८ कार्तिक २०८१, बिहिवार

केरखामा यात्रुवाहक बसको ठक्करले घटनास्थलमै नातिनी र हजुरबुवाको मृत्यु

७ कार्तिक २०८१, बुधवार
Image

झापा, ७ कार्तिक । कमल गाउँपालिका वडा नं. ४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं. ३ का ६० वर्षीय टेकबहादुर लिम्बु र उहाँकी ११ वर्षीया नातिनी कृपा लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले बताउनुभयो ।

उहाँका अनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको प्र१–०१–००१ख४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी चौकी केरखाले बसका चालक बिशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । घटनापछि स्थानीयबासीले राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।