७ मंसिर २०८१, शुक्रवार

समसामयिक

गृह मन्त्रालयको निर्देशनकै आधारमा मेचीनगरले पूर्वाधार र सरसफाई कर रोक्नु नपर्ने, के हो वास्तविकता ?

३० कार्तिक २०८१, शुक्रवार
Image

फाइल फोटो ।

मेचीनगर, २९ कात्तिक । मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्षमा लागू गरेको पूर्वाधार र सरसफाई कर नरोक्ने भएको छ । 

मेचीनगरले स्थानीय सडक र बसपार्कमा गत साउनदेखि उल्लेखित दुईखाले नयाँ कर लागू गरे लगत्तै दलीय तथा व्यक्तिगत रुपमा समेत विरोध भएको थियो । तर, नगरको आन्तरिक स्रोतको दायरा बढाउने कार्य जायज भएको ठहर गर्दै नगर नेतृत्व कर लगाउने अडानबाट पछाडि हटेन ।

यहीबीच, गृहमन्त्रालयले देशभरका स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयमार्फत यही कात्तिक १२ गते निर्देशन पठाउँदै ‘राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरुमा पटके सवारी कर नउठाउन’ भन्यो ।

गृहमन्त्रालयको पछिल्लो निर्देशनपछि मेचीनगर नगरपालिकाले पूर्वाधार र सरसफाई कर रोक्नुपर्ने केहीको अनुमान र धारणा थियो । तर नगर नेतृत्व कर लगाउने पूर्वअडानबाट टसमस भएन । यस विषयमा बुझ्दा नगर नेतृत्वले कर लगाउने निर्णय जायज भएको जिकीर गरेको छ । 

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरले लागू गरेको पूर्वाधार र सरसफाई सम्बन्धी कर नरोकिने बताउनु भयो ।

“नगरपालिकाले स्थानीय सरकारको हैसियतले प्राप्त कानूनी व्यवस्था बमोजिम नै यी दुईवटा नयाँ कर लागू गरेको हो,” कर लगाउने अडान व्यक्त गर्दै अधिकारी भन्नुहुन्छ–“नगरको आन्तरिक आयश्रोत बढाउनु भनेको नगरबासीलाई समृद्ध बनाउने आधार बलियो बनाउँदै लैजानु हो । पूर्वाधार र सरसफाई कर लगाउने निर्णयबाट नगरपालिका कदापि पछाडि हट्न सक्दैन ।”

उहाँले गृहमन्त्रालयबाट राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरुमा कर नलगाउन निर्देशन आएको स्वीकार गर्दै मेचीनगर नगरपालिकाले स्थानीय मार्ग र बसपार्कमा मात्र कर लगाएको जानकारी दिनुभयो ।

“गृहमन्त्रालयको परिपत्र सबैले पढ्नु भएकै होला,” उहाँले भन्नुभयो–“मन्त्रिपरिषद्ले २०७५ सालको निर्णयलाई आधार मान्दै राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरुमा पटके सवारी कर नउठाउनु भनिएको छ । हामीले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरुमा कर उठाएकै छैनौं ।”

नेपाल सरकार (संघीय सरकार)को निर्णय स्थानीय तहलाई मान्य हुने भए तापनि राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरुमा कर नउठाइएको हुँदा यसपाली गृहमन्त्रालयले पठाएको निर्देशनले मेचीनगरको पूर्वाधार र सरसफाई कर नीतिमा कुनै प्रभाव नपार्ने उहाँको दावी छ ।

मेचीनगरमा राष्ट्रिय राजमार्गको रुपमा पूर्वपश्चिम राजमार्ग र मदन भण्डारी राजमार्ग रहेको छ भने सहायक राजमार्गको रुपमा मेची राजमार्ग रहेको छ । कर लागू भएका सडकहरु धुलाबारी, इटाभट्टा र काँकरभिट्टाका हुन् ।  

मेचीनगरले साउन १ गतेदेखि लागू हुनेगरी स्थानीय सडक (राजमार्ग र सहायक राजमार्ग बाहेक)मा भौतिक पूर्वाधार उपयोग सेवा शुल्क र वातावरण व्यवस्था तथा सरसफाई शुल्क नामको कर लगाएको हो ।

यी कर लागू भएका कारण मेचीनगरले वार्षिक रुपमा रु. एक करोड २३ लाख आयस्रोत वृद्धि गरेको छ । दुईखाले करमध्ये भौतिक पूर्वाधारतर्फ रु. ५५ लाख र सरसफाईतर्फ रु. ६८ लाखमा कर असुलीको ठेक्का लागेको नगरपालिकाले जनाएको छ ।