१९ मंसिर २०८१, बुधवार

सहकारीलाई ठगहरुले निश्चित व्यक्तिहरुका लागि पैसा असुल्ने भाडो बनाइयो ः गोसाई  

२४ कार्तिक २०८१, शनिवार
Image

भक्तपुर । बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सहकारी ठगहरुले सहकारीलाई निश्चित व्यक्तिका लागि पैसा उठाउने केन्द्र बनाएको आरोप लगाएका छन् । सुकुण्डा वचत तथा श्रृण सहकारी संस्था लिमिटेड जगाती ७ भक्तपुरको शनिबार सम्पन्न १७ औ वार्षिक साधारणसभाको उदघाटन गर्दै उनले यही कारण सहकारीमा समस्या आएको बताए ।  
उनले सहकारीमा जम्मा भएको पैसा भारतमा जम्मा गर्न लगेको पाइएको पनि जनाए । गरिव, मजदुरहरुले रगत पसिना गरेर जम्मा गरेको थोरैथोरै पैसालाई संकलन गरी भारतमा जम्मा गर्न लगेको देखिएको जनाउँंदै उनले आपति जनाए । ओरेण्टल सहकारी संस्थाले वचतकर्ताहरुबाट जम्मा भएको बचत रकम भारतमा जम्मा गर्न लगेको भेटिएको उनले बताए । 
केही सहकारी सञ्चालकहरुले सहकारी संस्था भनेको व्यवसाय हो भनेर खुल्लम खुल्ला भन्दै आएको भन्दै उनले सहकारी व्यवसाय नभई सेवा भएको बताए । सहकारी कोअपरेटिभ, बैंक जस्तो नभई सर्वसाधारण गरिव जनताको सहयोगी समूह हुनुपर्छ, उनले भने, सहकारीले ससाना रुपमा सञ्चालन गर्न खोज्ने र सञ्चालनमा रहेका घरेलु उद्योगहरुलाई सहयोग गर्नुपर्छ । तर नेपालमा सहकारी संस्थाहरुले सेवा समूह भन्दा पनि सिमित मानिसका लागि पैसा बटुल्ने केन्द्र बन्दै आएको आरोप उनले लगाए । उनले सहकारीहरु बैंक जस्तो पँुजीपति वर्गको सेवाका लागि हुन नहनेमा जोड दिए ।
साधारणसभामा सहकारीका सल्लाहकारहरु विश्वराम कवां, नाति कवां, भक्तपुर जिल्ला बचतबाट आएका प्रतिनिधि काजीबहादुर पञ्चलगायतले सहकारीले ठगी गर्ने भाडो बनाउन नहुनेमा जोड दिए । संस्थाका अध्यक्ष राजभाइ माकको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।