२३ भदौ २०८१, आइतवार

पत्रकार महासंघको ताला खुल्यो, अर्को नामावली आउने

३१ असार २०८१, आइतवार
Image

झापा, ३० असार । सदस्यता वितरण विधिसम्मत नभएको विरोधमा नेपाल प्रेस युनियनले लगाएको ताला खोलेपछि नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । 

युनियनले केन्द्रीय कार्यालय, सञ्चार ग्राम, काठमाडौँसहित महासङ्घको प्रदेश र जिल्ला शाखा समेत गरी करिब ४७ कार्यालयमा लगाएको ताला आइतबारबाट खोल्न थालेको युनियनका अध्यक्ष शिव लम्सालले बताए ।

युनियनले यही असार १४ गते तालाबन्दी गरेको हो । जसका कारण महासङ्घको निर्धारित उम्मेदवारी मनोनयनको कार्यक्रमसहित निर्वाचन प्रभावित बनेको थियो ।

१५ गते केन्द्रीय निर्वाचन समितिले सोही दिन तय उम्मेदवारी दर्तासहितका निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको थियो भने यही असार २२ गतेका लागि तय गरिएको निर्वाचन अवरुद्ध भएको थियो । त्यसअघि जेठ २६ का लागि तय गरिएको निर्वाचन तालिका पनि सदस्यता विवादकै कारण अवरुद्ध भएको थियो ।

महासङ्घ र युनियनबिच शनिवार महासङ्घको निर्वाचन प्रक्रिया अविलम्ब अगाडि बढाउन भन्दै दुई बुँदे सहमति भएको थियो । जसमा मतदाता नामावलीमा प्रक्रियामा आएर पनि छुट्न गएका सक्रिय पत्रकारहरूको हकमा युनियनले देखाएको चासो र मागलाई सम्बोधन गर्ने र युनियनले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने उल्लेख छ ।

महासङ्घले प्रक्रियामा आएर छुट्न गएका सक्रिय पत्रकारहरूको नाम समावेश गरी निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले तत्काल सिर्जित असहज परिस्थितिलाई महासङ्घले सहज बनाएको जनाउ दिएपछि समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।