२३ भदौ २०८१, आइतवार

झापामा दुई वर्षमै बन्यो १२० किलोमिटर तटबन्ध

२१ असार २०८१, बिहिवार
Image

झापा, २० असार । जनताको तटबन्ध कार्यक्रम अन्तर्गत झापाको नदी किनारमा दुई वर्षमा १२० किलोमिटर बाँध निर्माण भएको छ । बाँध निर्माणपछि हजारौं बिगाहा खेतीयोग्य जग्गा र मानव वस्ती बाढीबाट जोगिएको छ ।

आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को अवधिमा उक्त तटबन्ध निर्माण भएको हो । बाँध निर्माणमा रु. तीन अर्ब ८९ करोड ३५ लाख खर्च भएको कार्यालयका सूचना अधिकारी महेश खत्रीले बताउनुभयो ।

जिल्लामा छ वटा नदीमा तटबन्ध निर्माण भइरहेको छ । कार्यालयले मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा र मावा नदीको बाढी र जमिन कटान रोक्न वि.सं. २०७४ सालमा विस्तृत परियोजना प्रतिवेदन बनाएर तटबन्ध निर्माणको आयोजना अघि बढाएको थियो ।

आव २०७९/०७९ मा ११७ किलोमिटर र आव २०८०/०८१ मा तीन किलोमिटर बाँध निर्माण भएको छ । पछिल्लो वर्ष सरकारले तटबन्धका लागि बिनियोजन गरेको बजेट अपर्याप्त देखिएको छ ।

बिगत दुई वर्षमा मेची नदीमा १०.५३ किमि, बिरिङमा २७.८५ किमि, कनकाईमा २७.९८ किमि, कमलमा १४.९८ किमि र रतुवा–मावामा ३८.६१ किमि बाँध निर्माण भएको खत्रीले जानकारी दिनुभयो ।

जिल्लाका प्रमुख पाँच नदीमा ३०४ किलोमिटर लामो तटबन्ध निर्माण गर्ने कार्यालयको लक्ष्य रहेको छ । दुई वर्षमा लक्ष्यको तुलनामा ३९.५ प्रतिशत मात्र भौतिक प्रगति भएको पाइएको छ । 

लक्ष्य अनुरुपको तटबन्ध निर्माणका लागि रु. १७ अर्ब ६१ करोड सात लाख ५२ हजार बजेट आवश्यक पर्दछ । आव २०८०/०८१ मा रु. छ करोड ६५ लाख मात्र बजेट बिनियोजन भएका कारण तटबन्ध निर्माणको प्रगति न्यून देखिएको सूचना अधिकारी खत्रीले बताउनुभयो ।

तटबन्ध निर्माण १९ स्थानमा भइरहेको छ । सबैभन्दा बढी रतुवा–मावा नदीको छ स्थानमा बाँध निर्माण भइरहेको छ । कमल नदीको चार स्थान, कनकाईको चार स्थान, बिरिङको तीन स्थान र मेचीको दुई स्थानमा तटबन्ध बनिरहेको उहाँले जानकारी दिनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।