२ कार्तिक २०८१, शुक्रवार

मेचीनगरका कर्मचारीले ‘रहरले काम गर्ने, हाँसेर सेवा दिने’

११ असार २०८१, सोमवार
Image

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले विपन्न समुदाय उपभोक्तालाई पाँच युनिट खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ ।

नगरकी उपप्रमुख मीना उप्रेतीले आज नगरको सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गर्नु भएको हो ।

उहाँले खानेपानी उपभोक्ता संस्थासँग समन्वय गरेर नगरबासीलाई उक्त सुविधा उपलब्ध गराइने बताउनुभयो ।

नगरपालिकाको आव २०८१/०८२ को नीति तथा कार्यक्रम सभामा आज प्रस्तुत भएको छ । 

उप्रेतीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा यसपटक थुप्रै नयाँ र लोकप्रिय हुनसक्ने कार्यक्रमहरु उल्लेख छन् ।

हाँसेर सेवा 

नगरपालिकाका कर्मचारीले नगरबासीलाई हाँसेर सेवा दिने भएका छन् । ‘रहरले काम गरौं, हाँसेर सेवा गरौं’ भन्ने नीतिगत नारा नै नगरले ल्याएको छ । 

डिजिटल बडापत्र

नगरका १५ वटै वडा कार्यालय र मुख्य प्रशासनिक कार्यालय इटाभट्टामा अब डिजिटल नागरिक बडापत्र राखिने भएको छ ।

हाल कुनै पनि वडामा नागरिक बडापत्र राखिएका थिएनन् । नगरबासीलाई प्रदान गरिने सेवा तथा सुविधा कति समयमा कुन फाँटबाट कुन कुन कागजातका आधारमा उपलब्ध गराइन्छ भनेर जानकारी दिइने सूचना पाटी नै नागरिक बडापत्र हो ।

चेक भुक्तानीको झञ्झट सकियो

अहिलेसम्म नगरपालिकामा भुक्तानी लिन जाँदा बढी भीडभाड र कर्मचारीसँग सेवाग्राहीको विवाद भइरहेको देखिन्छ ।

त्यसको एउटा कारण हो–भुक्तानीमा ढिलासुस्ती । चेकमार्फत भुक्तानी गरिने प्रणाली रहेका कारण सेवाग्राही चेक प्राप्त नगरेसम्म कार्यालयको विभिन्न फाँटमा धाइरहनु पर्ने बाध्यता अहिलेसम्म छ ।

तर, चेकको साटो डिजिटल भुक्तानीको नयाँ व्यवस्था नगरपालिकाले गर्ने भएको छ । जसलाई यसपालीको नीति तथा कार्यक्रममा जोड दिइएको छ ।

यसलाई इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (इएफटी) प्रणाली भनिन्छ । मेचीनगरमा यसै वर्षदेखि इएफटी सिस्टम लागू गरिने उपप्रमुख उप्रेतीले बताउनु भयो ।

यो प्रणाली लागू भएपछि कुनै पनि योजना तथा बिलको भुक्तानी सेवाग्राहीको बैंक खातामा डिजिटल माध्यमबाट भुक्तानी हुनेछ ।

तीन पटक सार्वजनिक सुनुवाई

यस वर्षदेखि नगरपालिकाले चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । 

पाँच लाखमाथिका योजना ठेक्काबाट

नगरपालिकाले ५ लाख रुपैयाँभन्दा माथिका विकास निर्माणका योजनाहरु ठेक्का प्रक्रियाबाट निर्माण गरिने भएको छ ।

किसान सूचीकृत

नगरका कृषकहरुलाई नगरपालिकाले सूचीकृत गर्ने नीति लिएको छ ।

सडक बत्ती टोललाई

नगरपालिकाले टोल विकास समितिहरुलाई टोलको सडकको बत्ती हस्तान्तरण गर्ने भएको छ ।

विपन्नलाई घर र छाना

प्रकोप पीडित परिवारका २० वटा आवास गृह यस वर्ष नगरपालिकाले बनाइदिने नीति बनाएको छ । त्यस्तै, विपन्न समुदायको १०० घरमा जस्ता पाताको छानो लगाइदिने भएको छ ।

धुलावारीमा अस्पताल

धुलाबारी स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाएर विशेषज्ञ डाक्टर, डिजिटल एक्स रे र आधुनिक प्रयोगशालासहितको स्वास्थ्य सुविधा उपलब्ध गराउने नीति नगरपालिकाले लिएको छ ।