२३ भदौ २०८१, आइतवार

बंगलादेशबाट ३४० विद्यार्थी काँकडभिट्टा आइपुगे

६ साउन २०८१, आइतवार
Image

झापा, ६ साउन । पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बंगलादेशबाट फर्केका छन् । बंगलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्केका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले शनिवार १४१ जना, शुक्रवार ११४ जना र विहीवार ८५ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्केको बताउनुभयो ।

नेपाली विद्यार्थीहरुसँगै बंगलादेशमा अध्ययनरत् मालद्विपकी एक छात्रा समेत काँकडभिट्टा नाका भएर नेपाल आएको उहाँले जानकारी दिनुभयो ।

“मालद्विपकी छात्रा नेपालीहरुसँगै बंगलादेशमा पढ्नु हुँदोरहेछ,” अध्यागमन प्रमुख पनेरुले भन्नुभयो–“आन्दोलनका कारण हिंसा बढेपछि उहाँ पनि नेपालीहरुसँगै आउनुभयो । भारतीय अध्यागमन अधिकारीहरुले पनि उहाँलाई नेपाल जान अनुमति दिएका रहेछन् ।”

चिकित्सा शिक्षा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थीहरु बंगलादेशमा रहँदै आएका छन् । केही समययता बंगलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ । त्यहाँका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।

ढाकास्थित नेपाली राजदूताबासले समेत ‘एडभाइजरी नोटिस’ जारी गर्दै नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको छ । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूताबासमा जानकारी गराउन भनिएको छ ।

बंगलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरुले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरिरहेका छन् । राजधानी ढाकादेखि २० किलोमिटर टाढा इनाम मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका भूषण पोखरेल कफ्र्यूका कारण स्वदेश फर्किन नसकिरहेको उहाँका वुवा जयधर्म पोखरेलले बताउनुभयो ।

“धेरै नेपाली विद्यार्थीहरु कफ्र्यूका कारण होस्टेलबाट सडकमा निस्कने अवस्था छैन,” उहाँले भन्नुभयो–“ढाकामा रहेको नेपाली दूताबासले सुरक्षा स्कर्टिङमा एयरपोर्टसम्म लैजाने व्यवस्था गरिदिए धेरै विद्यार्थीले घर फर्किन पाउने थिए ।”

बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएका कारण वाट्स एप, मेसेन्जर लगायतका मोवाइल एप्लिकेसनबाट समेत सम्पर्क स्थापित गर्न नसकिएको र टेलिफोन सम्पर्कमा समेत नेटवर्कको समस्या देखिएको अभिभावक पोखरेलले बताउनुभयो ।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौं अवतरण हुने र काँकडभिट्टा पूर्वीनाका हुँदै स्थलमार्गबाट नेपाल आउने दुई सजिला विकल्प छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।