाइलासिस गराउने बिरामीको सजिलोका लागि फिस्टुला बनाउने शल्यक्रिया समेतको सेवा उपलब्ध भएको जानकारी दिनुभयो । 

झापामा सबैभन्दा बढी १९ वटा मेसिन राखेर ओमसाई पाथिभरा हस्प्टिलले डाइलासिस सेवा दिइरहेको छ । हस्पिटलका व्यवस्थापक मनोज दाहालका अनुसार ओमसाईले भद्रपुर बाहेक लहान र इटहरीबाट समेत मिर्गौला रोगीका लागि हेमोडाइलासिस सेवा उपलब्ध गराइरहेको छ ।

भद्रपुरको प्रादेशिक अस्पतलामा १३ वटा, बिर्तासिटी हस्पिटलमा पाँच वटा र मनमोहन अस्पतालमा पाँच वटा मेसिन राखेर विरामीहरुलाई डाइलासिस सेवा दिइने गरेको छ ।

अस्पतालहरुमा हेमोडाइलासिस सेवाको विस्तार भएसँगै पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला रोगीहरुले हेमोडाइलासिसका लागि धरान र बिराटनगर धाउनु पर्ने पुरानो बाध्यता अब हटेको छ ।