झापा, ३० कात्तिक । मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारीको निन्दा खोला नजिकै झाडीमा नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको छ ।
कमिलाले टोकिरहेको अवस्थामा स्थानीय एक महिलाले विहिवार विहान सालनालसहितको उक्त शिशु फेला पारेर इलाका प्रहरी कार्यालय धुलावारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
उक्त शिशु छोरी रहेको र हाल वडा कार्यालयको समन्वयमा शिशुलाई उपचारका साथ राखिएको प्रहरीले जनाएको छ । शिशुको अवस्था सामान्य रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको चन्दले बताउनुभयो ।
यसैबीच, पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलबाट प्रतिबन्धित लागू औषधसहित चार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नं. ७ का २२ वर्षीय हिराप्रसाद जोशी लगायत छन् । जोशीलाई भारतबाट दुई ग्राम खैरो हेरोइन बोकेर सिटी सफारी चढेर आउँदै गर्दा मेची पुलमा लागू औषध नियन्त्रण व्यूरोको टोलीले पक्राउ गरेको थियो ।
जोशीले प्लास्टिकमा पोको पारेर मलद्वारमा लागू औषध लुकाएर ल्याउँदै गरेका थिए । मेचीनगर–१० का ३३ वर्षीय नेसरु मियाँ, दमक–३ का २५ वर्षीय मनिषकुमार धिमाल र दमक–३ कै २४ वर्षीय मनिष अधिकारी पनि आजै लागू औषध खैरो हेरोइनसहित मेची पुलमा पक्राउ परेका हुन् ।