६ पुष २०८१, शनिवार

मानव–हात्ती सहअस्तित्व

बाहुनडाँगीभन्दा एक कदम अघि बढ्यो खुदुनाबारी

१८ असार २०८१, सोमवार
Image

मेचीनगर, १७ असार । कुनैबेला बाहुनडाँगीका बासिन्दा हात्तीलाई गोलीले भुटेर सखाप पार्नुपर्छ भन्ने सोच राख्थे । यो सोच अकारण थिएन । लगालग मान्छे मार्न थालेपछि स्थानीयबासीसँग आक्रोश थियो, उपाय थिएन । पाँचपोखरी जंगलमा सरकारी सशस्त्र टोलीले नै तीसको दशकमा आधा दर्जन हात्तीलाई गोलीले एकैचिहान बनाएको थियो ।

तर, अहिले त्यही बाहुनडाँगीमा सोच फेरिएको छ । हात्तीलाई उसको बाटो हिँड्न दिनुपर्छ भन्न थालेका मानिसहरु । त्यतिमात्र होइन, हात्तीलाई पटाका, पुल्ठो र हतियारको बलमा लखेट्नु हुँदैन भन्ने मान्यतामा सहमत भएका छन् । हात्तीपीडित बाहुनडाँगीबासीबाटै सुरु भएको मानव–हात्ती सहअस्तित्वको नवीनतम् अवधारणा अहिले अर्जुनधाराको खुदुनाबारीमा प्रयोग हुन थालेको छ । हालै जुकेखाडी जंगलमा समुदायले हात्तीका लागि प्रिय खानेकुराका १० हजार विरुवा नै रोपेका छन् ।

बाहुनडाँगीको सानो भूगोलबाट सुरु भएको मानव–हात्ती द्वन्द्व हाल झापाका १५ पालिकामा विस्तार भइसकेको छ । द्वन्द्वको पाँच दशकमा ठूलो संख्यामा मानवीय क्षति भइसकेको छ भने करोडौंको बाली र भौतिक सम्पत्ति नष्ट भएको छ ।

यस अवधिमा दर्जनौंको संख्यामा हात्ती पनि मारिएका छन् । पछिल्लो अवधिमा वर्षेनी सरदर आधा दर्जन हात्ती मारिदै आएका छन् । यो संख्या झन् झन् बढेर गएको छ ।

साठीको दशकमा बाहुनडाँगीमा हात्तीले अकल्पनीय मानवीय तथा भौतिक क्षति गर्न थालेपछि स्थानीय समुदायको आक्रोश हात्तीतर्फ सोझियो । जसका कारण लुकीछिपी मानिसहरुले हात्ती मार्न थाले । गोली हानेर, विषयुक्त भालाले रोपेर र करेन्ट लगाएर हात्ती मार्न थालिए । खुनको बदला खुन भनेर्झै मान्छेले जनावरसँग प्रतिशोध साँध्न थाल्यो । तथापि हात्तीसँगको द्वन्द्व रोकिएन ।

मानिसले हात्तीको बासस्थान खुम्च्याउँदै बस्ती र खेतीपाती विस्तार गर्न थालेपछि हात्तीको बथान आहारको खोजीमा बस्ती चहार्न थालेको मानिन्छ । दुबैको बासस्थान र आहारविहारको क्षेत्र एउटै भएका कारण अस्तित्वका लागि संघर्ष हुने नै भयो । जसले पाँच दशकदेखि झापामा मानव–हात्ती द्वन्द्वले विकराल रुप लिइरहेको छ ।

अनेकन उपाय काम नलागेपछि मानव–हात्ती सहअस्तित्वको नयाँ लक्ष्यसहित मानिसहरु अघि बढ्न थालेका छन् । जसले तत्काल कुनै परिणाम नदिए तापनि बाँच्नका लागि जीवनमरणको संघर्ष गरिरहेको धरतीकै भीमकाय जनावर हात्तीसँगको मानिसको टकराव भविष्यमा न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।

भिडेर होइन, मिलेर बाँच्ने नीति अन्तर्गत हात्तीका लागि विचरण र आहारमा अवरोध नगर्ने सहअस्तित्वको यो आइडिया जहाँबाट आएको भए तापनि राम्रो र वैज्ञानिक लाग्दछ । 

