८ कार्तिक २०८१, बिहिवार

उपभोक्ता जागरण अभियानको केन्द्रीय साधारणसभा झापामा हुने

२६ साउन २०८१, शनिवार
Image

झापा, २६ साउन । उपभोक्ता जागरण अभियान नेपालको तेस्रो केन्द्रीय साधारणसभा झापामा आयोजना गरिने भएको छ ।

उपभोक्ता हक र हितका लागि स्थापित संस्थाको आज काठमाडौंको लोकन्थलीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले आउँदो भदौ २६ गते शनिवार साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैठक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको थियो । बैठकमा केन्द्रीय पदाधिकारीसहित संस्थाको झापा जिल्ला कमिटीका अध्यक्ष मोहन काजी र उपाध्यक्ष निलकण्ठ तिवारीको उपस्थिति रहेको थियो ।

‘केन्द्रीय साधारणसभा झापामा गर्ने मिति तय भयो,’ बैठकमा सहभागी संस्थाको झापा उपाध्यक्ष निलकण्ठ तिवारीले भन्नुभयो–‘झापाको मेचीनगरमा गर्ने कि कनकाई वा विर्तामोडमा कहाँ गर्ने भन्ने विषयमा निधो हुन बाँकी छ ।’

साधारणसभाले संस्थाको नयाँ नेतृत्व समेत चुन्ने भएको छ । आज भएको बैठकले देशभरका अस्पतालहरुमा विपन्न तथा असहाय विरामीको निःशुल्क उपचारका लागि १० प्रतिशत शैया उपलब्ध गराउनु पर्ने सरकारी नियमको कार्यान्वयनका लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने लगायतका निर्णय भएको अध्यक्ष मार्सेलीले जानकारी दिनुभयो ।

‘असहाय र विपन्नका लागि निःशुल्क उपचार गर्ने कानूनी व्यवस्था एकातिर छ, कार्यान्वयन चाहिँ भएको पाइँदैन,’ मार्सेलीले बैठकमा भएको निर्णय बारे जानकारी दिदै भन्नुभयो–‘अस्पतालहरुले १० प्रतिशत शैया छुट्याउनै पर्दछ भन्ने हाम्रो माग हो ।’

बजार स्वच्छताका लागि उपभोक्ता जागरुक र विक्रेता जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उहाँले संस्थाले विद्यालय तहबाटै उपभोक्ता जागरण अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको बताउनुभयो ।