११ पुष २०८१, बिहिवार

खानेपानीले धुलाबारीको सात ठाउँमा खन्यो खाल्डो

१० मंसिर २०८१, सोमवार
Image

मेचीनगर, १० मंसिर । धुलाबारी खानेपानी उपभोक्ता समितिले पाइप मर्मत गर्ने क्रममा सडकको बीचमा जथाभावी खाल्डो खनेर सडकलाई कुरुप बनाउन थालेको छ ।

मेचीनगर–१० स्थित धुलाबारी मोडबाट दक्षिणतर्फ एक किलोमिटर सडकमा खानेपानीले बिगत दुई महिनामा सात वटा खाल्डो बनाएको छ । उक्त सडक भद्रपुरको हस्पिटल, क्याम्पस, सीडीओ कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, एयरपोर्ट लगायतका अड्डा जाने कालोपत्रे मार्ग हो ।

खानेपानीले कालोपत्रे भत्काएर खनेको खाल्डोका कारण वरपर समेत सडक भत्किने क्रम बढेको छ । यसबाट सडकको गुणस्तर बिग्रिन थालेको छ ।

खानेपानीका प्राविधिकले सडकको बीचमा खाल्डो खनेर सामान्य बालुवा र गिटीले खाल्डो टालटुल पारेर छाडेका छन् । केही खाल्डोमा पानी जमेर सडकका यात्रीलाई असुविधा भएको छ भने मोटरसाइकल, साइकल र सिटी रिक्साहरु दुर्घटनामा पर्ने सम्भावना बढेको छ ।

समितिका अध्यक्ष धनकाजी खत्रीले पाइप मर्मतका क्रममा सडका खाल्डाखुल्डी भएको स्वीकार गर्दै सडकको चाँडो मर्मत गरिने बताउनुभयो ।

“पहिले सडक जस्तो थियो त्यस्तै बनाउँछौं,” उहाँले भन्नुभयो–“त्यसका लागि केही समय लाग्छ ।”