२ कार्तिक २०८१, शुक्रवार

बंगलादेशबाट फर्किएका विद्यार्थी भन्छन्–“बल्ल ढुक्क भइयो”

६ साउन २०८१, आइतवार
Image

झापा, ६ साउन । बंगलादेशबाट पूर्वीनाका काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किने नेपाली विद्यार्थीको लर्को लागेको छ । आज एकैदिन दुई सय विद्यार्थी काँकडभिट्टा सकुशल आइपुगेका छन् ।

“हिजो र अस्तिको भन्दा आज विद्यार्थीको आगमन बढ्यो,” अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले विद्यार्थीको आगमन बारे जानकारी दिदै भन्नुभयो–“विहानैदेखि उहाँहरु आइरहनु भएको छ । छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई घर जाने वातावरण मिलाइरहेका छौं ।”

बंगलादेशमा राजनीतिक आन्दोलन हिंसात्मक भएपछि बिगत सात दिनदेखि नेपाली विद्यार्थीहरु फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको संख्या ७०० नाघिसकेको अध्यागमन प्रमुख पनेरुले बताउनुभयो ।

आज दिउँसो काँकडभिट्टा आइपुग्नु भएकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका ४०० भन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताउनुभयो ।

इटहरी निवासी राईले विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बंगलादेश सरकारले सुरक्षा स्कर्टिङ गरेको थियो । “कलेजका प्रोफेसर र कर्मचारीहरु पनि भारतको बोर्डरसम्म हामीलाई पुर्याउन आउनु भयो, उहाँले भन्नुभयो–“बाटोभरि कफ्र्यु लागेको अवस्था थियो । भारतबाट आफ्नै पहलमा काँकडभिट्टा आइपुग्यौं ।”

आजै एउटै लस्करमा नौ वटा बसमार्फत भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजबाट ओसारिएका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रको भएको उहाँले जानकारी दिनुभयो । केही विद्यार्थी भूटानका समेत थिए । नेपाल आउने विद्यार्थीहरु दुई सयको हाराहारीमा रहेको उहाँको भनाई थियो ।


बंगलादेशमा रहँदा त्रास र अन्योलबाट गुज्रिएका नेपाली विद्यार्थीहरुले काँकडभिट्टा आइपुग्दा शान्ति र ढुक्कको सास फेर्न पाएको बताएका छन् । रंगपुर कम्युनिटी मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् समृद्ध थापाले स्वदेश फर्किने हतारका कारण आज सबै विद्यार्थी भोकै रहेको बताउनुभयो ।

काठमाडौं निवासी उहाँले भन्नुभयो–“एक हप्तादेखि होस्टेलबाट बाहिर निस्कन पाएका थिएनौं । सडकमा दिनहुँ गोली चलेको आवाजले हाम्रो मुटु हल्लिन्थ्यो । कहिले घर जान पाइएला जस्तो भएको थियो । आज खाना खाने फुर्सद पनि भएन । काँकडभिट्टा आइपुग्दा भोक र तिर्खा सबै हरायो । ढुक्क भइयो ।”

उत्तरी बंगलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत् नेपाली विद्यार्थीहरु नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका छन् ।  काँकडभिट्टा आइपुग्ने वित्तिकै उनीहरुले परिवारसँग फोन र इन्टरनेट सम्पर्क गरी आफु सकुशल रहेको खबर सुनाउने गरेका छन् ।

सुर्खेत घर बताउने रेणुका गुरुङले बंगलादेशमा फोन र इन्टरनेट बन्द भएपछि अत्यास लागेको अनुभूति सुनाउनुभयो । नयाँ विद्यार्थीहरुलाई सम्झाउन गाह्रो भएको उहाँले बताउनुभयो ।

बंगलादेशमा शान्ति बहाली नभएसम्म नफर्किने उहाँको भनाई थियो । उहाँले भन्नुभयो–“आज विहान ४ बजे कलेजबाट हिँडेका थियौं । शिक्षकहरुले हामीलाई बोर्डरसम्म ल्याउन सहयोग पुर्याउनु भयो । जुस र पानी मात्र पिएर हामी काँकडभिट्टा आइपुग्यौं ।”

बंगलादेशस्थित कलेजले त्यहाँको सुरक्षा निकायसँग समन्वय गरेर भारतीय बोर्डर फुलबारीसम्म ल्याइदिएको कञ्चनपुरकी रक्षा भण्डारीले बताउनुभयो । विद्यार्थीहरुले बंगलादेशको बंगलाबन्ध, भारतको फूलबारी र पानीटंकी नाकामा अध्यागमन प्रक्रिया पूरा गरेपछि मात्र नेपाल आउन पाउँछन् ।

पानीटंकी नाकाबाट ई–रिक्सा र ट्याक्सी चढेर उनीहरु सिधै काँकडभिट्टस्थित अध्यागमन कार्यालयमा आइपुग्छन् । अध्यागमन प्रक्रिया सकेर उनीहरु झापा, इलाम लगायतका नजिकका जिल्लाबासी भए गाडी रिजर्भ गरेर घर जाने गरेका छन् ।

काठमाडौं र त्योभन्दा पश्चिमका विद्यार्थीहरु भद्रपुर विमानस्थलबाट हवाईमार्ग हुँदै घर जाने गरेका छन् । कतिपय अभिभावकहरु छोराछोरी लिन काँकडभिट्टाको अध्यागमन परिसरमै पुग्ने गरेका छन् । बंगलादेशको फरिदपुरस्थित मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत् प्रतिभा नायकलाई लिन उहाँका आमावुवा अध्यागमन परिसरमै घण्टौं कुर्नु भएको थियो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।