६ पुष २०८१, शनिवार

पूर्वीनाकाबाटै रु. पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

२८ कार्तिक २०८१, बुधवार
Image

झापा, २७ कात्तिक  नेपालमा विदेशी मुद्रा आर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले ठूलो योगदान पुर्याएको छ ।

पहाडको खेती नहुने भू–भागमा हुर्किने उत्तिस, कदम, मौवा लगायतको कमसल काठ (कु–काठ)बाट भेनियर पत्ती र प्लाइबोर्ड उत्पादन हुँदै आएको छ । जसलाई भारत निर्यात गरेर मुलुकले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको छ ।

२०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्मको २७ महिना अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु. पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताउनुभयो ।

गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधै भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाईबोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाईउड उद्योगहरु समेत स्थापना भएका छन् ।

बिगत २७ महिनामा काँकडभिट्टा नाकाबाट रु. ७३ करोड ६४ लाख ३१ हजार मूल्य बराबरको भेनियर पत्ती र रु. पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार मूल्य बराबरको प्लाईबोर्ड भारत निकासी भएको प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्ष २०८१÷०८२ को प्रथम त्रैमासिक अवधिमा काँकडभिट्टा नाकाबाट रु. १४ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको भेनियर पत्ती र रु. नौ करोड ९३ लाख ३२ हजार मूल्य बराबरको प्लाईबोर्ड भारत निकासी भएको भन्सारको तथ्यांक विवरणले देखाएको छ ।

भन्सार महसुल घटाउन माग

नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दिपक पाण्डेले पहाडमा खेर गइरहेको कुकाठ विक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्रा आर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।

उहाँले हाल नेपालमा १२० भन्दा बढी संख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको जानकारी दिनुभयो । झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन् ।

भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउन नेपालभर ८० वटा प्लाईउड उद्योगहरु स्थापना भएका छन् । प्लाईउड उद्योगहरुले आफुलाई आवश्यक पर्ने कच्चा पदार्थको ८० प्रतिशत आपूर्ति गर्नका लागि उद्योगभित्रै सयभन्दा बढी भेनियर मेसिन समेत जडान गरेका छन् ।

काँकडभिट्टा, बिराटनगर र भैरहवा नाकाबाट यी सामानको भारत निर्यात हुँदै आएको छ । बिगतमा भारतबाट आयात गरेर माग धान्नु पर्ने अवस्था रहेको थियो भने हाल भेनियर र प्लाईबोर्डमा नेपाल आत्मनिर्भर मात्र भएको छैन, निकासी गर्ने मुलुक समेत बनेको छ । 

नेपाल भेनियर उत्पादक संघका सचिव सञ्जीव बर्मा विदेशी मुद्रा भित्राउने र राजस्व अभिवृद्धिमा योगदान पुर्याउने भेनियर उद्योगप्रति राज्यको नीति सकारात्मक हुनुपर्ने र प्रोत्साहनको वातावरण बनाउनु पर्ने बताउनुहुन्छ ।

हाल भेनियर पत्ती भारत निकासी गर्दा प्रति केजी रु. ६ का दरले भन्सार महसुल बुझाउनु परेको उहाँले बताउनुभयो । जबकि, सरकारले प्लाईबोर्डको भारत निकासीमा शून्य भन्सार महसुल कायम गरेको छ । नेपाल भेनियर उत्पादक संघले भेनियर उद्योगप्रतिको विभेदकारी नीति हटाउन र भन्सार महसुल घटाउन पटकपटक माग गरिरहे तापनि सुनुवाई नभएको बर्माले गुनासो गर्नुभयो ।