८ कार्तिक २०८१, बिहिवार

सन्दर्भ :अन्तराष्ट्रिय ध्वाँसे चितुवा दिवस (४ अगस्ट)

ध्वाँसे चितुवालाई चिनौं

२० साउन २०८१, आइतवार
Image

हामीमध्ये धेरैजनाले घरपालुवा विरालाहरुलाई देखेका छौं । जीव शोधकर्ताहरुले हजारौं वर्ष पूर्वबाट जङ्गली विरालाका प्रजातीहरुबाटै क्रमशः घर पालुवा विरालाहरु छुट्टिएर आएका वताएका छन् । हामीले पाल्ने सबै प्रकारका घरपालुवा विरालाहरुका पूर्वजहरु जङ्गली विरालानै हुन् र तीनका धेरैजसो पूर्वज हाल पनि जङ्गली रुपमै भेटिन्छन् । 

हाम्रो देश नेपालमै पनि भेटिने लगभग १.५ किलोग्राम तौल भएको सानो आकारको, नेपाली नाम खियाले विरालो (रस्टी स्पॉटेड क्याट) देखि रूसमा भेटिने सुदूर पूर्वको ३०० केजी सम्मको तौल हुने विशाल साइबेरियन बाघ (साइवेरियन टाइगर)सम्म, संसारमा ४१ प्रजातिका जंगली बिरालाहरू भेटिएका छन् । जसमध्ये नेपालमा १३ प्रजातीका जङ्गली विरालाहरुको अभिलेख गरिएका छन् । नेपालमा अभिलेख भएका १३ मध्ये आकार तथा कदकाठीका हिसावले पाटे बाघ, चितुवा तथा हिम चितुवा पछि चौथो क्रममा पर्दछ, हामीले यस लेखमा उल्लेख गर्न लागेको ध्वाँसे चितुवा (क्लाउडेड लियोपार्ड) जसको वैज्ञानिक नाम नियोफेलिस् नेवोलुसा राखिएको छ । 


यो चितुवा ठूला विराला प्रजाती र साना विराला प्रजातीलाई जोड्ने कडीको रुपमा लिन सकिन्छ । यो चितुवा धेरै गुण विशेष तथा शिकारको कौशलको हिसावले  अद्वितीय छ । नेपालका २७ प्रजातीका संरक्षित स्तनधारी वन्यजन्तुहरु मध्येमा, एक अति महत्वपूर्ण वन्यजन्तु ध्वाँसे चितुवालाई मान्न सकिन्छ । यो जन्तु विशेष गरि दिनको समयमा वन क्षत्रका रुखहरुमा उज्यालोबाट छेलिएर आराम गर्ने तथा लुक्ने स्वभावको र रातको समयमा जमिनमा चाहारेर शिकार गर्ने बानीको हुन्छ । 

स्वभावैले रुख चढ्नेका रूपमा परिचित यो जीव, विरालोका परिवारमा अन्य भन्दा  उत्कृष्ट मानिन्छन् । योे चितुवाको पछाडिको खुट्टाहरू घुम्न पनि सक्ने, लम्बाईमा छोटा, शक्तिशाली खुट्टाहरू हुनाले तीनको मद्दतले यो जीवहरूलाई छिटो माथि चढ्न मात्र होइन, ठूला र तीखा नङ्ग्रा भएका पंजाहरू प्रयोग गरेर उल्टो भइ झुण्डिने र सोझै टाउको तल राखी, सिधै रुखहरुबाट ओर्लन सक्षम बनाउँछ । लामो पुच्छरले रुखहरुमा १५ फिटसम्मको फड्को मार्दा पनि जिउ सन्तुलन गर्न मद्दत गर्ने हुन्छ । यस्को अर्को महत्वपूर्ण विशेषता यस्को कुकुर दाँत हो जस्को लम्बाई २ इन्च सम्मको हुन्छ । वयस्क भालेको तौल २४ केजी सम्म र पोथीको तौल १४केजीसम्म अभिलेख छ । जीउमा रौहरु खैरो वा पहेंलो–खैरो रङको हुन्छ र अनियमित गाढा धारहरू, दागहरू र धब्बाहरूले ढाकिएको हुन्छ ।  

