२३ भदौ २०८१, आइतवार

भीमसेनको शिलामा आयो पसिना, अनिष्ट टार्न पूजापाठ

५ साउन २०८१, शनिवार
Image

झापा, ५ साउन। दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । 

भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजेदेखि ‘पसिना’ आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार दिउँसो ३ः५१ बजेसम्म शिलामा ‘पसिना’ आएको थियो । मूर्तिको बायाँ भागमा ‘पसिना’ आएको उहाले बताउनुभयो ।

“ दिउँसो १ः४७ देखि ३ बजेर ५१ मिनेटसम्म दुई घण्टा पसिना आएको भनेर मन्दिरका पुजारीले जानकारी गराउनुभएको छ,” सीडीओ पोखरेलले भन्नुभयो , “शिलाको बायाँ भाग र मस्तिष्क भागमा थोरैथोरै पसिना आएको हो ।”

‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजा आराधना गर्न थालिएको छ । भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ ।

शिलामा आएको ‘पसिना’लाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । त्यसलाई ‘महाप्रसाद’ भनिने उनले बताए । शिलाको ‘पसिना’ पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन पनि छ ।

“जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहित पसिना पुछिएको कपास, त्यसलाई महाप्रसाद भनिन्छ, त्यो राष्ट्रपतिको कार्यालयमा पठाइन्छ,” उहाँले भन्नुभयो, “हामी भोलि (आइतबार) नै त्यो राष्ट्रपति कार्यालयमा पठाउँछौँ । गृह मन्त्रालयमा पनि पठाउँछौँ ।” 

उहाँले भीमसेनको शिलामा यसअघि ०७८ वैशाख २५ गते ‘पसिना’ आएको आफूहरूले जानकारी पाएको बताउनुभयो  । “यसअघि २०७८ साल वैशाख २५ गते पसिना आएको रहेछ, त्यसपछि आज हो,” उहाँले भन्नुभयो ।

(बाह्रखरीबाट)