२३ भदौ २०८१, आइतवार

।। मेचीनगर नगरपालिका ।।

खातामा पैसा हुँदाहुँदै लेखा शाखाले रोक्यो ९० वटा बिलको भुक्तानी

१ साउन २०८१, मङ्गलवार
Image

मेचीनगर, ३१ असार । मेचीनगर नगरपालिकाले आफ्नो खातामा पैसा हुँदाहुँदै ९० वटा बिलको भुक्तानी रोकेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा कार्य सम्पन्न भएका स्थानीय परियोजनाको प्रक्रिया बमोजिम बिल स्वीकृत भए तापनि अन्तिममा आएर लेखा शाखाले चेक नबनाएर अकारण भुक्तानी रोकेको हो ।

नगरपालिकाले यसपटक पेश भएका शतप्रतिशत बिलको भुक्तानी दिनेगरी पर्याप्त बजेटको व्यवस्था मिलाएको जनाएको थियो । तर, भुक्तानीका लागि चेक नबनाउँदा बिभिन्न स्रोत र शिर्षकबाट बिनियोजित बजेट यसपाली पनि फ्रिज भएको छ ।

चेक काट्न मिल्ने अन्तिम दिनको राति १२ बजेसम्म लेखा शाखाका कर्मचारीहरुले कार्यालयमै बसेर चेक काटेका थिए । बेलैमा पेश र स्वीकृत भएका बिलको भुक्तानी बेलैमा नगरेर अन्तिम रात चेक काट्ने लेखा शाखाको शैली यसपाली पनि दोहोरियो ।

अन्तिम राति क कसको चेक काटियो भन्ने सूची नगरपालिकाको सूचना बोर्डमा टाँसिएको छ । तर, कुन कुन भुक्तानी रोकियो भन्ने जानकारी नगरपालिकाले सार्वजनिक गरेको छैन ।

स्वार्थ समूहको प्रभावमा परेर लेखा शाखाले कतिपयको भुक्तानीलाई प्राथमिकतामा राखेको र कतिपयलाई पूर्वाग्रह राखेर दुःख दिन भुक्तानी रोकेको चर्चा चलेको छ ।

खातामा रहेको बजेट फ्रिज गर्ने तर बिलको भुक्तानी नदिने प्रवृत्तिले नगरपालिकाप्रति जनाक्रोश बढाउने गरेको छ । जनतामा असन्तोष बढाउन र नगरपालिकाको बद्नामी गराउन लेखा शाखाको ढिलासुस्ती र पक्षपातपूर्ण व्यवहार समेत कारक बन्ने गरेको छ ।

“क कसको के कारण भुक्तानी प्राथमिकतामा परेको हो र क कसको भुक्तानी पूर्वाग्रह राखेर रोकिएको हो भन्ने तथ्य संकलन गरिरहेका छौं,” भुक्तानी रोकिएका पीडित एक नगरबासी भन्नुहुन्छ–“चेक बनाउने अन्तिम मध्यरातमा नगरपालिकाको लेखा शाखामा को को स्वार्थ समूह पसेर के के गरेका थिए भन्ने खोजी गर्न नगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरुलाई आग्रह गर्दछु ।”

ती पीडितले चेक काट्ने अन्तिम दिनको मध्यरातसम्मको नगरपालिकाको दृश्य देखेर आफु चकित भएको बताउनुभयो । उक्त रात नगरपालिकाको सीसी क्यामेरामा रेकर्ड भएका दृश्य र कुराकानी छानविन हुनुपर्ने उहाँले माग गर्नुभयो । चेक काट्ने अन्तिम दिन मध्यरातसम्म लेखा शाखाका केही कर्मचारीको फोन कुराकानीको डिटेल्स संकलन गरेर छानविन गरे स्वार्थ समूहको पोल खुल्ने ती पीडितले दावी गर्नुभएको छ । 

लेखा शाखाले कतिपय स्वार्थ समूहको बिलको भुक्तानी बोलाई बोलाई दिने गरेको, प्रभावमा परेर काटिएको चेक लिन फोन गरेर बोलाउने गरेको र केहीको चेकको भुक्तानी सम्बन्धितको खातामा हाल्ने व्यवस्था समेत मिलाउने गरेको उहाँले दावी गर्नु भयो ।

लेखा शाखाको मुख्य जिम्मेवारी लेखा अधिकृत पदमबहादुर कार्कीले सम्हाल्नु भएको छ । बिगतदेखि नै बजेट फ्रिज गर्ने र खातामा पैसा हुँदाहुँदै बिलको भुक्तानी रोक्ने भूमिकामा कार्की नै दोषी भएको आरोप लाग्ने गरेको छ ।

अधिकांश समय बिदामा बस्ने र कार्यालय समयमा कार्यकक्षमा ताला लगाएर बाहिर जाने लेखा अधिकृत कार्कीकै कारण भुक्तानीमा ढिलासुस्ती हुँदै जनगुनासो छ । लेखा अधिकृत कार्कीको प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

सबै सेवाग्राहीको चेक काटेपछि खबर गर्नुपर्ने र सकभर सेवाग्राहीको बैंक खातामा भुक्तानी पठाइदिने व्यवस्था मिलाउनु पर्नेमा लेखा शाखाले खास आस्था, सम्बन्ध र स्वार्थ भएका व्यक्ति वा संस्थाको मात्र भुक्तानी सहज बनाएर अरुलाई दुःख दिने गरेको ती पीडितको दावी छ ।

भुक्तानी रोकिनेहरुमा सर्वसाधारण, स्थानीय उपभोक्ता समूह, साना विकासे परियोजना र मेचीनगर सञ्चार प्रतिष्ठानको लेखनवृत्तिको रकम पनि परेको छ । मुलुकमै पहिलोपल्ट मेचीनगरमा गठन भएको प्रतिष्ठानले स्थानीय मिडियाको प्रबर्धनका लागि लोककल्याणकारी विज्ञापन, तालिम र लेखनवृत्तिका लागि बजेट छुट्याएको थियो । प्रतिष्ठानका लागि नगरपालिकाले छुट्याएको बजेटले बिलको भुक्तानी दिन पुग्थ्यो । तर, नगरपालिकाको लेखा शाखाले चेक नबनाएपछि भुक्तानी रोकिएको छ ।