२ कार्तिक २०८१, शुक्रवार

मन्त्री बन्ने अवसर गुमाए शर्माले

३ साउन २०८१, बिहिवार
Image

झापा, ३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपाली मन्त्री बन्ने अवसर गुमाउनु भएको छ ।

कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नु भएको बेला शर्मालाई मन्त्री बन्न प्रस्ताव (अफर) आएको थियो ।

झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य शर्मालाई उहाँको निर्वाचन क्षेत्रका बासिन्दाले समेत मन्त्रीको रुपमा हेर्न चाहेका थिए । तर, शर्माले हातमा आइसकेको मन्त्री बन्ने अवसर त्याग्नु भयो ।

स्रोतका अनुसार शर्मालाई प्रधानमन्त्री ओलीले पनि मन्त्रीको रुपमा क्याबिनेटमा स्वागत गर्न चाहनु भएको थियो । संसद्मा नोकझोक गरिरहने ओली र शर्माबीच व्यक्तिगत सम्बन्ध भने निकै घनिष्ठ छ ।

कांग्रेस–एमाले गठबन्धन बनेपछि शर्मा मन्त्री बन्ने सर्वत्र चर्चा थियो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा नजाने बताएपछि शर्माले नै सरकारमा कांग्रेसको अगुवाई गर्ने अनुमान थियो । तर, शर्माले पनि आफु नजाने सार्वजनिक अभिव्यक्ति नै दिनुभयो ।

शर्मा मन्त्री बनेको भए उहाँको राजनीतिक जीवनमा पनि धेरै लाभ हुनेथियो । अवसर पाए प्रधानमन्त्री नै बन्ने बताउँदै आउनु भएको शर्माले संयुक्त सरकारमा पार्टीको नेतृत्व गर्ने अवसरको सदुपयोग गर्नु भएको भए उहाँ सुरुमै उपप्रधानमन्त्री बन्ने पक्का थियो ।

उपप्रधानमन्त्री पदबाट क्याबिनेट प्रवेश गर्दा उहाँले सरकार चलाउने प्रशस्त अनुभव हासिल गर्नसक्नु हुन्थ्यो । जसले उहाँलाई भविष्यमा प्रधानमन्त्री बन्ने मार्ग सहज हुन्थ्यो ।

अर्को लाभ झापा–१ का बासिन्दाले पाउने थिए । प्रभावशाली मन्त्री बन्न सकेको भए शर्माले प्रधानमन्त्री ओलीलाई विश्वासमा लिएर ठूलो बजेट आफ्नो क्षेत्रमा ल्याउन सक्नु हुन्थ्यो । जसको राजनीतिक लाभ कांग्रेस पार्टीले पनि लिन सक्थ्यो ।

एमालेका अग्नि खरेललाई पराजित गरेर प्रतिनिधिसभामा पुग्नु भएको शर्माका लागि मतदाताको विश्वास जोगाइराख्न विकास निर्माणमा उहाँको भूमिका अपेक्षित हुन्छ । अहिले उहाँले विकासको बजेट अपेक्षित रुपमा ल्याउन सक्नु भएको छैन । अझ मन्त्री बन्ने अवसर नै त्यागेपछि शर्मासँग कांग्रेसकै मतदाता तथा शुभेच्छुक सन्तुष्ट छैनन् ।

अर्का महामन्त्री गगन थापा सरकारमा नजाने भएका कारण आफ्नो कार्यकुशलता देखाउन शर्माका लागि मन्त्री बन्ने अवसर उपयुक्त हुन सक्थ्यो । देशबासीले शर्माको क्षमतालाई सरकारमा पारख गर्न पाउनु पथ्र्यो । तर, शर्मा सरकारबाट स्वेच्छिक रुपमा टाढिनु भयो ।

वत्र्तमान सरकारमा एमाले केन्द्रीय सदस्य देबेन्द्र दाहाल मात्र प्रधानमन्त्री ओलीका जिल्लाबासी हुनुहुन्छ । उहाँलाई ओलीले भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनु भएको छ ।

उपप्रधानमन्त्री पद लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नुहुने भएको छ । शर्मा सरकारमा जान तयार हुनु भएको भए सिंहलाई पार्टीले ब्याक गराउने थियो ।

शर्मा निकट स्रोतले उहाँ कांग्रेसकै नेतृत्वको सरकारबाट मन्त्री बन्न सुरुवात गर्ने सोचमा अडिग रहनु भएको दावी गरेको छ । ओलीपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा मात्र शर्मा मन्त्री बन्ने उहाँले जिकिर गर्नुभयो ।