पुस्तौदेखि विचरण गरिरहेको आसामदेखि नेपालसम्मको करिडरमा डुलफिर गर्न हात्तीलाई रोक्न सम्भव छैन । बरु, जति रोक्यो उति क्षति बढ्ने सम्भावना नकार्न सकिन्न । सीमामा विद्युतीय तारबार, जंगलमा तारबार, सुरुङबार, पटाका, साइरन सबैसँग हात्ती अभ्यस्त भइसकेको छ । 

धरतीको सबैभन्दा ठूलो जीव हात्तीलाई लोप हुनबाट जोगाउनु एकातिर चुनौतिपूर्ण छ भने अर्कातिर हात्ती जोगाएर मानिस मरिदिनु पर्ने कुरा जायज हुन सक्दैन । यही बीचबाट सहअस्तित्वको नीति जरुरी र औचित्यपूर्ण ठहरिएको हो ।

बाहुनडाँगीका हात्तीपीडित किसानहरुले हात्तीमैत्री खेतीपाती गर्न थालेका छन् । हात्ती बाली खान आयो भने धपाउन छाडेका छन् । बरु हात्ती बिमामार्फत क्षतिपूर्ति लिन थालेका छन् । हात्ती लखेट्ने कार्य नगर्दा केही वर्षयता हात्तीले मानवीय कुनै क्षति नपुर्याएको नौलो अनुभव बाहुनडाँगीबासीले पाएका छन् ।

भर्खरै अर्जुनधारा नगरपालिकाको वडा नं. ३ स्थित जुकेखाडी सामुदायिक बनले जंगल क्षेत्रमा बाँस, कटहर, केरा, अम्बक लगायतका फलफूलका बोटविरुवा रोपेको छ । 

बनको हात्ती बनमै रमाओस् भनेर जंगलभित्र फलफूलका विरुवा रोपिएको सामुदायिक बनका पदाधिकारीहरु बताउँछन् । जुकेखाडी जंगलभित्रको दमार र गैडे आहाल क्षेत्रको हात्तीको पुरानो बासस्थान हो । रातभरि यही जंगलको झाडीमा लुकेर बस्ने गरेका रैथाने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा मान्छेको बस्ती चहार्ने गर्छन् । मानिसको खेतबारीमा फलेका अन्न र फलफूल खाने हात्तीसँगको जम्काभेटमा मानिसको ज्यानै जाने गरेको छ ।

गाउँ पस्ने हात्तीलाई पनि बाँचेर जंगल फर्किन सजिलो छैन । जंगलको वरिपरि राखिएको विद्युतीय घेरा तोड्नुपर्ने र मानिसहरुले घर वरिपरि राखेको प्रत्यक्ष करेन्ट भएको घेरा समेत तोड्नु पर्ने भएकाले त्यहाँ हात्तीले ज्यान गुमाउन सक्छ । 

जुकेखाडीको गैडे आहाल क्षेत्रमा ठूलो प्राकृतिक पोखरी छ । जहाँ हात्तीले पानी पिउने र पौडिने गर्दछन् । यही वरिपरि हात्तीलाई मन पर्ने खानेकुराका विरुवा रोपिदिदा हात्ती जंगलमै बस्ने अपेक्षा गरिएको छ ।

मेचीनगर र खासगरी बाहुनडाँगी क्षेत्रमा भने पछिल्ला दिनमा जंगली हात्ती मारिने क्रम बढेको छ । गत साता सुके निन्दाको बगरमा हुर्किदो उमेरको हात्ती एकाविहानै मरेको अवस्थामा भेटियो । गत महिना धाइजनको कालिका बन नजिक अर्को हात्ती दाह्रा लुटिएको अवस्थामा मृत फेला परेको थियो । कतै चोरी शिकारीको गिरोह सक्रिय त भएको छैन ? अनेकन शंका उत्पन्न हुन थालिसकेको छ । बाहुनडाँगीमा धमाधम हात्ती मारिने क्रमले मानव–हात्ती सहअस्तित्वको नारा र व्यवहारमा खाडल बढेको छ ।

मानव–हात्ती सहअस्तित्वका लागि जुकेखाडी सामुदायिक बन समिति बाहुनडाँगीभन्दा एक कदम अघि बढेको छ । प्रकृतिप्रेमी खुदुनाबारीबासीको यो प्रयास सार्थक बनोस् शुभकामना ।

यी समाचार पनि क्लिक गरेर पढ्नुहोस्
हात्ती र बाँदरको आहारका लागि सामुदायिक बनमा वृक्षारोपण
मेचीनगरमा अर्को हात्ती पनि मर्यो