यसले वाँदर, हरिण, लोखर्के, बँदेल साथै चरा आदीको शिकारको रुपमा खाने गरेको भेटिएको छ । यसलाई नेपाल, भारत भुटान आदी देशहरुका हिमालयको श्रृंखलामुनीका पहाडी क्षेत्रहरुमा वर्षावनहरुमा विशेषगरी भेटिएका अभिलेखहरु छन् ।

झापामा मिति ११ पुस २०७७ मा वुद्धशान्ती गाउँपालिकाको भोटेटारमा स्थानीयले नियन्त्रणमा लिई यो जीवलाई डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाएका थिए । हाल उपचार पश्चात सो चितुवा जामुनखाडी सिमसारको सानो चिडियाघरमा राखिएको छ । त्यसैगरि झापाको शनीअर्जुन नपाको हलुवागढ सामुदायिक वनमा केहि वर्ष अघि जङ्गली विरालो भनि पालेर राखेको वच्चालाई फोरेष्ट एक्सन नेपालका वनस्पतिविद श्री लिलानाथ शर्माले ध्वाँसे चितुवाको वच्चा भनेर चिनाएका थिए । यी प्रतिनिधि घटनाले झापामा पनि यो महत्वका जीव भेटिने जनाएको छ ।

यस जीवलाई वन्यजन्तु संरक्षण ऐन २०२९ अन्र्तगत संरक्षित जीवको रुपमा सूचिकृत गरिएको छ । हाल नेपालमा यसलाई दुर्लभ मानी भल्नरेवल श्रेणीमा राखिएको छ ।

यो जीव एसियाका केहि देशहरुमा मात्रै जङ्गली रुपमा सिमित रहेको छ । अन्य देशहरुमा यो चिडियाघर तथा खोरमा पालेका मात्रै भेटिन्छन् । हाम्रो देशमा समुद्री सतह देखी झापा इलामको मध्य २०० मीटरको होचो भुभाग र अग्लोमा लामटाङ नेशनल पार्कको ३४९८ मी उचाइ सम्मको स्थानमा यसको उपलब्धताका अभिलेख गरिएको छ ।  एसिया महादेशमा वा संसारमै दुई प्रजातीका मात्रै  ध्वाँसे चितुवा अभिलेख गरिएका छन् । हाम्रो देश तिर भेटिने ध्वाँसे चितुवा र सुमात्रा तथा व्रोनाइ तिर भेटिने सन्डा ध्वाँसे चितुवा । हाम्रो देशमा कतिवटाको सङ्ख्यामा यी जीव छन् भनी कुनै अभिलेख छैन, विभिन्न अन्य जीवका अभिलेखका निम्ति राखिएका क्यामरा ट्रापका आधारमा सोधकर्ताले नेपालमा हाल २०० देखी ३००को हाराहारीमा यो चितुवा रहेको हुनसक्ने आँकलन गरेका छन् । जङ्गल तथा प्रकृतीको स्वस्थ्य पारिस्थितिय प्रणालीलाई वचाइ राख्न र वन्यजन्तु पर्यटनको एक महत्वपूर्ण जीव ध्वाँसे चितुवा हाल संरक्षण र सचेतनाको कमजोरीेले विभिन्न खतराको जोखिममा छ । तसर्थ हरेक वर्ष अँग्रेजी अगष्ट महिना को ४ तारिख मनाइने ध्वाँसे चितुवा दिवस समुदायमा र विद्यार्थीमाझ मनाएर यो महत्वपूर्ण जीवको संरक्षणका निम्ति सरकारी तथा सामुदायिक स्तरमा हरसम्भव प्रयासहरु आवश्यक छन् ।

(लेखक : मेची चरा तथा वन्यजन्तु संरक्षण  समाजका अध्यक्ष, वन्यजन्तु फोटोग्राफर तथा खोज अनुसन्धानकर्मी हुनुहुन्छ ।)


लेखकको बारेमा
Image
देबेन्द्र खरेल

(लेखक : मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष,वन्यजन्तु फोटोग्राफर तथा खोज अनुसन्धानकर्मी हुनुहुन्छ।)