२३ भदौ २०८१, आइतवार

बीएन्डसीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

१ साउन २०८१, मङ्गलवार
Image

झापा, १ साउन । बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटलमा आजदेखि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

दुई वर्षअघि २०७९ साउन १ गते स्थगित भएको स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन गरिएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।

गत जेठमा स्वास्थ्य बिमा बोर्डले हस्पिटललाई बिमा कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको थियो । आज पहिलो दिन नै हस्पिटलमा स्वास्थ्य बिमामार्फत उपचार गराउन उल्लेख्य सर्वसाधारण आएको गिरीले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक बाहेकका बिरामीले बिमामार्फत उपचार गराउँदा कूल खर्चको २० प्रतिशत आफै व्यहोर्नु पर्ने बिमा बोर्डले जनाएको छ । राज्यकोष माथिको भार कम गर्न बोर्डले हालै मात्र यस्तो नीति लागू गरेको हो । 

हस्पिटलमा टाउको तथा मेरुदण्डको चोटको उपचारमा रु. एक लाखसम्म सहुलियत उपचार पाउने “विपन्न नागरिक औषधि कोष कार्यक्रम” लागू भएको छ ।

स्वास्थ्य विभाग र हस्पिटलबीच गत जेठको पहिलो साता उक्त कार्यक्रम लागू गर्ने सम्बन्धी सम्झौता भएको थियो । हस्पिटलमा बिमाको उपचार सुविधा लिन झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट सर्वसाधारण आउने गरेका छन् ।

यस्तो सुविधा लिनका लागि हस्पिटलबाट विरामीको सर्टिफिकेट लिएर स्थानीय पालिका जानु पर्ने र त्यहाँबाट सिफारिस लिएर आएपछि हस्पिटलले रु. एक लाखको उपचार सुविधा दिने गिरीले बताउनुभयो ।

हस्पिटलले जेठबाटै मिर्गौला रोगीका बिरामीलाई निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गर्न थालेको छ । नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आएको छ । 

झापामा मिर्गौलाका रोगीले डाइलासिस सेवा पाउन पालो कुर्नुपर्ने अवस्था नआवोस् भनेर बीएन्डसी हस्पिटलले विपन्न नागरिक उपचार कोषमार्फत निःशुल्क डाइलासिस सेवा सुरु गरेको गिरीले बताउनुभयो ।